मौलिक खानाको खोजीमा १ सय १ दिन देश डुल्दा…..
सेफ प्रेमलाल तामाङ घिसिङ
म सानैदेखि खानाको सौखिन । मेरी आमा पनि खाना पकाउन अति सिपालु । घरमा मिठो मसिनो नभए पनि आफ्नो सन्तान र पाहुनाको लागि मिठो पकाउन जानेकी मेरी आमा । म आमाको एक्लो मायालु छोरा, त्यसैले म सधंै भान्सामा आमाको सहयोगी हुन्थेँ । आमासँगै मिठो खाना पकाउन सानैदेखि सिके जाने भन्दा फरक नपर्ला । भान्छा कोठामा आमाको सहयोगी बनेपछि खाना चाख्ने काम मेरो नै हुन्थ्यो, किन कि त्यो काम मेरी आमाले मलाई नै दिनुहुन्थ्यो । त्यसैले पनि मेरो जिब्रो सानै देखि स्वादे जिब्रो भयो ।
पढाइको क्रममा अलि सानै उमेरमा सहर आउनुपर्ने भयो । आमाबाट भौतिक रुपमा टाढिए तर उहाँले दिनुभएको सीप ज्ञान मै सँग थिए । आमाले पकाउनु भएको रैथाने खानाको स्वाद सँधै रहिनै रहन्छ अर्थात कहिले भुल्न सक्दिन ।बेला बेलामा काठ क्षेत्रमा गएर रैथाने स्वादलिने गर्थे । सहरमा बाँच्न भनौं अथवा जिविकोपार्जन गर्न केहि न केहि त हरेकले गर्नैपर्छ, गरिरहेकै हुन्छ । त्यसैले मैले पनि केहि समय थाङ्का लेखे, त्यसपछि पत्रकारिता पनि गरे । तर, मलाई यो दुवै पेशामा आत्म सन्तुष्टि भएन । त्यसैले आमासँग मैले सीकेका ती सिपलाई व्यवसायीकरण गर्ने निधोसहित सेफ बन्ने लक्ष्य लिएर होटलको किचेनमा काम गर्न पुगे ।
सेफ सम्बन्धी अष्ट्रेलियाको टेफ कार्ष मैले गेट कलेजबाट प्राप्त गरे । सफल सेफ हुनको लागि चाहिने तालिमहरू प्राप्त गरे ।होटलमा काम गर्ने क्रममा मैले राम्रो विज्ञ सेफको सहयोगी भएर र विभिन्न पदमा बसेर काम गर्ने सौभाग्य मिल्यो । यसरी प्राप्त भएका केहि थान प्रमाणपत्रको आधारमा होटल म्यानेजमेन्ट पढाइ हुने कलेजहरूमा फुड प्रोडक्सन पढाउने काम पनि गरेँ, गरिरहेको पनि छु ।
यसरी मैले लामो समयसम्म नेपाली पाक क्षेत्रमा काम गर्दा नेपालका सानादेखि चर्चित होटल तथा रेस्टुरेन्टमा नेपाली मेनु र परिकार पाकेको पाइन । नेपालमा होटल व्यवस्थापन विषयमा अध्ययन अध्यापन हुने गरिए पनि कोर्षमा नेपाली परिकार समावेश छैन र आजसम्म मैले भेटेको पनि छैन । नेपालमा सञ्चालित छोटो अवधिको कापकाल प्रशिक्षणमा पनि ५ प्रतिशतभन्दा नेपाली परिकार छैन । त्यो पनि सबैमा छैन । हाम्रो देश नेपाल बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक मुलुक यहाँ हरेक क्षेत्रको आफ्नै पहिचान छ । हामी नेपालीले खाने खाना त्यत्ति धेरै पौष्टिक, स्वस्थ थियो, छ र त नेपालीलाई वीर गोर्खालीको रुपमा चिनिन्छ । र पनि नेपाली खाना विस्तारै लोप हुने अवस्थामा छ संरक्षणको अभावमा । त्यसैले मैले निर्णय लिएँ कि मेरो नेपालको खानालाई यस्सै लोप हुन दिनेछैन । मेरो नेपाल र नेपाली खानाका लागी म नेपाली भएको नाताले मेरो पनि जिम्मेवारी रहने ठानेर देशको विभिन्न भुगोल र समूहमा रहेको खानपिनको अध्ययन गर्ने उद्देश्यका साथ नेपालको पूर्वदेखि पश्चिम महाकालीसम्म पुगेर खाना खोज्ने निर्णय मैले गरेँ ।
यो यात्राको उद्देश्य नेपाली रैथाने खानपिन साथै नेपालको मौलिक खानाको खोज गर्दै विश्वसामु परिचित गराउन पुस्तक प्रकाशन गर्ने साथै डक्युमेन्ट्रि तयार गर्ने थियो । त्यसका लागि म एक्लै यात्राका गर्न पर्याप्त थिएन । त्यसैले १०१ दिनको खाना यात्रा सुरु गर्दै गएको असोज १२ गते ४ जनाको टोलीसहित काठमाडौंबाट झापातर्फ लाग्यौँ । मेरो टोलीमा भिडियो ग्राफर चर्चित ढुगेंल, उहाँका सहयोगी सन्तोष सिटौला र मेरो सहयोगी अनिल हुमागाई हुनुहुन्थ्यो । हामीले सबैभन्दा पहिला झापाको माइलाबारीस्थित धिमाल बस्तीमा पुगेर धिमाल जातिको खानपिनको बारेमा अध्ययन ग¥यौं । नेपालको आदिवासी जनजाति समुदायअन्र्तगत पर्ने धिमाल जातिको सत्कारसँगै खानपिनबाट हामी अत्यन्तै प्रभावित भयाँं । धिमाल जातिबाट पाएको यो सत्कार र खानाको अध्ययन पश्चात मलाई लाग्यो मेरो पहिलो अध्ययनबाटै मन यत्ति प्रफुल्लित छ, देशका बाँकी स्थानमा पुग्दा त्यहाँको सत्कार र खानपिन कस्तो होला ?
मेरो पहिलो अनुभव नै यत्ति सुखद रहेपछि मुलुक डुल्ने मेरो निर्णय अझै उपयुक्त लाग्न थाल्यो । यस्तै इच्छाले मलाई मुलुक डुलायो । यी १०१ दिनमा मैले रोल्पा रुकुमदेखि हुम्ला–जुम्ला अनि मुस्ताङ र मनाङसम्मका परिकार चाख्न भ्याएँ । यति धेरै खानपिनका परिकार देखेर कुनै बेला म मात्तिए भने कुनै बेला मलाई मत्ताए । खानपिन खोज्नकै लागि मैले ६५ वटा जिल्ला डुले । जिल्ला टेक्ने मात्र होइन, हामीले त्यहाँका कला, संस्कृति, प्राकृतिक सुन्दरता, संस्कार संस्कृति र खानपिनका कथालाई पनि भिडियोमा कैद ग¥यौं, डायरीका पानामा भ¥यौं ।
मैले यसरी कैद गरेर ल्याएको भिडियोलाई टिभि कार्यक्रममार्फत प्रसारण गर्दैछु । जसको नामसमेत जुरीसकेको छ, ‘रैथाने चुल्हो’ । यद्दपी प्रसारण सुरु भने भइसकेको छैन, तयारी भने अन्तिम चरणमै पुगेको छ । यसका साथै नेपाली रैथाने खानपिनको किताब पनि प्रकाशन गर्दैछु । नेपाल हरेक क्षेत्रसँगै खानपिनले समेत भरिपूर्ण छ भन्दा मलाई कुनै संकोच छैन । म ढुक्क साथ भन्छु खानपिनका लागि सिंगो नेपाल भरिपूर्ण छ ।
मैले देशको माटोलाई छामेको छु । देशभरको हावापानी, खानपिन, प्रकृति, संस्कार संकृतिसँग नाता गाँसेको छु । देशभरको आमाबुवा, दाजुभाई, दिदी बहिनीको माया पाएको छु । धेरै आफन्त कमाएको छु । मैले नेपाली खानपिनलाई सुम्सुम्याउन र माया गर्न जानेको छु, त्यसैले नेपाली खानपिनलाई विश्वबजारमा पु¥याउन सकिन्छ भन्ने आँट मलाई आएको छ । एक सय एक दिने यात्रालाई स्मरण गर्नुपर्दा कति यात्राहरू कहाली लाग्दा पनि छन् । केहि अनुभव तपाइँहरूसँग साट्दैछु । हामी रसुवाबाट गोरखा जाने क्रममा १८ घण्टासम्म भोकै पनि हिड्यौं । “भोक मिठो कि भोजन मिठो” भन्ने भनाई पनि म आफैंले प्रत्यक्ष अनुभव गर्न पाएँ । सुर्खेतबाट जुम्ला जाने बेलामा साथीहरूको बिदाइका क्रममा व्यक्त गरिएका शब्दले मन रोयो । जुम्लामा पुग्ने बेला सहयात्री चर्चित ढुङ्गेललाई झाडापखालासमेत लाग्यो, सुन्दा सामान्य लागे पनि ज्यानैसमेत लिन सक्ने उक्त समस्यासँग हामी डरायौं । डराउनैपर्ने कारण थियो, डाक्टरको अभाव । र पनि स्थानीयको सहयोगमा जडिबुटी औषधि पायाँै फलस्वरुप स्वास्थ्यमा सुधार आयो ।
हाम्रो मुस्ताङको यात्रा अलि असहज नै रह्यो, हाम्रो यो यात्रा सुविधा सम्पन्न सवारी चढेर सुगम बस्ती पुग्ने थिएन । मेरो उद्देश्य पूरा गर्न मैले कुनै विशेष बस्ती जानैपर्ने थियो र त्यो बस्तीसम्म पुग्न सडकको पहुँच नहुने, सवारी साधनको सहज उपलब्धता नहुनेजस्ता समस्या आउने हँुदा घण्टौंसम्म हिँडेरै गन्तव्यसम्म पुग्नुपर्ने थियो । सो क्रममा सहकर्मी सन्तोष सिटौलालाई लेक लाग्यो, दुई दिनको उपचारपश्चात उहाँको स्वास्थ्यमा सुधार आएपछि हाम्रो यात्रा सुरु भएको थियो । हरेक स्थानको खानपिन हामीले धित मरुन्जेलसम्म खायौं । कुनैबेला चिसो ठाउँमा चिसै परिकारको स्वाद लियौं भने तातो स्थानमा तातै परिकार चाख्यौं । खोटाङमा हामी बस्दा राई समुदायको किनिमालगायत विभिन्न खानेकुराहरू त भिडियोमा कैद ग¥यौं नै त्यो भन्दा पनि एउटा बंगुरको सम्पूर्ण पार्टहरूको अध्ययन र त्यसका परिकारहरू बुझ्ने मौका पायौं ।
मुस्ताङमा पनि सिंगै च्याङ्ग्राको अध्ययन गर्दा र त्यसका परिकारहरू बुझ्दा विदेशी विभिन्न विद्यालयहरूले कुनै एउटा बिmद को विषयमा पढाउने कुरा त हाम्रा पूर्खाहरूले उहिल्यै जानेका रहेछन् । दाङ लमहीको थारु बस्तीमा किनेर पनि नपाउने मुसाको परिकार पनि खायौं । खसी भालेदेखि घोङ्गीसम्म खायौं ।
। त्यस्तै रोल्पाको थवाङ पुग्ने बेलामा धुलोले हामी नचिनिने अवस्थामा थियौं । यात्राको क्रममा हाम्रो मोबाइल र जुत्ताहरू पनि हराए, झोला चुडियो । घाम पानीले बद्लिए लुगा र मान्छेको रंग । तर, हाम्रो यात्राको मिसन र रंग कहिल्यै बदलेन । उल्टै हामीले त्यहाँको माया ममता र सत्कारलाई मनभरी अटायौं । आमाबुवाहरूको आर्शीवादले हामीलाई अझ अगाडि बढ्न सक्षम गरायो । रोल्पाको थवाङमा स्थानीय बाजा, नाँचगानसहितको स्वागत र बिदाई सँधैभरी मनमै रहनेछ, एउटा मिठो सम्झना बनि सम्मान स्वरुप । यो यात्राले सिकायो नेपाली संस्कारमा पाहुनालाई सत्कार गर्ने चलन गाउँघरमा यथावत नै छ । मलाई लाग्छ सत्कार गर्ने त्यो संस्कार विश्वको कुनै पनि देशमा छैन र विश्वविद्यालयले पढाउँदैन । त्यसैले हामीले हाम्रो नेपाली सत्कारलाई जोगाउनु अति आवश्यक छ ।
नेपाली खानपिन हरेक हिसाबले अर्गानिक साथै पौष्टिक छ, स्वस्थ छ त्यसैले नेपाली खानाले विश्व बजारसम्म पुग्ने हैसियत राख्छ । तर, खानपिनका क्षेत्रमा कसैको पनि ध्यान पुगेको छैन । नेपालका होटल विदेशी परिकारको गुनगानमा व्यस्त छ । नेपालमा रहेको खानपिनको पाँच प्रतिशत पनि उजागर भएको छैन । बत्तिमुनिको अँध्यारो भने झै हामी नेपालीहरू आफूसँग भएको यति धेरै नेपाली खानपिनलाई बिर्सेर अरुको खानपिनको नक्कल गर्न र सिकाउन व्यस्त छौं । अँध्यारोलाई उज्यालोको आवश्यकता पर्छ नै । अँध्यारोमा रहेको नेपाली खानालाई उज्यालोतर्फ ल्याउँदै प्रकाश छर्ने मेरो प्रयास हो । यहीँको कोदो, फापर, सिस्नु, सागपात र स्थानीय उत्पादनको परिकार बनाउन र पस्कनसक्ने क्षमताको विकास राज्यले गर्नुपर्छ ।
किन कि नेपालमा आउने बाह्य पर्यटकलाई यहाँको मौलिकताको स्वाद दिन सक्नुपर्छ । उनीहरूको चाहना पनि यही भएको कुरा हामीले बुझ्न जरुरी छ । हामीले उनीहरूलाई यहीँको माटो सुहाउँदो आतिथ्यता दिन सक्नुपर्छ । अनि मात्र यहाँको जनताले आर्थिक लाभ लिन सक्छन् । यो मैले भनिरहेको मात्रै छैन, व्यवहारमासमेत लागू गरेको छु । म जुन समुदायमा पुगेको छु, त्यो समुदायको खानपिन अध्ययन गर्ने क्रममा त्यहाँ आवश्यक सामग्री उत्पादन गर्नेलाई लाग्दो खर्च प्रदान गरेको छु । म पुगेको बस्तीका आमाबुवा, दाजुभाई, दिदिबहिनीले केही आम्दानी गाउँघरमै गर्नुभयो ।
यो एउटा इच्छा शक्ति र गन्तव्यको कथा हो । सपना र सफलताको कथा हो । र नेपाली खाना खोजको कथा हो । मैले १०१ दिनमा जीवनलाई दाउमा राखेर मृत्यृलाई छक्याएको क्षणहरूको सत्य कथा पनि मसँग छ । कति छाकहरू पानी, मकै र भटमासको भरमा अघाएका छन् भने कति कुखुराको सफेडा नरुचेका छाकहरू छन् । यात्राको क्रममा कति झुपडीमा मजाले निदाएका रातहरू पनि छन् । कति महलमा पनि ननिदाएका रातहरू छन् । जीवन भनेको सरल रेखा होइन । जो सँधै एकै लाइनमा बसिरत्हन्छ । जीवन एउटा उत्तरचढाव हो त्यो भोग्नुपर्छ । त्यो भोगाइले जीवनलाई अर्थपूर्ण बनाउँछ । मेरो यात्राको हरेक क्षणमा जीवनको यथार्थ कथाहरू बनेका छन् । मसँग सपना थियो, पैसा थिएन । म त्यही सपना चुम्न हिँडेको मान्छे ।
सगरमाथा चढ्न अक्सिजन होइन साहस चाहिन्छ । संसारमा असम्भव भन्ने चिज केही छैन । प्रमाण म आफैं छु । एउटा मान्छेले चायो भने जति लामो यात्रा भए पनि छोटो हुँदै जाने रहेछ । म मेरो उद्देश्य पूरा गर्र्न जुन जुन टोल बस्ती पुगे त्यहाँबाट मैले मेरो जिन्दगीभरलाई पुग्ने ज्ञान, सीप, अनुभवसहित सम्मान, माया, स्नेहसहित आफन्त कमाएँ । यसरीे मेरो नेपाली रैथाने खाना खोजी यात्रामा मसँगै हिड्ने र भौतिक रुपमा सँगै नहिँडे पनि मेरो योजना, यात्रा, आँट, साहस र काम देखेर खुसीसाथ यो एक सय एक दिन पाइलैपिच्छे साथ दिएरसँगै हिँड्नु हुने सम्पूर्ण सुभचिन्तकहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।(घिसिङ -पाकशास्त्री र नेपाली रैथाने खाना खोज अभियान्ता)