कोरोना कहरबाट यसरी माथि उक्लिन्छ होटल व्यवसाय

काठमाडौं–कोभिड–१९ (कोरोना भाइरस)को कहर दिनप्रतिदिन लम्बिँदैछ । पूरै विश्व एक भएर लड्न प्रयासरत भए पनि यसलाई नियन्त्रण लिन पुरै विश्व सफल हुन सकेको छैन । आजको दिन सम्म भाईरसका कारण हालसम्म ३० लाख भन्दा बढी संक्रमित र सवा दुई लाख मानिसको मृत्यु भइसकेको छ ।

चीनको वुहानबाट सुरु भएको भाईरस अहिले विश्वभर फैलिसकेको छ । भाइरसलाई नियत्रण लिन लकडाउन कडाइका साथ पालना गर्दा केही समयमै चीनले नियन्त्रणमा लियो । तर युरोप हुँदै मध्यएसियामा भने यसको प्रभाव अहिले बढ्दैछ । यदि केही महिनामै यसलाई नियन्त्रणमा लिन सकिएन भने, छिट्टै यसल ठूलो संकट निम्त्याउने निश्चित छ ।

कोरोना भाईरसका कारण अहिले मानिसहरु सबै घरभित्रै थन्किएका छन् । सबै कारोबार ठप्प छन् । भोलीको दिन कस्तो हुनेछ भन्ने सोँच्न पनि सक्ने अवस्था छैन । महामारी नियन्त्रणका लागि अपनाइएको लकडाउनले केही हदसम्म त संक्रमण फैलिनबाट रोेकेको छ । त्यससँगै लकडाउनको मुख्य प्रभाव भने व्यवसायीक क्षेत्रमा परेको छ । कम्तिमा पनि दुई वर्षसम्म सामान्य अवस्थामा अर्थतन्त्र चलायमान हुन नसक्ने अर्थसम्बन्धीका जानकारहरु बताउँछन् ।
नेपालको सहज र ठूलो नगद आम्दानीको क्षेत्र पर्यटन व्यवसाय त दशकौंपछि धकेलिएको छ । नेपालको पर्यटन क्षेत्रको व्यवसायमा ठूलो हिस्सा होटल क्षेत्रले पनी बोकेको छ ।


हामीले केहीदिनदेखि लकडाउनपछि हाम्रो अर्थतन्त्रको ठूलो हिस्सा ओगटेको पर्यटन व्यवसायको भविष्य कस्तो हुन्छ त ? यस ब्यबसायलाई माथि उकास्ने योजनाहरु के के हुनसक्छन् । आजको यस शृंखलामा (चौथो शृंखला) हामीले नेपालको होटल व्यवसायमा कस्तो प्रभाव परेको छ त ? के छिट्टै पहिलेकै अवस्थामा फर्किन सक्ने सम्भावना छ त ? त्यसका लागि सरकारसँग कस्तो पहल भइरहेको छ ? होटल व्यवसायी आफैंले पनि यो कहरपछिको अर्थव्यवस्था माथि उकास्न र पूर्ववतः अवस्थामा फर्किन के योजना बनाएका छन् भन्ने विषयमा क्षेत्रीय होटल संघ सौराहका पूर्व अध्यक्ष तथा होटल व्यवसायी सुमन घिमिरेसँग कुराकानी गरेका छौं । यस्तो छ पूर्वअध्यक्ष घिमिरेको भनाई


यो भन्दा ठूलो क्षति के हुन्छ र ?
यो दशकै हाम्रो लागि ठूलो क्षति भएको छ । यो भन्दा अर्को ठूलो क्षति हे हुनसक्छ र ? हाम्रा सबै व्यवसाय ठप्प भएका छन् । मन नभए पनि मजदुरलाई बाध्यताका कारण बिदा दिनुपरेको छ । अर्बौं लगानी गरेका थियौं । त्यो सबै डुब्ने खतरामा छ । भ्रमण वर्षलाई लक्षित गरेर हामीले गतवर्षको भन्दा लगानी बढाएका थियौं । तर, लकडाउनका कारण यो सबै व्यर्थ भएको छ ।
यस्तोे संकट आउला भन्ने भान नै भएन । नत्र हामी पनि कसरी सुरक्षित हुन सकिन्छ भन्नेतर्फ सोँच्थ्यौं । तर अर्बौं लगानी गरेका व्यवसायीहरु सडकमा आउने स्थिति सिर्जना हुँदैछ । सरकारले यस्तो बेला पनि कुनै ठोस योजना ल्याउन सकेको छैन । पर्यटन मन्त्रीले त विभिन्न भाषणमा प्याकेज ल्याउँछौं भन्ने बोलेको सुनिन्छ तर, यो अवस्थाबाट माथि उकास्न कुनै ठोस योजना ल्याएको देखिँदैन ।


अर्थतन्त्रको ठूलो हिस्सा संकटमा
ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको ठूलो योगदान तथ्यांकमा नदेखिए पनि अप्रत्यक्ष रुपमा यसमा लाखौं परिवारको आयस्रोत जोडिएको छ । होटल व्यवसाय पर्यटनको एक मुख्य हिस्सता हो । यो बिना पर्यटन कल्पना गर्न पनि सकिँदैन । पछिल्लो एक दशकमा होटल व्यवसायले निकै फड्को मारेको थियो । तर, महामारीले उत्पन्न लकडाउनका कारण सबै लगानी डुब्ने अवस्थामा छ ।
सरदरमा यस वर्ष मात्रै लगानी वर्षलाई लक्षित गरी होटल व्यवसायीले करिब ४ खर्ब बढी लगानी गरेका थिए । अब त्यसको असुल हुने सम्भावना छैन । सरकारसँग हामीले हाम्रो घाटा पूर्ति गराउन भनेका छैनौं । तर , लकडाउनपछि छिट्टै माथि उस्कनसक्ने खालको योजना ल्याउन माग गरेका छौं । यहाँ लाखौं मजदुर कार्यरत छन् । उनीहरुको भविष्यसँग जोडिएको छ । कृषि उत्पादनसँग पनि होटल व्यवसाय जोडिएको छ । सरकारले प्राथमिकतामा राख्न सक्यो भने, हामी दुई÷तीन वर्षमै माथि उक्लिन सक्छौं ।


सरकारको प्राथमिकतामा परेन
नीति निर्माणका लागि नेतृत्वको ठूलो भूमिका हुन्छ । राज्यको अर्थतन्त्र कसरी सुधार गर्ने भन्ने आजको नेतृत्वको हातमा छ । तर, उनीहरु गम्भीर भएको देखिँदैन । जे कुरामा पनि राजनीति घुसाउने प्रचलन छ । पर्यटन व्यवसाय राजनीतिभन्दा बाहिरको कुरा हो ।
बस यसमा स्पस्ट नीति र लगानी आवश्यक हुन्छ । सरकारले पर्याप्त लगानी गर्न सकेको छैन । न त निजी क्षेत्रलाई नै सुरक्षाका साथ लगानी गर्ने वातावरण नै बनाइदिएको छ । सन् २००३ देखि २००५ सम्म देशका ठूला–ठूला होटलहरु बन्द हुने अवस्थामा पुगेका थिए । यदि सरकारले यतिबेला सोँचेन भने अहिले पनि त्यो स्थिति नआउला भन्न सकिँदैन ।


अन्य देशमा होटल व्यवसायीको लगानी सुरक्षाका लागि विभिन्न योजनाहरु ल्याएको देखिन्छ । तर, हाम्रो सरकार खाली सत्ताको खेलमै लुप्त छ । कसरी व्यवसायीको लगानी सुरक्षा र मजदुरको रोजगारीको सुरक्षा गर्नेभन्नेतर्फ ध्यान दिन सकेको छैन । व्यवसायीले आम्दानी मात्रै गर्दैनन् । हजारौंलाई रोजगारी पनि दिन्छन् । त्यो भनेको राज्यकै लागि राम्रो हो । तर खै किन हो मैले बुझ्नै सकेको छैन । सरकारले पर्यटनसँग जोडिएका क्षेत्रलाई प्राथमिकतामा पार्न सकेको छैन । नबुझेको भनौं भने पनि सभा सम्मेलनमा देशलाई समृद्धितर्फ लैजाने भाषण गर्छन् । बुझेको भनौं भने पनि अहिलेसम्म पर्यटनबाट आर्थिक समृद्धि कसरी ल्याउन सकिन्छ भन्ने कुरा नीतिगत रुपमा बाहिर आउनै सकेको छैन ।


लगानी सुरक्षाको वातावरण बनाउनुपर्छ
हामीले लकडाउनपछि हाम्रोतर्फबाट हुने काम गर्छौं । हाम्रो काम भनेको लगानी बढाउने नै हो । तर, अहिले व्यवसायी भएको लगानी पनि बचाउन सक्ने स्थितिमा छैनन् । लकडाउनपछि होटल खोल्ने कि नखोल्ने भन्ने दोधारमा छन् धेरै व्यवसायी ।
हामीले पनि लकडाउनपछि कसरी हुन्छ सस्तो र सुलभ तरिकाले सेवा दिनेगरी व्यवसाय खुलाउने योजना बनाइरहेका छौं । अहिलेको स्थिति हेर्दा अब लगानी थपिने अवस्था छैन । किनकी जहाँ आपत्मा लगानीको सुरक्षा नै हुँदैन भने, त्यहाँ को डुब्न चाहन्छ र ?
त्यसैले राज्यले एउटा छुट्टै प्याकेज ल्याएर लगानी गर्नका लागि सुरक्षित वतावरण बनाउनुपर्छ । दुई वर्षसम्म त हामीले पनि बाह्य पर्यटकको आगमन हुने अपेक्षा राखेका छैनौं । तर, व्यवसाय निरन्तर परिचालनका लागि आन्तरिक पर्यटनको प्रवद्र्धन गर्नुपर्छ ।


महिनामा एकदिन अनिवार्य घुम्नैपर्ने नीति बनाउनुपर्छ । सरकारले नै यसको नेतृत्व लिनुपर्छ । तर, यसका लागि पनि मापदण्ड बनाउनुपर्छ । नेपालमा अलिकति आम्दानी हुने र घुम्नसक्ने ल्याकत राख्ने भनेकै सरकारी कर्मचारी नै हुन् । उनीहरुलाई महिनामा एकदिन बिदा दिएर पनि घुम्ने वातावरण बनाउनुपर्छ । तर, त्यसका लागि अनिवार्य पर्यटकीय क्षेत्रमा जानुपर्ने मापदण्ड बनाउनुपर्छ । नत्र, घरमै बसेर बिल पेस गर्ने प्रचलन पहिल्यैदेखि चलिएको हो । यदि यसो भयो भने, हामी व्यवसायी मात्र होइन, सरकारलाई जाने राजस्व र होटल व्यवसायसँग जोडिएका मजदुरको दैनिकीमा पनि असर पर्छ ।


ऋण तिर्ने मिति एक वर्षसम्म होल्ड गर्नुपर्छ
अहिलेको अवस्था हेर्दा पर्यटन व्यवसायीहरु छिट्टै माथि उस्किन सक्ने स्थिति देखिँदैन । हिजो राष्ट्रबैंकले ब्याज छुटका लागि सूचना जारी गरेको पनि रहेछ । तर, सरकारले हामीलाई असारसम्म ऋण तिर्ने मिति होल्ड गरेको छ ।
अहिलेको अवस्थामा कुनै आम्दानी नै छैन । भएको सबै रकम लगानी भइसक्यो । यस्तो अवस्थामा असारसम्म तिर्न सकिने अवस्था छैन । हामीले ऋण मिनाह गर्न पनि भनेका छैनौं । हामी तिर्छौं । तर, अवस्था सामान्य नहुँदासम्म होल्ड गरियो भने, भोली व्यवसायी बाँच्ने र त्योसँग जोडिएका आश्रित परिवारको सुरक्षा पनि हुन्छ । हामीले यसका लागि सरकारसँग माग गरिरहेका छौं । कृषिमा थोरै ब्याजदरमा ऋण प्रवाह भइरहेको छ । हामीलाई पनि यही क्याटागोरीमा राख्यो भने सहज हुन्छ ।


यदि साँच्चीकै पर्यटनबाटै समृद्धि हासिल गर्ने हो भने, कम ब्याजदरमा लगानीकर्तालाई ऋण दिने व्यवस्था गर्नुपर्छ । अहिले १३÷१४ प्रतिशत तिर्नु परिरहेको छ । यदि सरकारले ७ प्रतिशतसम्म मात्रै राख्यो भने पनि नयाँ आउनेलाई पनि सहज हुन्छ । सहर केन्द्रित लगानी ग्रामीण क्षेत्रसम्म पुग्छ । त्यहाँ रोजगारी पनि सिर्जना हुन्छ र स्थानीय उत्पादनको प्रवद्र्धन पनि हुन्छ ।


Facebook Comment


No ads found for this position