यस्ता छन् लकडाउनपछि नेपाल पर्यटन बोर्डका योजना


काठमाडौं–चार महिनाअघि चीनको वुहान सहरबाट सुरु भएको कोभिड–१९(कोरोना भाइरस) का कारण पूरै विश्व आक्रान्त बनेको छ । विभिन्न उद्योग, कलकारखाना मात्र नभइ मानवजगत पनि ठप्प छ । सबैले लकडाउनको पालना गर्दै घरभित्रै बसिरहेका छन् ।
यसको सबैभन्दा धेरै असर अर्थतन्त्रमा परेको छ । विश्व स्वास्थ्य संगठनले पनि कोरोनाको महामारीपछि विश्वभर भोकमरी सिर्जना हुने चेतावनी दिइसकेको छ । संक्रमण दर हेर्दा अझै केही महिना यसको आतंकबाट मुक्त हुन कठिन नै छ ।
अर्थतन्त्रको मुख्य आधार मानिएको पर्यटन क्षेत्र पनि कोरोना थिलोधिलो भएको छ । विश्वभरका करिब ९५ प्रतिशत पर्यटकीय गन्तव्यमा प्रतिबन्ध लगाइएको छ । नेपालको त पूरै क्षेत्र अहिले ठप्प छ ।
नगद आम्दानीको बलियो स्रोत पर्यटन क्षेत्र ठप्प भएसँगै पर्यटकबाट आउने राजस्वमात्र होइन, त्यससँग जोडिएका रोजगारी पनि बन्द भएका छन् । अहिले ठूलो पाँचतारे होटलदेखि चिया पसलसम्म बन्द छन् । यसको प्रत्यक्ष असर दैनिक ज्याला मजदुरी गरी खाने वर्गसम्म परेको छ ।
केही गरी यो महामारी केही महिनामै अन्त्य भइहाले पनि यसबाट माथि उस्कन धेरै समय लाग्ने देखिन्छ । प्रभावकारी र आकर्षक मानिएको नेपालको पर्यटन क्षेत्रको आगामी यात्रा कस्तो हुन्छ त ? कसरी थिलोथिलो भएको पर्यटन क्षेत्रलाई माथि उकास्न कस्तो प्रयास हुनेछ त ? नेपालको पर्यटन क्षेत्रको विकास र विशेष योजना बनाउने जिम्मेवारी लिएको नेपाल पर्यटन बोर्डले कस्ता योजना बनाएको छ त , हामीले यस विषयमा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनन्जय रेग्मीसँग कुराकानी गरेका छौं । यस्तो छ अधिकृत रेग्मीको भनाई

भारतीय र चिनियाँ पर्यटकलाई फोकस
नेपालको पर्यटन क्षेत्रमा यो सिजन मुख्य हो । तर, यसपाली लकडाउनका कारण पर्यटकीय गन्तव्यमा चहलपहल शून्य छ । यस पटकको घाटा पूर्तिका लागि पर्यटक आकर्षण गर्न बोर्डले नयाँ योजना बनाएको छ । लकडाउनपछि नेपालको पर्यटन क्षेत्रलाई माथि उकास्न पर्यटन बोर्डले विशेष योजना बनाएको छ । बोर्डले दुई ठूला अर्थतन्त्र भएका छिमेकी मुलुक चीन र भारतलाई विशेष फोकस गरेको छ ।
नेपालमा सबैभन्दा धेरै आउने पर्यटक भारतीय नै हुन् । तर हालसम्म नेपालमा भारतीय पर्यटकको गणना हुने गरको छैन । आगामी अक्टोबरदेखि बोर्डले भारतीय पर्यटकलाई पनि गणना गरेर उनीहरुका लागि विशेष प्याकेज ल्याउने योजना बनाएको छ । हाम्रो पहिलो योजना त अहिलेको शून्यतालाई परिपूर्ति गराउनु नै हो । भारतपछि हामीकहाँ आउने धेरै संख्यामा चिनियाँ पर्यटक नै हुन् । उनीहरुको बसाई अधिक भन्दा अधिक लम्बयाउने र त्यसलाई स्थानीयको आम्दानीसँग पनि जोड्नेगरी योजना ल्याउँदैछौं ।


अहिले सरदर नेपालको कुल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको २ दशमल ५० प्रतिशत रहेको छ । यो आय भारतीय पर्यटकको खर्चलाई जोडिएको छैन । तर, आगामी वर्षदेखि भारतीय पर्यटकबाट हुने आम्दानीलाई पनि जोडिनेछ ।
भारतीय पर्यटकको मुख्य गन्तव्य हुम्ला हुँदै मानसरोवर र पोखरा नै हो । अब यहाँ जानका लागि सहज मार्ग निर्माणका लागि हामीले सरकारसँग पहल गरिराखेका छौं । अहिले त काठमाडौंमै पनि पर्यटक उतार्न सकिने स्थिति छैन । लकडाउनपछि छिमेकी मुलुकबाट आउने र तेस्रो मुलुकबाट आउने पर्यटकलाई पनि नेपालमा धेरैभन्दा धेरै बसाउने र उनीहरुले यहाँको वातावरणसँग रमाउने परिस्थिति निर्माण गर्नु नै हाम्रो मुख्य उद्देश्य हो ।
पर्यटन बोर्डलाई अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन क्षेत्रको प्रचार, प्रसार र पर्यटक भित्र्याउन भूमिका खेल्नका लागि गठन गरिएको हो । अब हामीले बाह्य पर्यटक मात्र होइन आन्तरिक पर्यटनको विकास र त्यसलाई जनताको आम्दानीसँग प्रत्यक्ष जोड्ने योजना बनाउन लागेका छौं । त्यसका लागि सकारसँग समन्वय भइरहेको छ ।


होटल र रेष्टरेन्टका कर्मचारीको रोजगारीको ग्यारेण्टी
यो महामारीले पर्यटन क्षेत्रको ठूलो हिस्सा ओगटेको होटल व्यवसायमा धेरै असर परेको छछ अझ त्यहाँ कार्यरत कर्मचारीहरु ठूलो असर परेको छ । त्यहाँ काम गर्ने अधिकांशले रोजगारी गुमाएका छन् । लकडाउनपछि उनीहरुको रोजगारीको ग्यारेण्टी हुन्छ । यसका लागि होटल व्यवसायीसँग समन्वय भइसकेको छ । उनीहरुको अहिले पनि ६ महिनाजति सर्भिस चार्जले धान्न पुग्छ । तर लकडाउनपछि अहिले घर फर्काएका अधिकांशको रोजगारी सुनिश्चित हुनेछ ।


साढे चार हजार पर्यटक फर्किए
यो सिजन नेपाली पर्यटन क्षेत्रमा पर्यटक आउने मुख्य हो । तर, सुरुवातीमै लकडाउन भएका कारण सबै पर्यटकीय क्षेत्रमा चहलपहल शन्य छ । भ्रमण वर्ष सुरु भएयता करिब १२ हजार बाह्य पर्यटक नेपाल भित्रिएका थिए । मार्च २१ सम्मको तथ्यांक हो यो । त्यीमध्ये साढे चार हजारलाई स्वदेश फिर्ता पठाइसकिएको छ । बाँकी एक हजारजति सम्पर्कमा आएका छन् ।
उनीहरुलाई पनि लकडाउनपछि फिर्ता पठाउनेछौं । दुई हजारजति विभिन्न आयोजना निर्माणका लागि आएका कामदार हुन् । अरु भने कुटनीतिक नियोगका प्रतिनिधिहरु हुन् ।


भ्रमण वर्षमा २५ करोड खर्च
नेपाल सरकारले २० लाख पर्यटक भित्र्याउने उद्देश्यका साथ सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको थियो । तर सुरुवाती गाँसमै ढुंगा लाग्यो । यो महामारी आउला भन्ने कसलाई के थाह । अब महामारीकै रुप लिइसकेपछि कसैको बसमा रहेन ।
केही समयको अन्तरालमा भ्रमण वर्षको प्रचार प्रसार र केही संचरना निर्माणमा करिब २५ करोड खर्च भएको छ । यस अवधिमा एक खर्बको लगानी भएको थियो । अबको तीन वर्षजति त त्यो लगानी रिकभरीमै जान्छ ।
हामीले तत्काल आजको भोली नै परिणाम दिनसक्ने योजना बनाएका छैनौं । तर, नेपालको पर्यटन क्षेत्रमा दिर्घकालीन समृद्धि ल्याउने योजना अवश्य बनाएका छौं । आगामी वर्षदेखि ती योजनाहरु प्रभावकारी रुपमा कार्यान्वयनमा आउनेछन् ।


ग्रामीण पर्यटनको विकास
अहिलेसम्म पर्यटन क्षेत्रको जतिसुकै विकासका योजना बने पनि त्यसमा एउटा पाटो भने छुटाइएको छ । त्यो हो ग्रामीण पर्यटन । नारामा त ग्रामीण पर्यटनको विकासका बारेमा धेरै चर्चा हुनछ । तर, योजना बन्न सकेको पाइँदैन ।
अब हामीले ग्रामीण पर्यटनलाई पनि त्यहाँका जनताको आम्दानी र रोजगारीसँग जोडेर योजना बनाउँदैछौं । ग्रामीण पर्यटन विकासका नाममा बर्सेनि लाखौं÷करोडौं खर्च हुन्छ । तर, त्यसबाट प्रतिफल भने शून्य हात लागेको स्थिति छ । हामीले त्यही प्रभावहीनतालाई प्रभावकारी बनाउन संघीय सरकारसँग मिलेर एक भिन्नै खालको मोडालिटी बनाउँदैछौं ।
जस्तै, ग्रामीण पर्यटकीय गन्तव्यको नाम लिनुपर्दा मुख्य रुपमा राराको आउँछ । हामीले त्यसका लागि पदमार्ग निर्माणको लागि योजना बनाएका छौं । बजेट पनि छ । तर, त्यहाँ समस्या के छ भने, त्यहाँका केही सिमित व्यक्तिले मात्रै त्यसको फाइदा लिइरहेका छन् । तालछेवैमा विभिन्न होटल तथा सेना राखेर रारालाई दुर्घन्धित बनाउने काम भइरहेको छ ।


राष्ट्रिय निकञ्जको सुरक्षार्थ राखिएको हो भने पनि त्यहाँबाट सेनालाई अर्को ठाउँमा सार्नुपर्छ । रारा–फोक्सुण्डोजस्ता ठाउँ फेवा तालजस्तो होइन । यी ठाउँ एक पटक कुरुप भए भने हामी दिर्घकालसम्म पुनः बनाउन सक्दैनौं । भोलीका सन्ततीका लागि पनि यसका सुन्दरका देखाउन पनि आजैेदेखि काम थाल्नुपर्छ ।
अर्को कुरा अहिले आएका स्थानीय तहले विकासका नाममा सारा पहाडहरु खनेर सिध्याइसके । हिजो हेर्दा रमणीय देखिने टाकुराहरु पनि अहिले कुरुप बनेका छन् । यसलाई कसले रोक्ने ? संघीय सरकारसँग हामीले पहिलो माग नै विकासका नाममा गरिने विनाशलाईं रोक्न भनेका छौं ।


यस्तै, पर्यटन विकासका नाममा हुने लाखौं खर्चलाई पनि योजनाबद्ध लैजानु चुनौती छ । नेपालका सबै डाँडाकाँडाबाटै हिमाल देखिन्छन् । तर ती सबै क्षेत्र पर्यटकीय क्षेत्र बन्न त सक्दैनन् नी । त्यसका लागि कहाँ आवश्यक हो । त्यही अनुसार संरचना निर्माण र लगानीको वातावरण बनाउन विशेष योजना बनाउन आवश्यक छ । स्थानीय, प्रदेश र केन्द्र सरकारसँग मिलेर हामीले होल प्याकेजसहितको गुरुयोजना बनाउने योजना बनाएका छौं ।
यदि यो काम भयो । भने हिजोको जस्तो कनिका छरेझै धेरै ठाउँमा बजेट छर्ने र त्यसको प्रतिफल शून्य हाल लाग्ने स्थितिबाट बाहिर आउन सकिन्छ ।


अन्तर्राष्ट्रिय बजारको मार्केटिङ
हाम्रो तेस्रो र सबैभन्दा महत्वपूर्ण योजना भनेकै अन्र्राष्ट्रिय बजारको मार्केटिङ हो । त्यो अहिलेसम्म प्रभावकारी हुन सकेको छैन । हामीले अहिले अन्तर्राष्ट्रिय बजार हेरिरहेका छौं । लकडाउनपछिको उत्पन्न परिस्थितिलाई हेरेर कसरी सहज रुपमा धेरैभन्दा धेरै पर्यटक नेपालमा ल्याउन सक्छौं । उनीहरुको बसाई कसरी लम्याउन सक्छौं भन्नेबारे सोँचिरहेका छौं । किनकी जति धेरै पर्यटकको बसाइ लामो हुन्छ । त्यति नै आम्दानी पनि बृद्धि हुन्छ ।
अहिले हिमाली क्षेत्रका कामदार अलिकति समस्यामा परका छन् । त्यहाँका युवाको एकमात्र आम्दानी भनेको पर्यटन क्षेत्रबाटै हो । हामीले उनीहरुका लागि पनि केही विशेष योजना ल्याउनेबारे सोँचिरहेका छौं ।
समग्रमा भन्नुपर्दा अहिलेको स्थिति हेर्दा यो महामारीको कहरबाट माथि उक्लन निकै समय लाग्नेछ । त्यहीबीचमा हामीले आजको भोली देखिने भन्दा पनि दिर्घकालीन असर पार्ने खालका योजना बनाउन सक्यौं भने, भोलीका सन्ततीका लागि सुखद हुन्छ । अब लकडाउनपछि विगतको मोडालिटी भन्दा पनि फरक तरिकाले पर्यटन क्षेत्रको विकास र समृद्धिका लागि बोर्डले काम थाल्नेछ ।


Facebook Comment


No ads found for this position