सगरमाथा पदमार्गमा एकैपटक ६ कस्तूरी मारिए

काठमाडौँ — सगरमाथा निकुञ्जको क्याङ्जुमा नजिकको ताक्डिमामा एकै पटक ६ वटा कस्तूरी मृग मारेको भेटिएको छ । कस्तूरी मृगको केन्द्र मानिने सगरमाथा निकुञ्जमा धेरै समयपछि यति धेरै संख्यामा कस्तूरी मारिएको पाइएको हो ।

नेपालमा कश्मीर, अल्पाइन, कालो र हिमाली गरी चार प्रजातिका कस्तूरी मृग पाइन्छन् । मारिएका कस्तूरी हिमाली प्रजातिका हुन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत (चीफ वार्डेन) भूमिराज उपाध्यायले ६ वटैलाई पासोमा पारेर मारिएको र दुई वटा कस्तूरीको बिना (कस्तुरी) निकालेर लगेको जानकारी दिए । एउटाको भने बिना छाडेर गएका थिए । ६ मध्ये एउटा मात्र पोथी हो । २ वटा कस्तूरी सडेको अवस्था भेटिएकाले लिंंग छुट्‍याउन नसकिएको उनले बताए ।

चीनमा यसको प्रयोगबाट ४ सयभन्दा बढी प्रजातिका औषधि बनाइने गरिएको छ । तिनै औषधिका लागि चिनियाँ बजारमा यसको अवैध कारोबार हुने गरेको विभिन्न अध्ययनले देखाएको छ । चीनले ठूलो संख्यामा क्याप्टिभ प्रजनन गराएर यिनको संख्या बढाइरहेको छ । अत्तर, सेन्टमा समेत बिना प्रयोग हुन्छ ।

खुम्बु पासाङल्हामू गाउँपालिका ४ का वडा अध्यक्ष लक्ष्मण अधिकारीले सगरमाथा बेसक्याम्प पदमार्गभन्दा करिब डेढ सय मिटर तल सल्लाको जंगलमा पासो थापेर ती कस्तूरी मारिएको बताए । त्यस क्षेत्रबाट ५४ वटा पासोसमेत भेटिएको छ । आसपासबाट एक मृत हिमाली गिद्धसमेत भेटिएको छ ।

वार्डेन उपाध्यायका अनुसार यो क्षेत्रमा १० वर्षअघि केही कस्तूरी मारिए पनि यति धेरै मारेको रेकर्ड छैन । लकडाउनको अवधिमा जंगलमा हुने गस्ती छलेर तस्करहरुले पासो थापेको हुनसक्ने उनले बताए । उपाध्यायले घटनाबारे आइतबार नै निकुञ्ज विभागका महानिर्देशक गोपालप्रकाश भट्टराईलगायतलाई जानकारी गराएका थिए । पासो थाप्नेहरु स्थानीय भन्दा पनि बाहिरी जिल्लाका बढी हुने गरेका छन् । विगतमा पर्यटक र अन्य भरिया बनेर गएकाहरुले पासो थाप्ने गरेको देखिन्थ्यो ।


Facebook Comment


No ads found for this position