आपतमा चाहिने त गाउँ नै रहेछ !

गोविन्द देवकोटा

गत वर्ष जेठ पहिलो साताको कुरा। म आफ्नो जागिरको सिलसिलामा काठमाडौं आए। नेपालगन्जबाट जहाज ढिला हुँदा राति ९ बजेतिर काठमाडौं ओर्लिएँ। राति भएकाले त्यस दिन सीधै होटलमा पुगेँ। भोलिपल्ट साथीलाई फोन गरेर भेट्न आग्रह गरेँ। ऊ एक दशकदेखि काठमाडौंमै बस्दै आएको थियो। धेरैपछि आफ्नो सहपाठीसँग भेट हुने भएकाले मनभित्र बेग्लै उत्साह थियो। 

बितेका ती बालापनका याद पुनर्ताजगी गर्ने सोच थियो। साथी पनि फोन गर्नेबित्तिकै मैले भनेकै ठाउँमा भेट्न आयो स्कुटी लिएर। हामी दुवै सुन्धाराछेउको एउटा होटलमा कफी खान बस्यौं। पहिलो वाक्यमै मैले सोधिहालेँ, ‘यतिका लामो समयसम्म तिमी घर गएका छैनौ। तिमीलाई गाउँको याद आउँदैन र ?’ मेरो प्रश्नमा उसले निधार खुम्च्याउँदै भन्यो, ‘गाउँको याद त आउँछ नि ! तर गाउँ फर्केर के नै गर्न सकिन्छ ? त्यहाँ न कुनै सेवा सुविधा न करिअर नै। फेरि ती गाउँका मान्छेसँग न खाने ढंग छ, न लाउने नै।’ उसको उत्तरले एकछिन त मलाई झनक्कै बनायो। पछि घोत्लिएर सोच्दा मलाई पनि लाग्यो, उसले भनेको ठीकै त हो नि। राम्रो अवसर भइदिएको भए म पनि किन यहीँ खाल्डोमा आउँथेँ र? 

उसको करिअरको कुराले मलाई सोच्न बाध्य बनाए पनि गाउँका मानिस खान-लाउनै जान्दैनन् भन्ने कथनप्रति भने असहमति जनाएँ। अनि भनेँ, ‘तिमीलाई त गाउँ चाहिँदैन कि क्या हो ?’ 
उसको प्रत्युत्तर थियो, ‘यदि म यहाँ नआएको भए अहिले पनि ती गाउँका गँवारजस्तै घरभित्रै थन्किरहेको हुन्थेँ। यहाँ धेरै मानिसले मलाई चिन्छन्, एक कल फोन गर्दा सबै काम हुन्छ। गाउँमै भएको भए मलाई कसले चिन्थ्यो र ?’ म भर्खर काठमाडौं आएकाले पनि होला, आफ्नो ठाउँ र राजधानीबीचको अन्तर छुट्याउने खासै भेउ पाइनँ। प्रायः म उसलाई फोन गरिरहन्थेँ। जहिले उसलाई गाउँ फर्किने कुरा गर्थें। उसले भन्थ्यो, ‘मेरो करिअर अब यहीँ छ। गाउँ फर्किन कुनै आवश्यक छैन।’ 

दसैंपछि खासै हाम्रो फोन सम्पर्क भएन। चैतको पहिलो साता उसको फोन आयो। यताबाट मैले हेलो भन्न नपाउँदै उसले भन्यो, ‘अरे यार कोरोना भाइरसले साह्रै तनाव हुने भयो, गाउँ फर्किनुपर्‍यो, त जाने होइनस् र ?’ 

‘मेरो अफिस बन्द हुँदैन। म जाँदिनँ तर, त चाहिँ किन गाउँ फर्किन लागेको नि ?’ मेरो प्रश्न थियो। ‘होइन, यार यहाँ त अब केही पनि पाइन्न रे, सबै बन्द हुन्छ । यहाँ त बाँच्न पनि गाह्रो हुन्छ। बरु गाउँ हिँड्, रुखोसुखो जे भए पनि बाँडेर खाउँला। कमसेकम गाउँमा ऐँचोपँैचो त चल्छ नि ? यहाँ भोकै मरे पनि कसले वास्ता गर्छ र ?’उसको जवाफ थियो। मैले जान नपाउने भनेपछि ऊ७ गते नै घरतिर हिँड्यो।

एउटा चलचल्तीको भनाइ छ— बाहिर जतिसुकै रमाए पनि साँझ परेपछि चराले आफ्नै गुँड खोजेर फर्किन्छ। मलाई पनि लाग्यो। सहज हुँदासम्म राजधानीमै रमाएको मेरो साथीले आखिर आपत्मा भने आफ्नै गाउँ सम्झियो। ती बा-आमा सम्झियो। जुन कुरा उसले खुट्टा ठेस लाग्दा मात्र सम्झिने गथ्र्यो। अनिकाल नै लागे पनि गाउँमा सहरियाजस्तो ढोका बन्द गरेर बस्ने परीपाटी अहिलेसम्म चलेको छैन। छरछिमेकमा एकअर्काप्रति दयाभाव र सद्भाव देखिन्छ। आफ्नो घरमा अन्नको दाना नै नभए पनि भोकै मर्नुपर्ने स्थिति आउँदैन। 

कोरोना भाइरसको महामारीले अहिले विश्व नै आतंकित बनेको छ। यतिबेला सबै आफ्नो गाउँ फर्किन चाहन्छन्। किनकि गाउँमा सहरजस्तो उकुसमुकुसमा बस्नुपर्ने स्थिति हुँदैन। स्वास्थ्य, शिक्षा तथा विकासका अन्य पूर्वाधारहरूको पहुँच नभए पनि गाउँमा सामाजिक सद्भाव र एकलाई आपत् पर्दा अर्कोले सहयोगको हात अघि बढाउँछन्। गाउँ यस्ता महामारी र भव्यतव्य घटनाबाट यस मानेमा पनि केही हदसम्म सहरमा सुरक्षित छ कि त्यहाँ सहरमा जस्तो घरहरू एक आपसमा टाँसिएर बनाइएका हुँदैनन्। 

कक्षा ३ पढ्दा पहिलोपटक म सदरमुकाम गएको थिएँ। त्यहाँ मैले लस्करै घर देखेँ। साँझ घर फर्किएपछि बालाई सोधेँ, ‘बा बजारमा त मानिसको लाइनजस्तै घर एक आपसमा टाँसिएका छन्, गाउँमा किन एक घरदेखि अर्को घरसम्मको दूरी यति धेरै फरकमा हुन्छन् ?’ 

बाले हाँस्दै भन्नुभयो, ‘घर भनेको परिवारको सुरक्षा कवज हो, टाँसिएर बनेका घरहरू सुरक्षित हुँदैनन्। एउटा घरमा आगलागी भयो भने, पूरै गाउँ नै त्यसको चपेटामा आउँछ। आगलागीबाट सुरक्षाका लागि पनि पनि घरहरू निश्चित दूरीको फरकमा बनाउनुपर्छ।’ 

यतिमात्र होइन, गाउँतिर घर लगाउँदा कम्तीमा पनि आफ्नो घरको छतमा राखेको वस्तु हावाले उडाउँदा पनि आफ्नै बारीमा खस्नुपर्छ। यसबाट के बुझ्न सकिन्छ भने, त्यसबेला घरमात्र होइन, आफ्ना मालसामानको सुरक्षाका लागि पनि केही दूरीको फरकमा घर बनाउनु आवश्यक हुन्छ।

गाउँमा के छ र ? भन्दै सहर पसेकाहरू पनि संक्रमणको त्रासले गाउँ फर्किएका छन्। सहरमा घरभित्रै थुनिएर उकुसमुकुस भइरहेका बेला गाउँ फर्केकाहरू भने खेतबारीमा काम गर्दै गरेको सेल्फी पोस्टिँदैछन्। यसले सहर नै संसार हो भन्नेहरूलाई पनि स्वतन्त्रताको त्यो सेल्फीले गिज्याइरहेको छ। 


Facebook Comment