लकडाउनपछि होटल व्यवसाय यसरी माथि उस्किन्छ ?

काठमाडौं–गत पुसदेखि चीनको वुहानबाट सुरु भएको कोभिड–१९ (कोरोना भाइरस) कारण विश्वका सबै देश आतंकित बनेका छन् । विश्वका शक्तिशाली भनिने राष्ट्रहरुको भाइरसविरुद्ध भ्याक्सिन निर्माणमा जुटिरहेका छन् । अझै केही समय विश्व पूरै लगडाउनको स्थितिमै रहने हो भने, यसको नियन्त्रणपछि अर्को महाबिपत्ति भित्रिनेछ ।
त्यो हो भोकमरी । विश्व स्वास्थ्य संगठनले पनि यसअघि चेतावनी दिइसकेको छ । गरिब देशहरुमा त अहिले पनि भोकमरीको स्थिति कायमै छ । आजसमात्रै केन्यामा एक जना महिलाले आफ्ना बालबालिकालको भोक शान्त पार्न नसेपछि भुलाउनका लागि ढुंगा पकाएको खबर आएको छ ।
एक वर्षसम्म मात्रै लकडाउन भएदेखि हाम्रो स्थिति पनि त्यही नहोला भन्ने सकिँदैन । त्यसैले अहिलेदेखि नै सबैले यसतर्फ सोँच्नुपर्ने देखिन्छ । अब अर्को कुरा गरौं । नेपालको अर्थतन्त्रमा समृद्धिको आधार बोकेको पर्यटन व्यवसाय अहिले चौपट नै बनेको छ । त्यसभित्र पनि ठूलो हिस्सा होटल व्यवसायले धानेको छ । यहाँ हजारौं मजदुरहरु कार्यरत छन् । तिनिहरुसँग आश्रित परिवार लाखौं छन् । अहिले उनीहरु सबैको रोजीरोटी खोसिएको छ ।
कम्पनीहरु पनि व्यवसाय नहुने भएपछि बन्द होटलभित्र लागेका माकुराको जालो पन्छाइरहेका छन् । हामीले केही दिनअघि बाट लकडाउनपछि नेपालको पर्यटन क्षेत्रको भविष्य के हुने त ? खस्केको अहिलेको पर्यटनलाई माथि उकास्ने र आर्थिक समृद्धिको मुख्य आधार बनाउन के गर्नुपर्छ भन्ने विषयमा सम्बन्धीत, व्यवसायी, नेतृत्वकर्ता र सरकारी निकायका प्रतिनिधिहरुसँग छलफल गरिहेका छौं ।
हाम्रो आजको शृंखलामा पर्यटकीय नगरी पोखरा र त्यहाँको पर्यटन व्यवसायको भविष्य कता जाने त भन्ने विषयमा पोखराका होटल व्यवसायी नरेश भट्टराईसँग कुराकानी गरेका छौं ।

होटल सुरक्षालाई पहिलो प्राथमिकता

एक महिनादेखि पूरै बन्दाबन्दीको स्थिति छ । केही पहिले आएका पर्यटक पनि लकडाउन सुरु हुनुअगावै फर्किहाले । पोखरा पर्यटकीय सहर हो । यहाँ अधिकांश अनुहार विदेशीकै देखिन्थे । तर अहिले बाटोमा एक जना पनि भेटाउन मुस्किल छ ।
यो दशककै पहिलो स्थिति होला यो । यति लामो समयसम्म कोठाभित्रै थन्किएर बस्नु परेको छ । पोखरामा मात्रै पर्यटन क्षेत्रमा करिब चार खर्ब लगानी भएको छ । भ्रमण वर्षलाई लक्षित गरेर यति धेरै लगानी भएको थियो । तर, लकडाउनका कारण सबै सपना ध्वस्त भयो ।
अब अहिलेको स्थितिमा पर्यटक आउन् भन्ने पनि होइन । पहिले त बाँच्नुपर्यो । नबाँचे कोसँग व्यवसाय गर्ने हो र ? त्यसैले अहिले स्वास्थ्य सुरक्षा नै सबैभन्दा ठूलो हो । सरकारले सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ ।
नेपालमा कोरोना संक्रमितको दर अन्यभन्दा निकै कम छ । भएकामध्ये पनि धेरै निको भएर घर फर्किँदैछन् । मृत्यु भएको अवस्था भने छैन । सरकारले अहिलेकै स्थिति कायम राखेर अझै स्वास्थ्य सुरक्षा बढाउनुपर्छ ।
अहिले पर्यटन क्षेत्र थिलोथिलो भएको अवस्थामा छ । अझै दुई वर्षजति त लकडाउनपछि पनि सामानय अवस्थामा फर्किन सक्ने अवस्था देखिँदैन । त्यसैले अहिले मैले सुनेअनुसार सरकारले आन्तरिक पर्यटनलाई जोडतोडका साथ अगाडि बढाउने योजना बनाएको भन्ने छ ।

अहिलेको स्थितिमा पर्यटक आउन् भन्ने पनि होइन । पहिले त बाँच्नुपर्यो । नबाँचे कोसँग व्यवसाय गर्ने हो र ? त्यसैले अहिले स्वास्थ्य सुरक्षा नै सबैभन्दा ठूलो हो । सरकारले सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ ।


यस्ता योजनाहरु बनाउँदै गर्दा छुटेको मुख्य पाटो भनेकै होटल व्यवसाय क्षेत्र हो । खाली माथि उकास्ने योजना मात्रै बनाएर हुँदैन । सबैभन्दा संवेदनशील क्षेत्र नै होटल व्यवसाय हो । यहाँ एक जनालाई संक्रमण देखियो भने, एकैपटक एकसय जना जोखिममा आउँछन् ।
हामी काम गर्न तयार छौं । सरकारले हाम्रा लागि होटलमा कसरी सुरक्षित हुन सकिन्छ भन्ने तालिम दिनुपर्छ । अहिले स्यानिटाइजर पनि अन्य रोगको संक्रमणका लागि जोखिम छ भन्छन् । हामी एउटा महामारी नियन्त्रण गर्ने प्रयास गर्दै गर्दा अर्को संक्रमण त निम्त्याउँदै छैनौं भन्नेतर्फ पनि सोँच्न जरुरी छ ।
बजारमा स्वास्थ्य सामग्री नै पाइँदैन । संक्रमण निर्मुल पार्ने सामग्री सरकारले सहज रुपमा उपलब्ध गराउन सक्नुपर्यो । यसका लागि योजना बनाउन हामीले सरकारसँग माग गरिरहेका छौं । हाम्रा नेतृत्वकर्ताले पनि यतातर्फ ध्यान दिनुपर्छ ।

अर्बौं लगानी संकटमा

पर्यटकीय नगरी पोखरामा यस वर्षमात्रै पर्यटनको क्षेत्रमा करिब चार अर्ब लगानी भएको आंकलन गरिएको छ । तथ्यांक अनुसार नेपालमा आउने जम्मा पर्यटकमध्ये ४० प्रतिशत पोखरामै पुग्छन् ।
भ्रमण वर्षको सुरुवात भएपछि हामीले होटल बुकिङ खुला गरेका थियौं । अप्रिल–मे सम्मका लागि होटलहरु बुकिङ भएका थिए । सरकारले २० लाख पर्यटक भित्र्याउने बताउँदै गर्दा यहाँका होटलमा बुकिङको दर हेर्दा हामीलाई पनि लागेको थियो, यस वर्ष भने यो लक्ष्य पूरा हुन्छ ।
पर्यटकको आवागमन धेरै हुने देखेर देशभरका पर्यटन व्यवसायीले पोखरामै लगानी केन्द्रित गरेका थिए । मैले मात्रै करिब १० करोड लागतमा बार सञ्चालनमा ल्याएको थिएँ । अहिले ती सबै बन्द अवस्थामा छन् ।
सरकारले सहुलियत दिनुपर्छ ।


हामीले बनाएका संरचना त जस्ताको त्यस्तै रहलान् । पछि प्रयोगमा आइहाल्छन् । तर, ती बनाउन हामीले ऋण लिएका छौं । अब ऋण कसरी तिर्ने भन्ने चिन्ता भएको छ । सरकारले असारसम्मलाई मात्र लोन तिर्ने मिति होल्ड गरेको छ ।
अब यो कोरोनाको कहर अन्त्य हुने कहिले हो कहिले पत्तो छैन । त्यसैले सरकारले स्थिति सामान्य नहुँदासम्म ऋण तिर्ने मिति होल्ड गर्नुपर्छ । अस्ति राष्ट्र बैंकले दुई प्रतिशत ब्याजदर त घटाएको छ । तर, सबै कारोबार बन्द भएको अवस्थामा यतिले मात्र पुग्दैन ।
यदि सरकारले अहिले नीतिगत सुधार गर्न सकेन भने, भोली करोडौं खर्चेका संरचनाहरु हामीले लिलाम गर्नुपर्ने अवस्था आउनसक्छ । त्यसले गर्दा पर्यटन क्षेत्रमा लगानी गर्न कोही अगाडि आउँदैनन् । सरकारलाई घाटा हुन्छ । यसतर्फ सोँच्नुपर्छ ।

कृषि क्षेत्र जतिकै प्राथमिकतामा राख्नुपर्छ

सरकारले कृषि क्षेत्रलाई ठूलै प्राथमिकतामा राखेको छ । यहाँ सहुलियतमा ऋण प्रवाहदेखि अन्य सुविधाहरु छन् । तर, पनि बर्सेनि उत्पादनमा बृद्धि हुन सकेको छैन । यदि पर्यटन क्षेत्रमा पनि सँधै भन्न खोजेको होइन, केही समय मात्रै सहुलियत दिइयो भने, यसले देशमै लाखौं रोजगारी सिर्जना गर्नेछ ।
स्थिति सामान्य नहुँदासम्म पाँच प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्छ । अनुदानको व्यवस्था पनि गर्नुपर्छ । अनि मात्र यहाँ आकर्षण बढ्छ । ग्रामीण पर्यटनका लागि सहुलियत दिनु आवश्यक हुन्छ । नत्र, करोडौं लगानी लिएर कोही पनि जान तयार हुँदैनन् । सरकारले त्यसका लागि विभिन्न आकर्षणका योजना नल्याइ हुँदैन ।
तर, जति कुरा योजनाहरु बने पनि हाम्रो पहिलो प्राथमिकता सुरक्षा र सचेतनामै हुनुपर्छ । सरकारले सबै क्षेत्रमा सचेतनाका अभियानहरु चलाउनुपर्छ । हामी सुरक्षित छौं भन्ने सन्देश दिनसके मात्रै बाहिरका मानिस ढुक्कले यहाँ घुम्न आउने वातावरण बन्छ ।
हामीलाई सरकारले सुरक्षित कसरी रहने भन्ने बारे तालिमहरु दिनुप¥यो । कसरी स्यानिटाइजर गर्ने, कति मिनेटमा औषधि छर्कने, त्यस्ता सामग्रीहरु सहुलियतमा उपलब्ध गराउने अथवा कतिसिदन मान्छे राखेपछि कोठा खाली गनुपर्ने हो यस्ता कुरामा प्राविधिक ज्ञान दिनुप¥यो ।


Facebook Comment


No ads found for this position