भोका बच्चालाई भुलाउन जब आमाले ढुंगा पकाइन् !

काठमाडौं–कोरोना (कोभिड–१९) भाइरस संक्रमणले अहिले विश्वलाई आक्रान्त बनाएको छ । विश्वका अधिकांश देशमा लकडाउन जारी गरिएको छ । सबै मानिस कोरोना त्रासका कारण घरभित्र छन् ।

हुनेखानेका लागि त लकडाउनले कुनै समस्या छैन तर, विपन्न, असहायहरुका लागि कोरोना कहरका कारण जारी लकडाउन रोग भन्दा ठूलो समस्या बनेको छ । मान्छेले ढुङ्गा पकाएको बारेमा हामीले कथामा सुन्दै आएका थियौँ तर, केन्यामा भने वास्तविक जीवनमै यस्तो घटना घटेको छ ।

कोरोना भाइरसका संकटका कारण केन्यामा गरिबीसँग जुधिरहेकी एक महिलाले बच्चाको मन भुलाउनका लागि ढुङ्गा पकाएको नाटक गर्नुपरेको छ । आठ बच्चाकी ती महिलाको नाम पेनिना बहाती कित्साओ हो ।

पेनिना निरक्षर र विधवा छिन् । उनी मानिसहरुको कपडा धोएर आफ्नो र बच्चाको गुजारा गर्थिन् तर कोरोना भाइरस सङ्क्रमण फैलिएपछि उनको काम ठप्प भएको छ ।

पेनिनाको लागि गरिबी र मुस्किल यति बढेको छ कि अहिले आफ्ना बच्चालाई खुवाउन केही पनि छैन । यस कारण उनले बच्चाहरुलाई भुलाउनको लागि ढुङ्गा पकाउन थालिन् । केही पाकेको देखेपछि बच्चाहरु पर्खाइमा सुत्ने पेनिना सोच्छिन् ।

उनकी एक जना छिमेकीले बच्चाहरु रोएको आवाज सुनेपछि के भएछ भनेर त्यहाँ पुगेकी थिइन् । एक जना छिमेकीले भिडियो नै बनाएर सामाजिक सञ्जालमा यसबारेमा बताएकी छिन् ।

पेनिनाको कहानी सुनेर मानिसहरुले उनका लागि रकम जम्मा गरे र पूरै केन्याबाट फोन आउन थाल्यो । पेनिनाकी एक जना छिमेकीले उनको बैंकमा एकाउन्ट खोलिदिइन्, जसको माध्यमबाट पेनिनाले रकम प्राप्त गरिन् ।

केन्याका मानिसहरु यति दयालु हुन्छन् भनेर नसोचेको पेनिना बताउँछिन् । उनी यो सबै ‘एक चमत्कार’ मान्छिन् । उनले भनिन्, ‘म ढुङ्गा पकाएर उनीहरुलाई भुलाउने प्रयास गर्दैछु भनेर बच्चाहरुलाई थाहा थियो । तर मसँग योबाहेक अरु विकल्प थिएन ।’ केन्यामा तीन सय ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा १९ जनाको ज्यान गएको छ । एजेन्सी


Facebook Comment


No ads found for this position