घर फर्किने व्यवस्था गर्न चिनियाँ पर्यटकको माग

काठमाडौं–लकडाउनको कारण नेपालमा अलपत्र परेको चिनियाँ पर्यटकले आफ्नो देश जाने व्यवस्था मिलाइदिन नेपाल सरकारसँग आग्रह गरेका छन्।

स्वदेश फिर्ता हुन पाउनुपर्ने माग गर्दै उनीहरू आइतबार भृकुटीमण्डपस्थित पर्यटन बोर्ड पुगेका छन्। करिब ३० जनाको संख्यामा रहेका चिनियाँ पर्यटकले ‘हामी घर जान चाहन्छौँ’ लेखिएका ब्यानरसमेत बोकेका थिए।

चीन जानका लागि कुनै पनि उडान नभएको उनीहरूको गुनासो छ। स्वदेश जान कुनै पनि विकल्प नहुँदा समस्या भएको भन्दै उनीहरूले आफ्नो देश फर्कने व्यवस्था मिलाइदिन नेपाल सरकारसँग माग गरेका हुन्।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन लागू गरेपछि स्वदेश फर्किन नपाएको उनीहरूको भनाइ छ। कोभिड– १९ को महमारी फैलन सक्ने अवस्थालाई ध्यानमा राखेर चीन सरकारले नेपालमा चार्टर्ड उडानलाई समेत अनुमति दिएको छैन।

चिनियाँ पर्यटकले भने यस्तो अवस्थामा चार्टर्ड उडानका लागि भए पनि पहल गरिदिन पर्यटन बोर्डमार्फत नेपाल सरकारलाई आग्रह गरेका हुन्।

चिनियाँ दूतावासले भने नेपालमा रहेका आफ्ना नागरिकलाई घर फिर्ताका लागि कुनै पनि व्यवस्था नगरी होटेलमै सेल्फ आइसोलेसनमा बस्न आग्रह गर्दै आएको छ। त्यसप्रति पनि उनीहरूले असन्तुष्टि जनाएका छन्।

नेपालका विभिन्न ठाउँमा चार सयभन्दा बढी चिनियाँ पर्यटक अलपत्र परेको अनुमान छ। अलपत्र पर्नेमा केही गर्भवती महिलासमेत छन्। नेपाल घुम्न आएका केही चिनियाँ विद्यार्थी पनि लकडाउनको कारण अलपत्र गरेका छन्। घर फर्किन नपाउँदा कलेजको पढाइ छुटेको गुनासो उनीहरूको छ।


Facebook Comment


No ads found for this position