लकडाउन खुकुलो पार्न सरकारले देखेको तीन विकल्प

१६ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणमा जटेको स्वास्थ्य तथा जनसङख्या मन्त्रालय लकडाउनको मोडल निर्धारणको गृहकार्य सुरु गरेको छ ।

मुख्यसचिवको नेतृत्वमा रहेको कोभिड–१९ निर्देशक समितिले २५ वैशाखपछि लागू गर्ने गरी लकडाउनको मोडालिटी तयार पार्न निर्देशन दिएसँगै मन्त्रालयका विज्ञहरुले अनौपचारिक छलफल बढाएका छन् ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलका अनुसार अहिलेसम्मको अवस्था र आगामी एक हप्तामा उत्पन्न हुनसक्ने अवस्थालाई आधार मानेर लकडाउनको मोडालिटी तयार भइरहेको छ ।

अधिकांश जनस्वास्थ्य र महामारी रोग विशेषज्ञहरुले अहिलेकै जस्तो लकडाउन गरेर समस्या समाधान नहुने सुझाव दिएका छन् । उनी भन्छन्, ‘कोभिड–१९ को खोप पत्ता नलाग्दासम्म पूर्ण निर्मुल नहुने र खोप कहिलेसम्म बन्ने भन्ने विषयमा टुंगो नभएको कारण लकडाउनको मोडालिटी परिर्वतन गर्नुपर्ने विज्ञहरुको सुझाव छ ।’

प्रमुख विशेषज्ञ डा. पोखरेलका अनुसार लकडाउनका धेरै वटा मोडलमा छलफल भइरहेको छ । त्यसमध्ये धेरै छलफल भएका प्रमुख तीन मोडल यस्तो छ ।

संक्रमित संख्याका आधारमा

संक्रमण नभएको (जिरो केस) क्षेत्रमा स्कुल, कलेज, सिनेमा हल जस्ता भिड लाग्ने स्थान नखोल्ने, सभा/जुलुस गर्न नदिने गरी मन्त्रालयमा छलफल भइरहेको छ । यसबाहेकका क्षेत्रमा सुरक्षा उपाय अपनाएर सामाजिक दूरी कायम राख्दै हिँडडुल, उद्योग, यातायातसम्म सञ्चालन गर्न सकिने विज्ञहरुको सुझाव छ । र, त्यसअनुसार मन्त्रालयले खाका तयार गरिरहेको छ ।

एकदेखि ५ वटासम्म केस देखिएको क्षेत्रमा कोभिड–१९ सुरक्षाका सम्पूर्ण उपाय अपनाएर नियमित पसल, साना उद्योग र पैदल हिँड्न दिने गरी लकडाउन खुकुलो बनाउनुपर्ने विषयमा पनि मन्त्रालयमा छलफल भएको छ ।

त्यस्तै ६ देखि १० वटासम्म केस देखिएको क्षेत्रमा कोभिड–१९ सुरक्षा उपाय अपनाएर निश्चित समय अति आवश्यक वस्तु किनबेच गर्न दिने मोडलमा छलफल भइरहेको छ ।

१० भन्दाबढी केस देखिएको ठाउँमा भने अहिलेकै जस्तो पूर्ण रुपमा लकडाउन गरी आशंकित संक्रमितहरुको खोजतलास गर्ने विषयमा छलफल गर्ने भनिएको छ ।

तर लकडाउनको यो मोडल पारित हुन्छ भन्नेमा केही विज्ञहरु आशंका गर्छन् । किनकी यसअघि सेफ जोन मार्किङ गर्ने विषयमा कुनै निर्णय हुन सकेको थिएन ।

एक हप्ता खोलेर हेर्ने

स्वास्थ्य मन्त्रालयका केही अधिकारीहरुले भने अन्तर्राष्ट्रिय नाका र हवाई उडानमा लगाएको रोक कायमै राख्ने र देशभित्रको लकडाउन भने एक साताका लागि खुला गर्ने सुझाव दिएका छन् । लकडाउन खोलको एक हप्ता र त्यसअघिको एक हप्तामा भेटिने कोरोना भाइरस संक्रमणको दर जाँच गरेर समीक्षा गर्नुपर्ने उनीहरुको तर्क छ ।

नेपालमा अहिले उपचार गराइरहेकाहरुमा सक्रिय संक्रमण नरहेकाले एक हप्ता लकडाउन खोलेर तुलना गर्नुपर्ने उनीहरुको जोड छ । यसरी एक हप्ता खुल्ला गर्दा ५ सयभन्दा बढी नयाँ केस देखिए पुनः लकडाउन गर्ने र नभए विस्तारै व्यवस्थापन गर्दै जानुपर्ने उनीहरुको सुझाव छ ।

मन्त्रालयका एक विज्ञ नाम नबताउने शर्तमा भन्छन्, ‘भ्याक्सिन नबनुञ्जेल कोरोना सँगसँगै हिँड्नुको विकल्प पनि छैन । यदि संख्या ह्वात्तै बढ्यो भने तत्काल लकडाउन गरिहाल्ने, नत्र जहाँ देखिन्छ त्यहाँ व्यवस्थापन गर्दै जानुपर्छ ।’

तर यो मोडलमा जानु आत्मघाती हुने भन्दै केही विज्ञले भने यसबारे छलफल नै गर्न चाहेका छैनन् ।

सेफ जोन मार्किङ गर्ने

गत वैशाख ४ गते स्वास्थ्य मन्त्रालयले विज्ञहरुसँग गरेको छलफलले सेफ जोन मार्किङ गर्ने निश्कर्ष निकालेको थियो । तर त्यसअनुसार काम भएन अहिले फेरि विज्ञहरुले यही मोडलमा लकडाउन खुलाउन सकिने सुझाव दिएका छन् ।

यो मोडलमा रेड जोनलाई पूरै सिल गरिनेछ भने एल्लोमा केही खुकुलो बनाउने र ग्रिन जोन तोकिएको क्षेत्रलाई सामान्य अवस्थामा नै गतिविधि गर्न छुट दिइनेछ ।

त्यसो गर्नका लागि कोभिड–१९ कुन क्षेत्रमा फैलिएको छ, कुन क्षेत्रमा फैलिएको छैन भन्ने पत्ता लगाउनुपर्छ । यसका लागि परीक्षण निकै ठूलो संख्यामा हुनुपर्छ । तर अहिलेको अवस्थामा कोरोना कुरा र कहाँ फैलिएला भन्ने आँकलन भन्दा बाहिर गइरहेको स्वास्थ्यमन्त्रीका विज्ञ सल्लाकार डा. खेम कार्की बताउँछन् ।

‘संक्रमित भेटिएको समुदायको सबैलाई टेस्ट गर्ने भनिए पनि सबैको स्वाब कलेक्सन गर्न सकिएको छैन’ डाक्टर कार्की भन्छन्, ‘लकडाउन भने पनि मानिसहरूको आवतजावत बन्द भएको छैन । अनि कसरी सेफ जोन मार्किङ गर्ने ?’

हुन पनि लकडाउन भनिएपछि शहरका मानिसहरु ठूलो संख्यामा गाउँ पुगेका छन् भने बाहिरबाट काठमाडौं पनि आएका छन् । सीमा नाका बन्द गरिएको भए पनि लुकेर आउने क्रम रोकिएको छैन । त्यसैले अहिले कोरोना भाइरसको संक्रमण कुन क्षेत्रमा फैलिएको छ भन्ने आंकलन गर्न गाह्रो हुने डा. कार्की बताउँछन् ।

र, सेफ जोन मार्किङ गरेर लकडाउन त्यसअनुसार लागू गर्ने मोडललाई वैकल्पिकमा राखिएको छ ।

लकडाउनपछि आएकाहरुले जोखिम बढाए

पछिल्लो समय भारतबाट लुकिछिपी आएकाहरुका कारण लकडाउन खुकुलो बनाउने जुनसुकै मोडालिटीमा जाँदा पनि गाह्रो भएको एकाथरी विज्ञहरुको मत छ ।

मन्त्रालयका विज्ञ सल्लाहकार डा. कार्की पनि दक्षिण छिमेकबाट दैनिक दर्जनौं मानिस अवैध रुपमा आएको र क्वारेनटाइनमा थपिइरहेको रिपोर्ट आइरहेको बताउँछन् ।

उनकाअनुसार लकडाउन अघि नेपाल छिरेका व्यक्तिहरु अधिकांशको जाँच भइसकेको छ भने ट्रेसिङ पनि सकिएको छ । तर लकडाउनको समयमा थपिनेबाट बढी जोखिम बढ्दो छ । उनले भने, ‘हाम्रो रणनीति फेल हुनुको कारण नै लकडाउनमा भारतबाट नेपाल छिर्ने र काठमाडौंबाट गाउँ जानेहरु हुन् ।’साभार अनलाईनखबर


Facebook Comment


No ads found for this position