राहतमा बदमासी गर्ने व्यवसायी बनियाँ चेल चलान

परासी–पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले वितरण गरेको राहत चामल प्रकरणमा परासीका व्यवसायी पटवारी वनियाँ जेल चलान भएका छन् । गत चैत २८ गते रामग्राम नगरपालिकाले वितरण गरेको चामल खानयोग्य नभएको र कम तौल भएको भन्दै खाद्यान्न सामग्री नगरपालिकाको गेट अगाडि फालेका थिए ।

चामलको गुणस्तर जाँच गर्न पुगेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले उक्त चामल न्यून गुणस्तर र नेपाल सरकारले तोकेको मापदण्ड विपरीत रहेको जनाएपछि जिल्ला अदालतमा व्यवसायीमाथि मुद्दा चलाइएको हो ।

प्रमाणका आधारमा जिल्ला न्यायाधीश ध्रवकुमार शाहको इजलाशले व्यवसायी वनियाँलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको अदालतका श्रेस्तेदार डिल्ली शर्माले जानकारी दिए । बिक्री गर्ने सप्लायर्समाथि मात्र अभियोग पत्र रहेकाले कानुनअनुसार व्यवसायी जेल चलान भएको शर्माले जानकारी दिए ।

फौजदारी कार्यविधि संहितामा ३ वर्षभन्दा माथि सजाय हुने मुद्दामा पुर्पक्षका लागि पठाउनुपर्ने उल्लेख छ । अभियोग दाबी भएमा उनलाई ५ वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना हुने प्रावधान छ ।

यसैबीच वितरण गरिएको चामलको तौल कम भएको बारे गुणस्तर तथा नाप तौल कार्यालय बुटवलले गरेको अनुसन्धानमा ३ सय ७० ग्रामसम्म तौल कमी भएको पाइएको छ । ुउपलब्ध गराइएको चामलमा घटी नाप तौल पाइएको छ ।

नगरपालिकाले २३ सय विपन्नका लागि प्रतिघरधुरी ५, १० र १५ केजी सोना मनसुली (मोटा)चामल र सोहीअनुसारका अन्य खाद्यन्न वितरण सुरु गरिएको थियो । नगरपालिकाले २ सय ५० क्विन्टल चामल परासीस्थित राजेश राईस मिलबाट खरिद गरेको थियो । १० लाखमा खरिद गरिएको चामलको मूल्य प्रति केजी ४० रुपैयाँ छ ।

यसैबीच राहत सामग्री खरिद प्रक्रियाबारे अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलले पनि नगरपालिकाबाट कागज पत्र लगेर अनुसन्धान गरिरहेको छ।


Facebook Comment


No ads found for this position