अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन स्थगित, २५६४ दीप प्रज्वलन गरिने

काठमाडौं–विश्व शान्तिका प्रवद्र्धक शाक्यमुनि भगवान गौतम बुद्धको २५६४औं जन्मजयन्तीका अवसरमा आयोजना गरिएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन स्थगित गरिएको छ ।

लुम्बिनी विकास कोषले विज्ञप्ति जारी गर्दै जन्मजयन्तीका अवसरमा आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलन र त्यसभन्दा दुई दिन अगाडि तय गरिएका सबै कार्यक्रमहरु स्थगन गरिएको जानकारी दिएको हो । बुद्ध जन्मिएको दिन बैशाख पूर्णिमा अर्थात् बैशाख २५ गते सम्मेलन आयोजना हुने भएको थियो ।

कोरोना भाइरसको नियन्त्रणका लागि विश्वव्यापी लकडाउनको अवस्थामा संक्रमणको जोखिमलाई ध्यानमा राख्दै सम्मेलनलगायतका कार्यक्रमहरु स्थगन गरिएको कोषले जनाएको छ ।

नेपाल सरकारबाटै सघन रूपमा प्रचारप्रसार गरी सम्पूर्ण जगतको कल्याण तथा विश्वमा अहिंसा, भाइचारा र सद्भाव बढाउने हेतुले “लुम्बिनी नेपालः भगवान बुद्धको जन्मस्थल, बौद्ध धर्मको उद्गमभूमि तथा विश्वशान्तिको मुहान” भन्ने नाराका साथ २५६४औँ बुद्धजयन्ती तथा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन अन्तर्राष्ट्रियस्तरको प्रतिनिधिको सहभागितामा आयोजना गर्ने २०७६ माघ १० गतेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो ।

बुद्ध जन्मजयन्ती र सम्मेलन आयोजनाका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको अध्यक्षतामा आयोजक समिति गठन भई सचिवालयको स्थापना गरिएको थियो । तर, अकस्मात विश्वलाई नै संकटमा पार्ने कोरोना भाइरसको संक्रम फैलिएसँगै सरकारले भीडाभाड हुने कुनै पनि सभासम्मेलन गर्न निषेध गरेको छ ।

सोही निर्देशलाई पालाना गर्न र कोरोना संक्रमणको जोखिमबाट बच्न यसअघि तय भएका सम्पूर्ण सभा सम्मेलनका कार्यक्रमहरु रोकिएको कोषले विज्ञप्तिमा उल्लेख गरेको छ ।

यस्तै, २५६४औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवस–२०७७ को अवसरमा लुम्बिनी विकास कोषले भगवान बुद्धको पवित्र जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा लकडाउनको पालना गर्दै बौद्ध भिक्षु÷भिक्षुणी तथा लामा गुरु÷गुरुमाहरुबाट विश्व शान्तिको कामना गर्दे प्रार्थना एवं पाठपूजासहित २५६४ वटा दिप प्रज्वलन गरिने भएको छ ।

साथै बौद्ध समुदायलगायत सबै नेपालीलाई सामाजिक दूरी कायम गर्दै आ–आफ्नो स्थानमा सुरक्षित रही सुरक्षित तबरले प्रार्थना एवं पाठपूजा गर्न अनुरोध पनि गरिएको कोषका कामु सचवि ज्ञानिन राईले जानकारी दिए ।


Facebook Comment


No ads found for this position