लकडाउनपछि राराको पर्यटन माथि उकास्न

काठमाडौं– कोरोना भाइरसको महामारीका कारण विश्वभर दुई लाख ३५ हजार मानिसको मृत्यु भइसकेको छ । यस्तै, ३५ लाख मानिस संक्रमित बनेका छन् । विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र भएका युरोप र अमेरिका सबैभन्दा बढी कोरोना संक्रमणबाट प्रभावित बनेका छन् ।
नेपालमा पनि भाइरसको संक्रमण देखिएपछि लकडाउन जारी गरेको डेड महिना भइसकेको छ । यस अवधिमा सम्पूर्ण जनजीवन अस्तव्यस्त बनेको छ । यतिबेला खस्केको अर्थतन्त्र र जनजीवन कसरी सामान्य बनाउन सकिन्छ भन्ने बहस चलिरहेको छ । लकडाउन खुलेपछि विश्व अर्थतन्त्र सामान्य अवस्थाबाट अगाडि बढ्न सक्ने अवस्था छैन ।
शक्तिशाली राष्ट्रहरु पनि महामारी अन्त्यपछि कसरी नयाँ योजनाका साथ अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्दैछन् । यस्तोमा विकासउन्मुख देश नेपाललाई पनि ठूलो चुनौती छ । हामी केही दशकयता अत्यन्तै परनिर्भर बनेका छौं । यहाँसम्मकी भान्साको खुर्सानीदेखि लगाउने कपडासम्म आयातकै भरमा छौं ।
नेपालमा आम्दानी हुने भनेको रेमिट्यान्स हो । रेमिट्यान्सलाई आन्तरिक आम्दानी मान्न सकिँदैन । यो त बाहिर कामदारका रुपमा गएका नेपालीले पठाएको रकममा आधारित हुन्छ । नेपालको आन्तरिक आम्दानी हुने भनेको दुई क्षेत्र हुन् । कृषि र पर्यटन । कृषिबाट पनि जति प्रयास गरे पनि हामी निर्यातमुखि हुन सकेका छैनौं ।
दोस्रो र मुख्य क्षेत्र हो पर्यटन । पर्यटन व्यवसायमा हामीले बाहिरबाट घुम्न आउने पर्यटकबाट आम्दानी गर्न सक्छौं । ठूलै अपेक्षाका साथ भ्रमण वर्ष घोषणा गरे पनि लकडाउनका कारण पर्यटन क्षेत्रबाट आउने आम्दानी पनि ठप्प बनेको छ । सहरी पर्यटनदेखि ग्रामीण पर्यटनसम्म सबै बन्द भएको अवस्था छ ।
यस्तो स्थितिमा लकडाउन खुले पनि नेपालको पर्यटन क्षेत्र तत्कालै चलायमान हुने अवस्था छैन । त्यसका लागि ग्रामीण पर्यटनको बहस चलिरहेको छ । जहिले पनि पर्यटन विकासको कुरा आउँदा निश्चित केही क्षेत्रको बारेमा मात्रै बहस हुन्छ । पोखरा, हिमाल र काठमाडौं केन्द्रित अभियानहरु मात्र चल्छन् ।
आजको शृंखलामा अथाह सम्भावना भएर पनि अपेक्षामा रहेको कर्णालीको रारा क्षेत्रको पर्यटनको विषयमा कुराकानी गर्दैछौं । नेपालकै ठूलो र स्वच्छ अनि सुन्दर रारा क्षेत्रको पर्यटनलाई कसरी माथि उकास्न सकिन्छ । यसबाट स्थानीय, प्रदेश र संघीय सरकारले कसरी लाभ लिन सक्छन् र स्थानीयको जनजीवनसँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा रारा पर्यटन विकास समितिका अध्यक्ष देविकृष्ण रोकायासँग कुराकानी गरेका छौं ।

पूर्वाधार विकास नै पहिलो प्रयास हुनुपर्छ

कर्णाली विगत लामो समयदेखि राज्यबाट पछाडी पारिँदै आएको छ । कर्णालीका नाममा विभिन्न अभियानहरु सञ्चालन गरे पनि तिनले ग्रामीण क्षेत्रसम्म प्रभाव पार्न सकेनन् । पर्यटन विकासको हरेक बहस चलाइँदा हिमाल, पोखरा र काठमाडौंका क्षेत्रका विषयमा मात्रै बहस हुन्छ । यीबाहेक अन्यत्र क्षेत्रमा पनि थुप्रै सम्भावना बोकेका क्षेत्रहरु छन् । यतातर्फ कसैको ध्यान जाँदैन ।
हामीले लामो समयदेखि उपत्यकाबाहिरका पर्यटकीय क्षेत्रका विषयमा पनि योजना बनाएर कार्यान्वयन गर्न अनुरोध गर्दै आएका छौं । तर, पहुँच नभएकैले होला अहिलेसम्म कुनै पहल भएको पाँदैन । राज्यको सौतेनी व्यवहारका रुपमा थन्क्याएको कर्णाली क्षेत्रमा अब्यस्थीत राराको बेग्लै पहिचान छ । रारा नेपालको अकाटीय पुँजी हो । राराको गहिराहीले नेपालको छाती विश्वमा चौडा बनाएको छ । तर स्वर्गकी परीको तक्मा पाइसकेको रारालाई यतिबेला दुनियाँले बिभिन्न आँखाले हेरिरहेका छन् । कसैले मनको उदगारको रुपमा त कसैले मनोरन्जनका रुपमा हेरिरहेका र बुझीरहेका परिबेशमा निश्चल राराको नाममा केहि राज्यका उच्चपदस्थ भनाउदाहरु कमाइखाने भाँडो बनाउन खोज्दै छन् ।
रारा विकासका लागि पहिलो प्राथमिकता पूर्वाधार विकास नै हो । अहिले पनि एकपटक रारा गएको पर्यटक पुनः फर्केर जाने अवस्था छैन । कारण हो पूर्वाधार विकासको कमी । हामीले ठूलो–ठूलो योजना ल्याउन पनि भनेका छैनौं । तर, कम्तिमा रारासम्म पुग्ने बाटो त सहज बनाउनुपर्यो । करिब १४ वर्ष भइसक्यो कर्णाली राजमार्ग निर्माण भएको हो ।
तर, अहिलेसम्म त्यहाँको स्थिति सुधार भएको छैन । बाटोमा बस्ने खाने व्यवस्था पनि राम्रो छैन । सरकारले पहिलो त कर्णाली राजमार्गलाई नै सुधार गर्नुपर्दछ । यदि राजमार्ग सहज भयो भने, धेरै पर्यटक जानसक्छन् । जसले गर्दा यहाँको आम्दानीमा पनि बृद्धि हुन्छ । तर, यसका लागि राज्यले नेतृत्व लिनुपर्दछ ।

भाडामा सहुलियत दिनुपर्छ


राराको प्रभाव जतिकै सुन्दर छ, त्यहाँ पुग्न त्यति नै कठिन पनि छ । हामीले ग्रामीण पर्यटनको कुरा गर्दैगर्दा त्यहाँ पुग्न सहज भने छैन । सामान्य मानिस रारा लगायतका ठाउँमा जाने ल्याकत राख्न सक्दैनन् । त्यसैले हाम्रो नीति परिवर्तन गर्न आवश्यक छ । हामीले रारामा धेरै भन्दा धेरै पर्यटक भित्र्याउने कुरा गर्दैछौं । तर, यदि त्यहाँ पुग्ने वातावरण सहज भएन भने त्यो अभियान सम्भव हुन सक्दैन ।
अहिले एउटा पर्यटक काठमाडौंबाट रारा पुग्न करिब एक लाख खर्च हुन्छ । त्यस्तोमा केही पर्यटकबाहेक अरु जाँदैनन् । त्यो एक लाख रकमले नेपालमा अन्य अधिकांश पर्यटकीय क्षेत्र घुम्न, अनुसन्धान गर्न पुग्छ । त्यसैले हवाइ भाडामा पर्यटकलाई सहुलियत दिनुपर्छ । सहुलियत दिनसके मात्रै पर्यटकको बाक्लो उपस्थिति रहन्छ । मान्छे रारा हेर्न मात्रै जाने होइन कि त्यहाँ पुगेपछि त्यहाँको मौलिक संस्कृतिसँग पनि अवगत हुने मौका पाउनुपर्दछ । यसका लागि राज्यको लगानी आवश्यक छ ।

भिडियोमा काठमाण्डौदेखि रारा सम्मको यात्रा


स्थानीय पर्यटन व्यवसायीलाई प्रोत्साहन गर्नुपर्दछ । ठूला ठूला कम्पनीहरुलाई मात्र लगानी गर्न दिने अवस्थाले उनीहरुले आम्दानीको बाटो मात्रै हेर्छन् । तर, स्थानीयलाई अगाडि ल्याउन सके उनीहरुले स्थानीय विकासलाई पनि ध्यानमा राख्छन् । अहिले रारामाथि धेरैको आँखा गढेको छ । त्यो दोहनमै सिमित हुनेछ । त्यसैले पर्यटकीय क्षेत्रको सुरक्षासहितको योजना बनाउनुपर्दछ ।
अहिलेसम्म रारा विकासको लागि एउटा गुरुयोजनासम्म बन्न सकेको छैन । कम्तिमा पनि एक सय वर्षपछिको भविष्य हेरेर योजना बनाउनुपर्छ । अनि मात्र हाम्रो सम्पदा जोगाउनसक्छौं । स्थानीय सरकारलाई पनि हामीले पर्यटन क्षेत्रमा छुट्याइएको बजेटलाई केन्द्रिकृत गरेर लगानी गर्न आग्रह गरिरहेका छौं ।
अहिले केन्द्रबाट पर्यटन विकासका लागि जाने बजेट केही टोलमा साना मन्दिर बनाउनमै खर्च भएको देखिन्छ । त्यसले भोट तान्न त सजिलो होला तर, त्यसले स्थानीयको आयआर्जनसँग जोड्न सक्दैन । कर्णालीको ठूलो सम्पत्ती भनेकै रारा हो । यसलाई नमुना बनाउन सक्नुपर्छ ।

भारतीय पर्यटक आकर्षित गर्ने योजना बनाउनुपर्छ


हाम्रो सबैभन्दा नजिकको छिमेकी भारत हो । भारतबाट बर्सेनि लाखौं पर्यटक नेपाल घुम्न आउँछन् । तीमध्ये केही सयको संख्यामा बाहेक अरु पुगेको देखिँदैन । गत वर्ष नेपालमा करिब १५ लाख पर्यटक भित्रिएको तथ्यांक छ तर, त्यसको एक प्रतिशत पनि रारासम्म पुगेका छैनन् । त्यसको एउटै कारण महँगी हो ।
राजमार्ग जोखिमपूर्ण भएकाले सडकबाट जान मान्दैनन् । तर, हवाइ जहाजको भाडा पनि ज्यादै महँगो छ । त्यसलाई घटाउन सक्यौं भने पर्यटकलाई सहजै पु¥याउन सकिन्छ । वर्षमा ५० हजार जति मात्रै भारतीय पर्यटक रारा पु¥याउन सक्ने हो भने, त्यहाँको स्तर धेरै मािथ उस्किन्छ ।

सम्पदा जोगाउन चुनौती


केही वर्षअघिसम्म औंलामा गन्न सकिने मात्र पर्यटक रारामा पुग्ने गर्थे । तर पछिल्लो केही वर्षयता आन्तरिक पर्यटकको संख्यामा बृद्धि भएको छ । पर्यटक बढेसँगै राराको सुन्दरता पनि कुरुप बन्दै जान थालेको छ । यो सुन्दरता हाम्रा लागि मात्र हुँदैन । भविष्यका सन्ततिका लागि पनि जोगाउनु आजको मुख्य चुनौती हो ।
हिजो बागमती र पोखराका विषयमा एकसय वर्षअघि नै सोँचेको भए अहिले यतिविघ्न दुर्गन्धित बन्दैनथ्यो होला । त्यसैले राराका विषयमा पनि अहिलेदेखि नै सोँच्नुपर्छ । राष्ट्रिय निकुञ्ज पनि छ । त्यहाँ ताल परिसरमै सेना बसेको छ । सेनाले उत्पादन गर्ने फोहोर पनि तालमै मिसिन्छ । त्यस्तै ताल परिसरमै होटलहरु खुलेका छन् । तीनलाई समयमै विस्थापन गर्न सकिएन भने, भोली हामीले सुधार गर्न सक्दैनौं । सरकारले समयमै यसतर्फ ध्यान दिन सकेन भने, पछि पछुताउनुको विकल्प हुँदैन ।


राराको समग्र विकासका लागि एउटा अधिकार सम्पन्न रारा विकास प्राधिकरण समेत गठन गरेर जान नसकेको राज्यले यतिबेला सात तारे तथा विभिन्न होटलहरुको नाममा रारालाई कौडीको मूल्यमा बेचिदै छ । हुन त हामी राराबासी विकासका बाधक हैनौं । रारामा बनाउने साततारेदेखि विभिन्न होटलहरुको बजेटले समग्र कर्णालीको विकासलाई समाल्न सक्छ । जबकी कर्णालीमा यातायात सुविधासमेत पूर्ण नभएको बेला बिजुली बत्तिको पूर्वाधार तयार नभएको बेला साततारे तथा विभिन्न होटल खोल्ने योजना अगाडी बडाउनु जायज हुँदैन ।
पर्यटकहरुलाई भित्र्याउने एकमात्र ताल्चा एरपोट विश्वको खतरानाक विमानस्थल मानिन्छ । कर्णाली राजमार्ग मृत्युमार्गको रुपमा परिचित छ । यी क्षेत्र सुधार नगरेसम्म पर्यटक सुरक्षित रुपमा जान सक्दैनन् । अहिले लकडाउनको बेला यी संरचना सुधार गर्नु आवश्यक छ । पछि गरौंला भनेर हुँदैन । अहिले लकडाउनको समयमा हामीले राजमार्ग र विमानस्थल सुधार गर्न सक्यौं भनेमात्रै पनि लकडाउनपछि आन्तरिक पर्यटकको चहलपहल बढ्छ ।तस्विर देविकृष्ण रोकाय


Facebook Comment


No ads found for this position