प्रशासनले रोकेको भीड जनप्रतिनिधिले उद्धार गरी घर पठाए

काठमाडौं–९ बैशाख
लकडाउनका कारण काठमाडौंमा रोकिएका सिन्धुलीका सात सयभन्दा बढी मानिसहरू मंगलबार गाउँ गएका छन् । काठमाडौंका विभिन्न ठाउँबाट हिँड्दै भक्तपुरको जगाती र काभ्रेको बनेपा पुगेकाहरूलाई गाडी चढाइएको हो ।

स्थानीय जनप्रतिनिधिले बनेपामा सिन्धुलीको स्थानीय तहसम्म पुग्ने गाडीको बन्दोबस्त गरेका थिए । एउटै गाउँ जाने मानिसहरू छुट्याएर गाडीको बन्दोबस्त गरी पठाएको सुनकोसी गाउँपालिकाकी अध्यक्ष दीपा बोहराले जानकारी दिइन् ।

स्थानीय जनप्रतिनिधिको सहयोगमा गाउँ फर्किने व्यवस्था भएपछि उनीहरू खुसी पनि थिए । तर, भक्तपुरको जगातीबाट बिहान साढे ९ बजे छुटेका कतिपय गाडीलाई बनेपामा स्थानीय प्रशासनले रोक्यो । दिउँसोको समयमा गाडी लैजान नपाइने भन्दै स्थानीय प्रशासनले रोकेपछि बनेपाका सडक र बसपार्क क्षेत्रमा भिड नै लाग्यो ।

गाडी रोकिएको समय पारेर सबैलाई एक पार्टी प्यालेसमा खाजा र खाना खुवाइएको थियो । ‘सबैलाई खाना खुवाउने भनेका थियौँ तर पुगेन, धेरै जनाले चाउचाउ र चिउरा खानुभयो’ अध्यक्ष बोहराले भनिन् ।

स्थानीय जनप्रतिनिधिले भने प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसँग छलफल गरे । स्थानीय प्रशासनले रातिको समयमा पठाउने भने पनि आफूहरूले सडक अप्ठ्यारो भएकाले दिउँसो नै पठाउन जोड गरेको अध्यक्ष बोहराले बताइन् । ‘उहाँहरूले बेलुका लैजान ठिक हुन्छ भन्नुभएको थियो। तर, सिन्धुली जाने सडक अप्ठ्यारो भएकाले हामीले दिउँसो नै लैजाने जोड गर्‍यौँ’ उनले भनिन् ।

त्यसपछि आधा घण्टाको फरकमा गाडी छुटाउने गरी सहमति गरेको अध्यक्ष बोहराले जानकारी दिइन् । काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले पनि दिउँसोभन्दा रातिको समयमा सहज हुन्छ भनेर रोकेको तर धेरै मानिस व्यवस्थापन गर्न कठिन हुने भएपछि सिन्धुलीतर्फ जानेहरूलाई पठाएको बताए ।


Facebook Comment