आन्तरिक पर्यटकबाट ५३ अर्ब आम्दानी गर्ने

कोभिड–१९ का कारण जारी लकडाउनपछि आन्तरिक पर्यटकले गर्ने घुमफिरबाट ५३ अर्ब आम्दानी गर्न सकिने प्रक्षेपण गरिएको छ । सरकारले आयकरमा छुट दिए मात्रै पनि १८ लाख नेपाली आन्तरिक भ्रमणमा निस्किने भएकाले त्यसबाट ५३ अर्ब आम्दानी पर्यटन क्षेत्रले गर्ने प्रक्षेपण नेपाल पर्यटन बोर्डले गरेको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा नीतिगत व्यवस्था गरेमा १८ लाख मानिस घुमफिरमा निस्किने दाबी बोर्डले गरेको छ । 

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. धनञ्जय रेग्मीले पुनरुत्थानका लागि ३ वर्ष लाग्ने भएकाले पहिलो चरणमा आन्तरिक पर्यटकलाई प्रवद्र्धन गर्ने योजना बनाएको बताए । 

पर्यटन क्षेत्र विकासलाई २०१९ कै सरह बनाउन सन् २०२२ सम्म समयावधि लाग्न सक्ने बताउँदै सिइओले पर्यटन क्षेत्रले ५० प्रतिशत गति लिन दुई वर्ष लाग्ने उनले बताए । सोमबार बोर्डद्वारा आयोजित वेभिनार छलफलमा कोभिडको प्रभाव घटेलगत्तै आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिन आवश्यक रहेको उनले बताए । 

‘कुनै एउटा व्यक्तिलाई ५० हजार रुपैयाँसम्म आयकर छुट दिँदा १८ लाख आन्तरिक पर्यटक घुमघाममा जाने देखिन्छ, त्यसो हुँदा देशभर गतिवधि बढ्छ,’ सिइओ रेग्मीले भने । सरकारले घुम्न जानेका लागि आयकर छुट दिँदा गुमाउने भनेको ३ अर्ब रुपैयाँ हो । उक्त घाटा भ्रमणमा सहभागी आन्तरिक पर्यटकले तिरेकै करबाट पूर्ति हुने देखिन्छ । यसो गर्दा सरकारलाई समग्रमा ५४ करोड मात्रै घाटा हुँदा ५३ अर्ब खर्च आन्तरिक पर्यटकले गर्ने देखिएको रेग्मीले बताए ।  

कोभिड–१९ प्रभावबाट पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्नका लागि मुलुकले आफ्नै युनिक प्लान अवलम्बन गर्नु आवश्यक रहेको उनले बताए । पर्यटन बोर्डले गरेको अध्ययनअनुसार ३ लाख मजदुरमा प्रत्यक्ष प्रभाव पर्ने देखिएको छ । अप्रत्यक्ष पनि ठूलो संख्यामा रहेको सिइओ रेग्मीले बताए । ‘पर्यटन क्षेत्रमा खर्बौँको लगानी भएकाले यो क्षेत्रमा रिसर्च बेसमा आधारित रही वित्तीय अवस्था, ऋण, रोजगार संख्या पहिल्याउन आवश्यक छ,’ रेग्मीले भने । साभार नयाँपत्रीका


Facebook Comment


No ads found for this position