राष्ट्रिय आविष्कार केन्द्रले ५७ जिल्लामा ५ हजार २ सय पीपीई दियो (भिडियो सहित )

काठमाडौं – कोरोना भाइरसको संक्रमण विश्वव्यापी भएसँगै सबैतिर सावधानी अपनाइएको छ । केही भारत लगायत तेस्रो मुलुकबाट भित्रिएकाहरूबाट नेपालमा कोरोनाको संक्रमण भित्रिएको हो । स्रोत साधन अभावका कारण उपचारमा समस्या भइरहेको छ ।

यही समस्यालाई निकारण गर्न राष्ट्रिय आविस्कार केन्द्रले व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री बनाइरहेको छ । देशका विभिन्न जिल्लामा केन्द्रले पीपीईलगायत अन्य स्वास्थ्य सुरक्षा सामग्री पठाइरहेको आविष्कार केन्द्रका सूचना अधिकारी इन्जिनियर सुनिल बानियाँले बताए ।

उनका अनुसार हालसम्म केन्द्रमार्फत निर्माण गरिएका करिब ५ हजार २ सय पीपीई सेट देशका ५७ जिल्लाका स्वास्थ्य संस्थालाई उपलब्ध गराइएको छ । अहिले पनि केन्द्रले पीपीई निर्माण गरिरहेको छ ।

‘हामीसँग आर्थिक अभाव पनि छ, स्रोत साधन कम हुँदा माग अनुसारको सामग्री उत्पादन गर्न सकेका छैनौं,’ उनले भने, ‘तर, मागभन्दा पनि आवश्यकता बुझेर अस्पतालहरूलाई पीपीईलगायत अन्य स्वास्थ्य सामग्री उपलब्ध गराउने गरेका छौं ।’

उनले यो एक महिनाको अवधिमा उपत्यकाका सरकारी अस्पतालका १३ वटा भेन्टिलेटर मर्मत गरिएको बताए । ‘अधिकांश अस्पतालका भेन्टिलेटर बिग्रिएका छन्, पहिल्यै कसैले सोँचेनन् । आपत् परेपछि सबै आत्तिएका छन्, हाम्रो क्षमताले भ्याएसम्म मर्मत गर्ने काम गरिरहेका छौं ।’

इन्जिनियर बानियाँले सरकारी अस्पताल र त्यहाँ कार्यरत इन्जिनियर कर्मचारीबीच समन्वय नहुने गरेको पनि बताए । अस्पतालमा भेन्टिलेटरलगायत अन्य सामग्री निर्माणका लागि इन्जिनियर नियुक्त गरे पनि उपकरण बिग्रेको खण्डमा आविस्कार केन्द्रकै सहयोग लिन आउने गरेको बताए ।

‘हरेक अस्पतालमा इन्जिनियर राखिएका छन् तर उनीहरू पनि केही उपकरण मर्मत गर्नुपर्दा हामीकहाँ नै आउँछन्,’ उनले थपे, ‘अस्पताल र इनिजनियरबीच समन्वय भएको देखिँदैन । नत्र जुन कामका लागि राखिएको हो, तीनै कर्मचारीलाई काम लाउन नसक्नु अस्पतालको कमजोरी हो ।’

कोरोनाबाट बच्ने नाउँमा सबैले पीपीई लाउनैपर्ने बुझाइका कारण पनि अस्पतालमा अभाव देखिएको सूचना अधिकारी बानियाँ बताउँछन् ।

‘यदि हामीले आवश्यकताका आधारमा मात्र प्रयोग गर्‍यौं भने पनि भएको सामग्रीले पुग्छ, तर हरेक स्वास्थ्यकर्मीले पीपीई लगाउन खोज्छन्, त्यसैले माग अनुसार सबैलाई पु¥याउन सकिएको छैन ।’ कोरोना संक्रमणपछि पीपीईसहित भेन्टिलेटर मर्मत, टेस्टिङ बुथ निर्माण गरिएको केन्द्रले जनाएको छ ।


Facebook Comment


No ads found for this position