बिरालो ठानेर घर ल्याउँदा चरी बाघ परेपछि…

स्याङ्जा–वालिङ नगरपालिका १ रामबाच्छाका बालबालिकाले बिरालो ठानेर घरमा ल्याएको जनावर अन्ततः चरी बाघ भएको पुष्टि भएको छ ।

स्थानीय बालबालिकाले खेल्ने क्रममा देखेपछि बिरालोको बच्चा भन्दै खेलाउँदै घर ल्याए । परिवारले पनि बिरालो भन्दै घरमा पाल्ने निर्णय गरे ।

तर, परिवारलाई बिरालाको जस्तो स्वभाव लागेन । बिरालोले गर्ने म्याउ शब्द ननिकाली बाघले झै घुर्न थालेपछि परिवारले प्रदेशसभा सदस्य मोहन रेग्मीलाई खबर गरे ।

सांसद रेग्मीले डिभिजन वन कार्यालय स्याङ्जाका प्रमुख कोमलराज काफ्लेलाई खबर गर्नुका साथै लिएर कार्यालयमै पुगेका थिए ।

प्रमुख काफ्लेले भने ‘झट्ट हेर्दा बिरालो जस्तो पनि छ । फेरि होइन, पनि जस्तो लाग्यो । धेरै पटक उसका विभिन्न अंगहरू हेर्दै अनुसन्धान गरेपछि चरीबाघको बच्चा नै भएको प्रमाणित भो ।’

अहिले चरि बाघको बच्चा डिभिजन कार्यालय स्याङ्जामा राखिएको छ । करिब ४÷५ महिनाको जस्तो देखिने बच्चा आमासँग छुटेर जंगल बाहिर आएको हुनसक्ने अनुमान गरिएको छ ।

सानो बच्चालाई तत्कालै एक्लै जंगलमा छाड्दा अन्य वन्यजन्तुले आक्रमण गर्नसक्ने भन्दै केही समय कार्यालयमा राखिने भएको छ । चरी बाघको बच्चाले दूध, भात र कुखुराको मासु खाने गरेको छ ।


Facebook Comment


No ads found for this position