लकडाउनपछि हिमाली पर्यटनको अवस्था कस्तो होला ?


काठमाडौं–चैत्रदेखि असारसम्म नेपाली पर्यटन क्षेत्रको मुख्य आम्दानी हुने सिजन हो । यस समयमा हजारौं पर्यटक नेपालमा घुमफिरका लागि आउँछन् । त्यसले अन्तर्राष्ट्रिय बजारसमा नेपालको प्रचारप्रसार मात्रै नभइ नेपालको आर्थिक स्थितिमा पनि महत्वपूर्ण सहयोग पुग्छ ।
तर, विगत चार महिनायता विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण अर्थतन्त्र नै तहनहस भएको छ । महाशक्ति राष्ट्रहरूलाई पनि कोरोनाबाट मुक्तिपछि अहिलेको स्थितिमा आउन दशकौं लाग्ने आंकलन गरिएको छ । नेपाल पनि विगत एक महिनादेखि लकडाउनमा छ । यस अवधिमा सम्पूर्ण व्यवसायीक क्रियाकलापहरू बन्द छन् ।
आर्थिक कारोबार ठप्प जस्तै छ । त्यसमध्ये नेपालको अर्थतन्त्रमा रेमिट्यान्सपछि नगद आम्दानीमा ठूलो भूमिका निभाएको र हजारौंलाई रोजगारी दिएको क्षेत्र हो पर्यटन । तर, यो विश्वव्यापी लकडाउनका कारण अहिले विश्वभरकोसँगै नेपाली पर्यटन क्षेत्र पनि थिलोथिलो बनेको छ ।
वैदेशिक पर्यटकहरूको आगमन शून्य छ । केही लकडाउनअघि आएका पर्यटक पनि कतिबेला आफ्नो देश फर्कन पाइन्छ भनेर पर्खेर बसेका छन्.। जस कारण अहिले नेपाली पर्यटन क्षेत्रबाट हुने आम्दानी पनि शून्यतामै सिमित । अब यो स्थितिबाट पार लाग्न छिट्टै सम्भव छैन ।
केही महिनामै कोरोना कहर अन्त्य भए पनि त्यसबाट प्रभावित नेपाली पर्यटन क्षेत्रलाई माथि उक्लिन कम्तिमा पनि दुई वर्ष लाग्ने पर्यटन क्षेत्रका जानकार र व्यवसायी बताउँछन् । यस्तो अवस्थामा सरकारसँग विशेष राणनीति अगाडि ल्याउन माग गरिहेका छन् । हामीले् आजको शृंखलामा हिमाल आरोहण क्षेत्रमा लकडाउनले पारेको असर र त्यसबाट माथि उक्लिन कस्ता उपाय अपनाउनुपर्छ त ? भन्ने विषयमा कुराकानी गरेका छौं ।
घुमफिर डटकमले विश्व किर्तिमानी आरोही टासी लाक्पा शेर्पासँग अब हिमाली पर्यटन क्षेत्रको दिशा कता जान्छ त ? यो कहरबाट माथि उक्लिन कति समय लाग्छ ? र सरकार तथा निजी क्षेत्रले यसलाई अर्थतन्त्रको बलियो आधार बनाउन कस्तो पहलकदमी चाल्नुपर्छ भन्ने विषयमा कुराकानी गरेका छौं ।


कोरोनाका कारण नेपालमा मात्रै होइन, विश्वभरको आरोहण बन्द छ । लामो समयको अन्तरालपछि आरोहण बन्द भए पनि हिमालहरू भने सफा भएका छन् । व्यवसायको कुरा गर्ने हो भने अहिले व्यवसायीदेखि मजदुरसम्म सबै लकडाउनमै छौं । यो हाम्रो कमाइ हुने मुख्य सिजन हो ।
तर पनि लकडाउन छ भनेर चुप बस्ने कुरा त भएन नि । लकडाउनपछि कसरी अगाडि बढ्न सकिन्छ भन्ने योजना बनाउँदैछौं । रेमिट्यान्सपछि नेपालमा सबैभन्दा धेरै नगद आम्दानी हुने उद्योग भनेकै पर्यटन उद्योग हो । यो पनि बन्द हुँदा हामीलाई मात्र होइन, सरकारलाई पनि अर्बौं रुपैयाँ घाटा भएको छ ।
सरकार र व्यवसायी मात्र होइन, आरोहणसँग जोडिएका हजारौं मजदुर कामविहीन बनेका छन् । उनीहरूको कमाउने पनि मुख्य सिजन नै यही हो । एक पटकको कमाइले वर्षभरी पुग्ने आम्दानी गर्छन् । तर, अहिले सबै ठप्प हुँदा उनीहरू पनि भोकै बस्नुपर्ने स्थिति सिर्जना भएको छ । केही कम्पनीमार्फत सानो सहयोग त भएको छ । तर, त्यसैले वर्षभरीलाई त पुग्दैन नि ? अब सरकारले नै केही कदम चालोस भन्ने हाम्रो माग हो । हामीले पनि सरकारसँग पर्यटन व्यवसायी र मजदुरका लागि केही गरिदिन माग गरेका छौं ।
निजी क्षेत्रले पनि यसमा साथ दिनुपर्छ । सरकारले केही व्यवस्थापन गर्नसक्यो भने, अहिलेको घाटा पूर्ति हुन केही सहज हुन्छ ।


एकै सिजनमा २५ अर्ब घाटा
कोरोना महामारीका कारण सबैभन्दा धेरै घाटा पर्यटन क्षेत्रमा परेको छ । बर्सेनि हजारौं विदेशी पर्वतारोहीहरू लाखौं खर्चेर नेपालका हिमाल चढ्न आउँछन् । डिसेम्बरदेखि नै सुरु भएको कोरोना महामारीले अहिले पूरै विश्वलाई नै चपेटामा लिएको छ । त्यो महामारीबाट पर्यटन क्षेत्र पनि अछुतो रहन सकेन ।
गत वर्षहरूको तथ्यांक हेर्दा यो सिजनमा आरोहणका लागि मात्रै नपालमा करिब १५ हजारको संख्यामा पर्यटक आउँथे । तर यसपटक भने शून्यतामा झरेको छ । यसबाट अर्थतन्त्रमा ठूलो व्यय भएको छ । सरदर हिसाब गर्दा यसपटकको लकडाउनका कारण आरोहण क्षेत्रमा मात्रै, राज्य, व्यवसायी र मजदुरको गणना गर्दा करिब २५ अर्बजति घाटा भएको छ ।

यो सानो रकम होइन । यसमा मजदुरका परिवार, व्यवसायीहरू आश्रित थिए । अब यसको पूर्तिका लागि कम्तिमा पनि दुई वर्ष लाग्छ । होटलहरू, स्थानीयलगायतको आम्दानी बन्द भएको छ । हिमाली क्षेत्रका पर्यटन व्यवसायसँग आश्रित क्षेत्रका लागि राज्यले नीतिगत रुपमै सोँच्नुपर्छ ।


हिमाल सफा गरे लकडाउनको उपयोग लिनुपर्छ
लकडाउनले आरोहण क्षेत्रमा घाटा मात्रै निम्त्याएको छैन । हाम्रो सरकारले यसलाई एउटा अवसरको रुपमा पनि लिनुपर्छ । विभिन्न अन्तर्राष्ट्रिय मिडियामा नेपालका हिमालमा फोहोर थिप्रिएको खबर आइरहेका छन् । यस अन्तर्राष्ट्रिय बजारमा धेरै नकारात्मक असर पार्छ ।
सरकारले यो लकडाउनको अवधिलाई एउटा अवसरको रुपमा लिँदै हिमाल सफाइलाई ध्यान दिनुपर्छ । सँधै स्थिति एउटै रहँदैन । सारा विश्व यो महामारीबाट छुटकारा पाउन प्रयत्नशील छ । यसको मौकामा हामीले पनि हाम्रा संरचना विस्तार र भएका सम्पत्ति जोगाउन लाग्नुपर्छ ।


अहिले आरोहण क्षेत्रका मजदुरको अवस्था दयनीय बनेको छ । सरकारले एक÷दुई अर्ब खर्चनसक्यो भने हिमाल सफाइको काम हुनसक्छ । यसमा तिनै आरोहण क्षेत्रका मजदुरलाई काममा लगाउन सक्यो भने, उनीहरूको आम्दानी पनि हुन्छ र अन्र्राष्ट्रिय स्तरमा हाम्रो छवि पनि सुधारिन्छ । विभिन्न पदमार्गमा रहेका बाटोहरू सफाइ र मर्मत सम्हार गर्नकिन्छ । ता कि आगामी दिनमा आउने पर्यटकको बसाइ सहज होस् र रोमाञ्चक बनोस् । उनीहरू नै हाम्रा लागि प्रचारप्रसार गर्ने माध्यम् बनुन्. । यसतर्फ सबैले सोँच्न र काम गर्न जरुरी छ ।
लकडाउनपछि हामी पर्यटक भित्र्याउन तयारी अवस्था रहनुपर्छ


यो संकट निमिट्यान्न हुनेबित्तिकै भटाभट पर्यटक आउँछन् भन्नु त भ्रम हो । तर पनि हामी त्यही सोँचेर बस्ने कुरा पनि त भएन नि ? त्यसैले विश्व अर्थतन्त्र सुधार हुँदासम्म हाम्रो पर्यटन क्षेत्रमा भएका कमीकमजोरी सुधार गरिनुपर्छ । उनीहरू आउनेबेलासम्म हामी स्वागतका लागि तयार हुनुपर्छ ।
लामो समयपछि आउने पर्यटकलाई नेपालको पर्यटन क्षेत्रमा फेरिएको मुहार देखाउनसक्नुपर्छ । तर, यो कुरा हामीले बोलेर मात्रै सम्भव छैन । अर्बौं रकम राजस्व उठाउने सरकारले नै अझ बढी आम्दानी लिन र पर्यटनलाई नै समृद्धिको आधार बनाउन सोँच्नुपर्छ । त्यसका लागि विशेष रणनीतिक योजना ल्याउन आवश्यक छ ।
हामीले पनि सरकारलाई घचघच्याइरहेका छौं । कि लकडाउनपछि हाम्रो पर्यटन क्षेत्रको दिशा भिन्न होस् । बाहिरबाट आउने पर्यटकले यहाँको अव्यवस्थित अवस्था होइन, कि पहिलेको भन्दा केही फरक भएको महशुस गर्नसकुन् ।


अक्टोबरबाट सहज रुपमा पर्यटन व्यवसाय अगाडि बढ्छ भन्ने अपेक्षा छ । तर, यो त्यति सजिलो पनि छैन । हाम्रो धेरै आम्दानी हुने भनेकै बाह्य पर्यटक हुन् । उनीहरूको ठाउँमा अर्थतन्त्र चलायमान नहुँदासम्म खुलेर घुम्न आउनसक्ने स्थिति रहँदैन । तर, उनीहरू आउनेबलासम्म हामी पनि तयारी अवस्थामा रहनुपर्छ । राज्यले आरोहण क्षेत्रबाट बर्सेनि अर्बौं रुपैयाँ आम्दानी गर्छ तर त्यसको सुधारका लागि अब केही रकम लगानी पनि गर्नुपर्छ । किनकी लगानी नहुँदासम्म आम्दानीको आश गर्न पनि त सकिँदैन ।


यो क्षेत्र भनेको संवेदनशील क्षेत्र पनि हो । यहाँ हुने घटनाहरू देशभित्रै सिमित हुँदैनन् । तत्कालै अन्तर्राष्ट्रियकरण भइहाल्छन् । त्यो म्यासेज राम्रो दिने कि नराम्रो दिने भन्ने हाम्रो सरकारको भर पर्छ । यदि सरकारले यस लकडाउनको अवधिको सदुपयोग गर्दै विगतमा हुन नसकेका अधुरा काम पूरा गर्नसक्यो भने । हामीलाई अहिलेको स्थितिबाट माथि उक्लिन धेरै समय लाग्दैन । तर, त्यसका लागि राजनीतिक नेतृत्व जिम्मेवारी लिन तयार हुनुपर्छ । हामीले बारम्बार आग्रह गरिरहेका छौं ।

शेर्पा विना अक्सिजन १९ वर्षको उमेरमा सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका आरोही तथा हिमाली क्षेत्रका जानकार समेत हुन ।


Facebook Comment


No ads found for this position