यस्तो हुनु पर्दछ लकडाउनपछि…..

विश्वजगत अहिले कोरोना भाइरसको महामारीको कारणले आक्रांत छ । यसको संक्रमण दिनकादिन बढ्दो छ । मानिसको मृत्युको ग्राफ ठाडो रेखामा चढीरहेको छ । यूरोपकाइटली, फ्रान्स, स्पेन, बेलायत, जर्मनी जस्ता प्रमुुख राष्ट्रहरूमा यसले खुला ताण्डप नृत्य प्रर्दशन गर्दै अहिले महाशक्ति राष्ट्र अमेरीकालाई सबैभन्दा बढी चुनौती दिइरहेको छ ।
नेपालमा हालसम्म मानवीय क्षति भइनसकेको भए पनि संक्रमितको संख्या बढ्दै गइरहेको देखिन्छ । अहिलेसम्म विश्वको आमचासो जनस्वास्थ र नागरिकको जीवनको रक्षा पहिलो प्राथमिकता बनेर आए पनि समय क्रममा यसको गम्भिर असर आर्थिक र सामाजिक क्षेत्रमा देखा पर्न थालेको छ । यस महामारीबाट आर्थिक जगतका सबै क्षेत्र प्रभावित बने पनि सबैभन्दा बढि प्रभावित बनेको भनेको पर्यटन क्षेत्र हो ।
यसले पर्यटन क्षेत्रको मुटुमा नै प्रहार गरेको छ । घुम्ने, डुल्ने, खाने र रमाउने क्रियाकलाप पर्यटनको आत्मा मान्ने हो भने अहिले यस महामारीले यस्ता क्रियाकलामा नै ताल्चा लगाइदिएको अवस्था छ । विश्वमा अधिकांश देशहरू अहिले जनस्वास्थ्यको सुरक्षाको लागि लकडाउनको अवस्थामा छन् । सीमा नाकाहरू बन्द छन् । हवाई सेवा, होटल, रेष्टुरेन्ट, क्लब प्रायः ठप्प छन् । मानिसमा एक खालको त्रासको वातावरण छ । नेपालले पनि लकडाउनको नीति अख्तियार गरेको महिना दिनभन्दा बढी भइसकेको छ र पर्यटन क्षेत्रमा धेरैको रोजगारी गुमेको अवस्था छ ।

नेपालले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउँदै गर्दा सबै ढोकाहरू बन्दगरी त्यसको ठीक उल्टो दिशातर्फ अगाडि बढ्नु पर्यटन क्षेत्रको लागि कम पीडादायक थिएन । हाम्रो मुख्य पर्यटकीय सिजन सुरु हुनै लाग्दा हाम्रा सबै नाकाहरू बन्द गरी घरमा बस्नु परेको अवस्था हो । यो अवस्था नेपालमा पर्यटनको सुरुवात भएको विगत पचास वर्षको इतिहासमा सबैभन्दा पीडादायक अवस्था हो । अहिले पर्यटन क्षेत्रमा व्यवसायी र यसमा आवद्ध सबै पक्षको आत्मविश्वास डगमगाएको अवस्था छ ।
पर्यटन क्षेत्रमा आवद्ध श्रमिकको अहिले चुल्हो जल्नसक्ने अवस्था छैन । यसरी पर्यटन क्षेत्र प्रभावित बन्दा देशको समग्र आर्थिक तथा सामाजिक पक्ष खलबलिने अवस्थामा छ । औधोगिक सम्बन्ध खलबलिने अवस्थामा छ । पर्यटन क्षेत्रमा विगत पचास वर्षको खर्बौंको लगानीलाई डुब्न नदिन तथा यस क्षेत्रमा निर्भर लाखौंको रोजीरोटीको सुरक्षाका लागि तत्काल केही संरक्षण र पुर्नजीवनका कदमहरू चाल्नै पर्ने देखिन्छ जसलाई तीन चरणमा विभाजन गरी प्रस्तुत गर्ने जर्मको गरिएको छ ।

पहिलो चरण ः

यस चरणलाई देशमा आन्तरिक लकडाउन हँुदासम्मको अवधिलाई मान्नुपर्ने हुन्छ । यस अवस्थामा पर्यटन क्षेत्रका सबै सेवा बन्द रहने भएकोले यस अवधिलाई यस क्षेत्रमा दैनिक ज्यालादारीमा निर्भर रहने तथा रोजगार गुमेका श्रमिकहरूलाई सम्बन्धित मजदुर प्रतिनिधि तथा रोजगार दाताको अग्रसरतामा स्थानीय निकायमार्फत राहत वितरण गर्ने कार्यलाई तदारुकता दिने ।
मासिक पारिश्रमिक पाउने कर्मचारी तथा मजदुरलाई रोजगारदाताले परिश्रमिक भुक्तान गर्ने र रोजगारदाताले श्रमिकलाई गरेको संरक्षणको नीतिको आधारमा रोजगारदातालाई विभिन्न सहुलियतका कार्यक्रहरू अगाडि सार्ने । यस्तै, बिजुली, पानी, घरवहाल कर आदीमा छुट दिने । बैंकको ब्याजमा सहुलियत दिने । कम्पनीका कागजातहरूको नविकरण तथा विलम्ब शुल्क मिनाह गर्ने ।
कम्पनीले निर्धारण गरेको सामाजिक सुरक्षाका कार्यक्रमहरूमा रोजगारदाता तथा श्रमिकको हिस्सा सरकारले जिम्मा लिने । पारिश्रमिक कर कट्टा नगर्ने जस्ता राहतमुलक कार्यक्रमहरू अगाडि बढाउने । पर्यटन क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संलग्न सबै रोजगारदाता तथा श्रमिकलाई समेट्ने गरि कार्यक्रम अगाडि बढाउने । यस्ता राहतका कार्यक्रमहरू अगाडि बढाउँदा गत वर्ष कम्मनीले सम्बन्धित निकायमा पेश गरेको प्रगति विवरणमा उल्लेखित कामदार तथा कर्मचारीको विवरण, आर्थिक कारोबार तथा सरकारलाई बुझाएको कर आदिलाई आधिकारिक मान्न सकिन्छ ।
यी उल्लेखित कुनै—कुनै कार्यक्रमहरू कार्यान्वयनको चरणमा पनि दखिएका छन् । जुन पर्याप्त नभएको जस्ता गुनासाहरू आएका छन् । यसलाई अझ व्यापकता दिँदै थप क्रियाशील र प्रभावकारी कार्यान्वयन र अनुगमनको खाँचो देखिएको छ । अबको राहत वितरण कामको आधारमा गर्ने सरकारको पछिल्लो कदम सह्रानीय मान्न सकिन्छ ।

दोस्रो चरण ः

यो चरण भनेको आन्तरिक लकडाउन खुलेको अवस्था र बाहिरी नाकाहरू र अन्तर्राष्टिय« हवाई सेवा नखुलेको अवस्था भनेर बुझिनु पर्दछ । यस अवस्थामा आन्तरिक दैनिक जनजीवन सामान्यीकरणतर्फ उन्मुख हुनेछ । आन्तरिक आर्थिक गतिविधिहरू बढ्ने छन् । केही सावधानीका मापदण्डहरू अपनाई रेष्टुरेन्ट तथा होटेलहरू खोल्न सकिने छ । आन्तरिक हवाई सुविधाहरू सुचारु हुने छन् ।
लामो समयसम्म घरमा लकडाउनको चपेटामा परेका मानिसहरू घुम्न रमाउन खोज्नेछन् । लामो समयसम्म थाति रहेका कामहरू गर्नुपर्दा मानिसको चहलपहल बढ्नेछ । यस अवस्थाबाट पर्यटन क्षेत्रलाई अधिकतम लाभ दिलाउनको लागि सरकार तथा निजी क्षेत्रबाट केही राहत तथा प्रवद्धनात्मक मुलक कार्यक्रहरू अगाडि बढाउन सकिन्छ ।
आन्तरीक हवाई जहाज कम्पनीहरूले आफ्नो सञ्चालन खर्चमात्र उठ्ने गरी एकल भाडा निर्धारण गर्न सक्नेछन् । यसवापत सरकारले हवाई कम्पनीलाई विभिन्न माध्यमले सहुलियत प्रदान गर्न सक्नेछ । होटल तथा रेष्टुरेन्टले पनि आफ्नो सञ्चालन खर्च उठ्ने.गरी नयाँ दररेट अगाडि सार्न सक्छन् । जसबाट आफ्नो व्यवसाय तथा कामदार कर्मचारी जोगाई राख्न टेवा मिल्ने छ ।
सरकारले पनि यस अवधिलाई पर्यटन क्षेत्रमा ट्याक्स होलिडेको रुपमा छुट लिनसक्यो भने सम्बन्धित व्यवसायी, मजदुर तथा लकडाउनको चपेटामा परेका नागरिकलेसमेत केही राहत पाउन सक्ने अवस्था रहन्छ र आर्थिक गतिविधि पनि चलायमान बन्न सक्छ । नेपाल भ्रमण वर्ष मनाउनको लागि विनियोजन भएको बजेट तथा थप बजेटकोसमेत व्यवस्था गरी सरकारी तथा गैह्रसरकारी संस्थाका आफ्ना कार्मचारीलाई खर्च व्यवस्थासहित पे–लिभमा भ्रमणमा लागि पठाएर आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सकिन्छ ।


अन्तर्राष्ट्रिय पर्यटन बजारमा यस महामारीको समस्या रहिरहेको अवस्था र नेपालमा मुख्य पर्यटकीय सिजन पनि समाप्त भइसकेको हुनाले अन्तर्राष्ट्रिय बजारमा निर्भर पर्यटन क्षेत्र जस्तै पदयात्रा, पर्यटन पर्वतारोहण आदिमा निर्भर व्यक्ति तथा संस्थाले भने यस अवसरबाट कुनै लाभ प्राप्त गर्नसक्ने छैनन् । अन्तर्राष्ट्रिय पर्यटन बजार लामो समयसम्म प्रभावित रहने अवस्था रहेकोले यसमा निर्भर ब्यक्तिहरूलाई समेट्नका लागि पारिश्रमिक कर, घरबहाल करमा छुट, बत्ति, पानी, प्रमाणपत्र नविकरण तथा विलम्ब शुल्क आदिमा छुटका कार्यक्रमहरू अगाडि बढाउन सकिन्छ ।
मासिक पारिश्रमिक पाउन असमर्थ भएका तर रोजगार सम्बन्ध नटुटेका कामदार कर्मचारीको दैनिक जीविकाको लागि सामाजिक सुरक्षाकोष, नागरिक लगानीकोष तथा संचयकोषमा जम्मा गरेको रकम संचयकर्तालाई सामान्य सेवा शुल्क लिएर बिनाब्याज मासिक रुपमा निकाल्नसक्ने ब्यवस्था गर्न सकिन्छ । यस अवधिमा नेपाल राष्ट्र« बैंकले पर्यटन क्षेत्रमा सहुलियतपुर्ण कर्जा कार्यक्रम अगाडि बढाउन सक्यो भने व्यवसायीले थप लगानी गर्दै आफ्नो प्रोडक्टलाई अपग्रेट गर्न र आफ्ना श्रमिकलाई पनि काम दिन सक्नेछन् ।
यसबाट भोलीका दिनमा नेपालमा पर्यटनको गुणस्तर सुधार्न यस क्षेत्रमा निर्भर श्रमशक्तिलाईसमेत जोगाई राख्न सकिन्छ । टे«किङ, ट्राभल तथा पर्वतारोहण क्षेत्रमा निर्भर श्रमशक्तिलाई पदयात्रा मार्गको सुधार तथा सरसफाई हिमालको फोहरमैला सरसफाइ, ऐतिहासिक तथा पुरातात्विक महत्वका क्षेत्रको सरसफाइ तथा पुननिर्माण गर्ने जस्ता कार्यक्रमहरू अगाडि बढाई रोजगार सिर्जना गर्न सकिन्छ । पदयात्रा पर्यटन क्षेत्रमा संलग्न जनशत्तिलाई वर्तमान संकट मोचन कार्यको लागि टिम्सकोषको परिचालन पनि एउटा विकल्प हुन सक्छ ।

तेस्रो चरण ः


यो चरण भनेको विश्व जगतबाटै कोरोनाको त्रासबाट सामान्यीकरण बन्दै गई रहेको अवस्था तथा नेपालको अन्तराष्ट्रिय सीमा नाकाहरू र हवाइ सेवाहरू सुचारु भएको अवस्था हो । यस अवस्थामा नेपालको पर्यटन क्षेत्रमार्फत नेपालको समग्र अर्थतन्त्र चलायमान बनाउन थप पहल गर्नुपर्ने हुन्छ । नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई स्थगित गरी २०२२ मा सारेको अवस्था छ । त्यसलाई फोकस गरी अन्तर्राष्ट्रिय पर्यटन बजारमा व्यापक पर्यटन प्रवद्र्धनका कार्यक्रमहरु अगाडि बढाउनुुपर्छ ।
हाम्रा पर्यटन पूर्वाधार विकासका कार्यक्रमहरूलाई निरन्तर दिँदै सुधारको लागि थप तदारुकता दिनुपर्दछ । अहिलेको नोवल कोरोनाको भाइरसको कारणले विश्व पर्यटन क्षेत्रको स्वरुपमा परिर्वतन आउन सक्छ त्यसको सुक्ष्म अध्ययन गर्न जरुरी छ । अन्तर्राष्ट्रिय जगतको ध्यान हामीतर्फ मोड्न र हाम्रा प्याकेजहरूलाई सस्तो र सर्वसुलभ बनाउन कम्तिमा पनि एक वर्षसम्म हामीले पर्यटकबाट लिने भिसा शुल्क, विभिन्न बाहनामा हामीले उनीहरूबाट उठाउने पदयात्रा शुल्क, राष्ट्रिय निकुञ्ज तथा संरक्षण प्रवेश शुल्क, टिम्स आदि जस्ता शुल्कहरू स्थगित गरिनु राम्रो हुनेछ, जसबाट विश्वमा आर्थिक मन्दिको मारमा परेका पर्यटकलाई नेपाल भ्रर्मणको लागि आकर्षित गर्न सकिने छ ।

अत्यमा…

पर्यटन नेपालको आर्थिक विकासको मेरुदण्डको हो र यसको उचित संरक्षरण र पुर्नजीवन अहिलेको अवश्यकता हो । अवश्य पनि संकटको यस घडीमा पर्यटन क्षेत्रले अहिले राज्यको अभिभावकत्व खोजेको छ । विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत तथा रोजगारीको ठूलो हिस्सा ओगटेको यस क्षेलाई जोगाइराख्न राज्यले अहिले यस क्षेत्रप्रति उदार नीति लिन सक्नुपर्छ । अहिले बजेट निर्माणको चरणमा पनि रहेकोले पर्यटन मन्त्रालय, पर्यटन बोर्ड तथा यस क्षेत्रको नीति निर्माण संलग्न रहने सम्पूर्ण निकाय, संघसंस्था तथा मजदुर प्रतिनिधि अहिले विशेष सक्रिय रही तथा एक जुट भएर पर्यटन क्षेत्रको यस महासंकटको निकास निकाल्न सक्नुपर्छ ।


Facebook Comment


No ads found for this position