मजदुर दिवसका दिन हिउँमा हराइरहेका मजदुरको १४ दिनपछि सकुशल उद्धार

१९ वैशाख काठमाडौं । हिउँमा हराइरहेका मजदुरको १४ दिनपछि सकुशल उद्धार गरिएको छ । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ का सुरज लामालाई १४ दिनपछि सकुसल उद्धार गरिएको हो ।

उनी गत वैशाख ६ गते रसुवाको रसुवागढी हाइड्रोपावरबाट पैदलै घर जानको लागि निस्किएका थिए । घरमा वैशाख २० गतेसम्म श्रीमतीलाई सुत्केरी हुने समय तोकेकोले उनी कम्पनीबाट बिदा नलिई निस्किएका हुन् ।

उनी निस्किएको भोलिपल्टदेखि नै सो क्षेत्रमा हिमपात सुरु भयो । उनी एकाएक सम्पर्कविहीन भए । घर जाने बेलामा उनले बाटोमा खानको लागि भनेर केही सातु र सुत्नको लागि भनेर एउटा म्याट बोकेर हिँडेका थिए । तर, एकाएक हिउँ परेपछि उनी हिँड्ने बाटो पुरियो र उनी सम्पर्कविहीन भए ।

वैशाख १६ गते उद्धार गरिएका लामालाई अहिले हेलिकप्टरबाट उद्धार गरी काठमाडौंमा रहेको सिभिल अस्पतालको आकस्मिक कक्षमा उपचार गरिँदैछ । उनको उद्धारको लागि हेलिकप्टर लिएर गएका नेकपा केन्द्रीय सदस्य माधव सापकोटाले उनको स्वास्थ्य अहिले खतरामुक्त रहेको जानकारी दिए ।

लामा रसुवागढी हाइड्रोपावरमा मजदुरीको काम गर्दै आएका थिए । रसुवाको गोसाइँकुण्ड नजिकै तारेभिरमा आइपुगेपछि उनी हिउँमा फसेका लामाको खोजी गरिदिन बलेफी गाउँपालिका–४ का वडाध्यक्ष कालीप्रसाद लामाले आग्रह गरेका थिए । उनको आग्रहसँगै सो क्षेत्रमा खटिएका नेपाली सेना, प्रहरी लगायतका निकायमा समेत खबर गरिएको थियो ।

उनलाई वैशाख १६ गते नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको सूर्यकुण्ड फेदीभन्ने ठाउँमा स्थानीयले भेटेपछि प्रहरीलाई खबर गरेका थिए । त्यतिबेला बेहोसी अवस्थामा रहेका उनी अहिले सामान्य हिसाबले बोल्न सक्ने अवस्थामा रहेको सापकोटा बताउँछन् ।

सामान्य बोल्न सक्ने भएपछि लामाले गोठमा आइपुग्दासम्म आफूले बोकेर ल्याएको सातु खाएर बाँचेको प्रतिक्रिंया दिएका थिए । हिउँमा फसेपछि आफूले बोकेको म्याटलाई दुई टुक्रा पारेर शरीरमुनि ओछ्याउने र माथि ओड्ने गरेर पुनर्जीवन पाएको सुनाएका छन् ।


Facebook Comment


No ads found for this position