काठमाडौंबाट दैलेख पीपीईसहित स्वास्थ्य सामग्री पठाइयो

कोरोना भाइरसको बढ्दो संक्रमण र त्यसबाट जोगिन सामान्य स्वास्थ्य सुरक्षा सामग्रीसमेत नभएको कर्णालीको दैलेख जिल्लाका स्वास्थ्य संस्थाका लागि काठमाडौंबाट पीपीईलगायतका सामग्री सहयोग गरिएको छ ।
स्रोत साधन अभाव र रोजगारीका लागि भारत गएर फर्केकाहरूका कारण जोखिम बढेको भन्दै काठमाडौंबाट व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री पठाइएको हो । दैलेखी सेवा समाज काठमाडौं र मनघरी फाउन्डेसनको पहलमा दैलेख जिल्लाका स्वास्थ्य संस्थाका लागि मंगलबार दोस्रो चरणको स्वास्थ्य सामग्री पठाइएको हो ।
पहिलो र दोस्रो चरणमा गरी १११ थान व्यक्तिगत स्वास्थ्य सुरक्षा कवच पठाइएको मनघरी फाउन्डेसनका अध्यक्ष भरतबन्धु थापाले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा ८९ थान पीपीई सेट, २ हजार थान मास्क, १ हजार थान ग्लोब्स र १० बोतल स्यानिटाइजर पठाइएको थियो ।
यस्तै, दोस्रो चरणमा ललितपुरस्थित प्रारम्भ नेपाल नामक सामाजिक संस्था र आनी छोइङ डोल्मा फाउन्डेसनको सहयोगमा दैलेखका ११ स्थानीय तहका स्वास्थ्य संस्थाका लागि दुई÷दुई थान पीपीई सेट, स्यानिटाइजर, ग्लोब्स र मास्क पठाइएकोे छ ।

उक्त सामग्री दैलेख जिल्लाबाट प्रतिनिधिसभा सांसद रविन्द्रराज शर्मालाई दैलेख पठाउनका लागि हस्तान्तरण गरिएको छ । सांसद शर्माले उक्त सामग्री तत्कालै दैलेख पठाइने जानकारी दिए ।
सामाग्री प्रदान गर्दै गायीका आनी छोइङ डोल्माले भनिन्, ‘यस्तो अवस्थामा हात–हात मिलाउन हामी अगाडि बढेका छौं । हाम्रो सहयोग संख्यामा सानो होला तर संख्यामाभन्दा आत्मबल बढाउन र हामी तपाइँसँगै छौं भन्ने सन्देश दिने हो ।’

मित्र राष्ट्र भारतमा रोजगारीका लागि हजारौंको संख्यामा दैलेखबाट जाने गर्दछन् । कोरानाको प्रभाव भएलगत्तै सयौंको संख्यामा आफ्नो गाँउ फर्की सकेका छन् । तर, स्वास्थ्य केन्द्रमा उचित सामग्री नहुँदा समस्या भएको मनघरी फाउन्डेसनका अध्यक्ष भरतबन्धु थापाले बताए ।

यही कुरालाई मध्यनजर गर्दै प्रारम्भ संस्थाले उपल्ब्ध गराएको सामग्रीले केही राहत मिल्ने दैलेखी सेवा समाजका अध्यक्ष प्रताप शाहीले बताए । उनले भने, ‘दैलेख जिल्लाका धेरै जसो स्वास्थ्य चौकीहरूमा पीपीई सेट नहुँदा समस्या रहेको थियो केही पहिलो चरणमा पठाएको थियौं तर जति आवश्यक हो त्यति नहुँदा चेकजाँज गर्न समस्या देखियो ।’
पुनः प्रारम्भसँग सहयोग लिएर दैलेख पठाउन लागेको अध्यक्ष थापाले बताए । दैलेखी सेवा समाजका विनोद अधिकारीले पहिलो चरणमा अहिले दैलेख जिल्लामा चारवटा नगरपालिका र ७ वटा गाँउपालिका लाई सात÷सात थान पठाएको र दोस्रो चरणमा दुई÷दुई थान पठाएको जानकारी दिए । प्राकृतिक प्रकोप र महामारीका बेलामा सक्रिय प्रारम्भ सिंगापुर रेडक्रससँग आबद्ध संस्था हो ।
