अछाममा आइसोलेसनमा उपचाररत महिलाको मृत्यु

अछाम- जिल्ला अस्पताल अछामको आइसोलेसनमा उपचाररत एक महिलाको मृत्यु भएको छ । मंगलसेन नगरपालिका ५ की ५१ वर्षीया देबु सार्कीको उपचारका क्रममा मृत्यु भएको हो ।

ज्वरो आएपछि गएको सोमबार अस्पताल पुगेकी उनलाई चिकित्सकहरुले कोरोना हुनसक्ने आशंकामा आइसोलेसनमा भर्ना गरेर उपचार थालेका थिए ।

उपचारकै क्रममा उनको बिहीबार बिहान साढे ६ बजे मृत्यु भएको उपचारमा संलग्न डाक्टर शरदचन्द्र बरालले बताए ।

उनका अनुसार सार्कीको मृत्युपछि स्वाब संकलन गरेर पीसीआर परिक्षणकालागि सुर्खेत पठाइएको छ । अस्पताल भर्ना भएकोदिन सार्कीलाई ९९ दशमलव ८ डिग्री फोरेनाइट ज्वरो देखिनुका साथै टाउको दुख्ने र खोकी लाग्ने गरेको थियो ।

त्योबाहेक उनले आफूलाई धेरै पहिलेदेखि नै हातखुट्टा दुख्ने समस्या समेत रहेको पनि बताएकी थिइन् ।

अस्पताल भर्नापछि कोरोना भाइरस परिक्षणका क्रममा उनको आरडीटी रिर्पोट नेगेटिभ देखिएको थियो । तर आइसोलेसनभित्र चिकित्सकको निगरानीमा राखिएकी बिरामी महिलाको मृत्यु भएपछि भने जिल्लामा त्रास फैलिएको छ ।

सार्कीको मृत्युपछि उनको उपचारमा संलग्न रहेका सबै १३ जना चिकित्सकहरु होम क्वारेन्टाइनमा बसेका छन् ।

मृतकको स्वाबको पीसीआर रिर्पोट नआएसम्म उनीहरुलाई घरबाहिर निस्कन बन्देज लगाइएको डाक्टर बरालले बताए । यदि स्वाबको रिर्पोट नेगेटिभ आएमात्र उनीहरु काममा फकिर्ने छन् ।

स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाका अनुसार मृतक सार्कीको स्वाबको पीसीआर रिर्पोट ढिलोमा शुक्रबारभित्र आइसक्ने छ ।

अन्य गाडी नचलेकाले त्यसैकालागि स्वाब लिएर दुईजना स्वास्थ्यकर्मीहरु मोटरसाइकलमा सुर्खेत पठाइएको उनले बताए । मृतक सार्कीको शव भने आज नै दाहसंस्कार गरिएको छ ।


Facebook Comment


No ads found for this position