अफगानिस्तानमा २६ तालिवान लडाकू मारिए

काठमाडौं–अफगानिस्तानमा भएको भिडन्तमा परी कम्तीमा २६ तालिबान लडाकू मारिएका छन् । अफगानिस्तानको उत्तरपूर्वी प्रान्त कुन्दुजमा लडाकूहरु र सरकारी सुरक्षाकर्मीहरुबीचमा भएको भिडन्तका क्रममा उनीहरु मारिएका हुन् ।

घटनामा परी अरु केही घाइते पनि भएको स्थानीय प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । कुन्दुज प्रान्तका प्रान्तीय प्रहरी प्रमुखका प्रवक्ता हेजातुल्लाह अकबरीले २६ जनाको मृत्यु भएको र दश जना घाइते भएको पुष्टि गरेका हुन् ।

तालिवान लडाकूहरूले स्थानीय प्रहरी चौकीमा आक्रमण गरेपछि दोहोरो भिडन्त भएको उनको भनाई छ ।

“कुन्दुज प्रान्त अन्तर्गत पर्ने क्वाला आई–जाल र डास्ट आई–अर्ची जिल्लामा रहेको प्रहरी चौकीमा आतङ्ककारीले आक्रमण गरेपछि भिडन्त भएको हो,” प्रवक्ता अकबरीले भने । अफगानिस्तानमा केही समय अगाडि सरकारी पक्ष र द्वन्द्वरत पक्षबीच शान्ति सम्झौता भएपनि हिंसात्मक घटना भने रोकिएका छैनन् ।

त्यसैगरी विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमण समेत भएको यस प्रतिकुल समयमा पनि अफगानिस्तानमा हिंसात्मक घटना भइरहेका छन् । एजेन्सी


Facebook Comment


No ads found for this position