यस्तो छ कोरोना भाइरस संक्रमितको उपचारमा उपयोगी हुने रोबोट (भिडियोसहित)

काठमाडौं– राष्ट्रिय आविष्कार केन्द्रले कोरोना भाइरस संक्रमितको उपचारमा उपयोगी हुने रोबोट निर्माण गरेको छ । मानवीय प्रयोगभन्दा सुरक्षित मानिएको यो रोबोट आजै नेपाली सेनालाई हस्तान्तरण गरिने आविष्कार केन्द्रले जनाएको छ ।

रिेमाट केन्ट्रोलबाट अपरेटिङ हुने यो रोबोटले कोरोनाका बिरामीलाई खाना, औषधिजन्य सामग्री पुर्‍याउने आविष्कार केन्द्रका संस्थापक महावीर पुनले जानकारी दिए । बिरामीको उपचारमा यो रोबोट नेपालकै पहिलो भएको पुनको भनाइ छ ।

‘यसो हेर्दा यो रोबोट जस्तो देखिँदैन तर काम भने राम्रोसँग गर्छ,’ पुनले आफ्नो फेसबुकमा रोबोटको भिडियो पोष्ट गर्दै लेखेका छन्, ‘यो रोबोट आज नेपाली सेनाको कोरोना अस्पतालमा जान्छ ।’

घुमफिर डटकमसँग टेलिफोनमा कुराकानी गर्दै पुनले पहिलो रोबोटको सफल प्रयोग भएपछि मागका आधारमा अरु पनि बनाइने जानकारी दिए । हाल दुईवटा अरु रोबोट बन्ने चरणमा रहेको उनको भनाइ छ । ‘पहिलो रोबोट आज सेनालाई हस्तान्तरण गर्दैछौं ।

वीपी प्रतिस्ठान धरान र सशस्त्र प्रहरीबाट पनि माग भएको छ । अहिले दुईवटा बन्ने चरणमा छन् । जहाँ कोरोनाको बिरामीको उपचार भइरहेको छ, त्यहाँ पठाउँछौं । मानवीय प्रयोग भन्दा यो बढी सुरक्षित र बहुउपयोगी पनि छ’ उनले भने ।

११ दिनमा निर्माण भएको पहिलो रोबोटको लागत ७५ हजार रुपैयाँ रहेको आविष्कार केन्द्रले जनाएको छ । रोबोटले आवश्यक सामग्रंी बिरामीसम्म पुर्‍याउने भएकाले चिकित्सक तथा स्वास्थ्यकर्मी र बिरामीबीच प्रत्यक्ष सम्पर्कमा आउनुपर्दैन । यसमा प्रयोग भएको ट्रली नेपाली सेनाले नै दिएको हो ।

रोबोट अस्पतालमा भर्ना हुने बिरामीको शय्याको छेउमा औषधि, पानीलगायतका सामान राख्ने र्‍याक जस्तै छ । त्यसको तल पाङ्ग्रा जडान गरिएको छ । प्राविधिकहरूले छुट्टै कोठाबाट त्यसलाई यताउता सार्न सक्छन् ।

यसअघि राष्ट्रिय आविष्कार केन्द्रले कोरोना आशंका गरिएका बिरामीहरूलाई जाँच्ने ‘पीपीई बुथ’, स्यानिटाइजर छर्ने मेसिन लगायतका सामान अस्पतालहरूलाई दिएको थियो । हालसम्म देशभरका ५८ जिल्लाका स्वास्थ्य संस्थालाई केन्द्रले पीपीई उपलब्ध गराएको संस्थापक पुनले बताए ।


Facebook Comment


No ads found for this position