प्रधानमन्त्री र मबीच भएका कुराकानीका सम्बन्धमा मनमौजी टिकाटिप्पणी भएः गौतम

काठमाडौं – सत्तारुढ नेकपाका उपाध्यक्ष बामदेव गौतमले आफ्नो विषयमा विभिन्न टिका टिप्पणी भएकोमा आफ्नो ध्यानआकर्षण भएको जनाएका छन्। आइतबार प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी ओली र आफूबीच भएका कुराकानीका सम्बन्धमा मनमौजी किसिमले टिकाटिप्पणी भएको दाबी गरेका छन्।

विज्ञप्तिमा उनले भनेका छन् , पार्टीभित्र र पार्टी र सरकारका बीच, अनि अन्य पार्टी र सरकारका बीच उत्पन्न समस्या समाधान कसरी गर्ने भन्ने सम्बन्धमा छलफल भएको थियो । समय र परिस्थिति प्रतिकूल जारी अध्यादेशहरु खारेज गरिएपछि पनि अनेकौँ समस्या पार्टीभित्र उत्पन्न भएका छन् ।

यी समस्या समाधान पार्टी र पार्टी कमिटीलाई बाइपास गरेर गरेर होइन, प्रधानमन्त्रीले प्रत्यक्ष छलफल गरेर र सबै किसिमका विचारहरुको सामना गरेर मात्र गर्न सकिन्छ ।

तसर्थ, सचिवालय, स्थायी कमिटी र आवश्यक परे केन्द्रीय कमिटीको बैठक बोलाउनुस् । सबैभन्दा पहिले सचिवालय बैठक बोलाउन र सबै कमरेडहरुको सुझावलाई सम्मान गर्दै साझा प्रयत्नबाट समस्या समाधान गर्नोस् भनेर मैले प्रधानमन्त्रीलाई सुझाव दिएको हुँ ।

उहाँले धैर्यतापूर्वक मेरो सल्लाह सुन्नुभयो, थोरै बोल्नुभयो, म बिदा भएर आएँ । भएको यत्ति हो । सबैलाई यही जानकारी लिन विनम्र अनुरोध गर्दछु ।’


Facebook Comment


No ads found for this position