यी घटनाहरू छुटाए हाम्रो इतिहास अधुरो हुनेछ

चिवाभन्ज्याङको बाटो भएर सिक्किम र दार्जिलिङको बाटो खुलाउने हो भने च्याङथापु पूर्वी पहाडकै ठूलो नाका बन्थ्यो

यी घटनाहरू छुटाए हाम्रो इतिहास अधुरो हुनेछ

सिक्किमको राबदेन्ची दरबारको भग्नावशेष ।  

अर्जुनबाबु माबुहाङ

सरकारले च्याङथापुको चिवाभन्ज्याङदेखि बैतडीको झुलाघाटसम्म मध्यपहाडी राजमार्गको सडक खन्न थालेदेखि च्याङथापुको फेरि चर्चा हुन थालेको हो ।
साविक च्याङथापु र फलैँचालाई पहिले च्याङथापु नै भनिन्थ्यो । तिङ्मा/तिम्बुङ पोखरीबाट झरेको इङ्वाखोला तथा चिवाभन्ज्याङ र फालोटको फेदीबाट झरेको मेवाखोलाले च्याङथापुलाई दोभान बनाएको छ ।


च्याङथापुको तीतेमाछाको बासना बिर्सन सकिन्न । पहिले पूर्वी पहाडी जिल्लाका मानिसहरू दार्जिलिङ, सिक्किम च्याङथापुको फालोटको बाटो हिँड्थे । फलैँचाका ७७ वर्षीय चन्द्रवीर माङमुका अनुसार च्याङथापुबाट फालोट फेदी, फालेलुङ, सानोझ्याङ, ठूलोझङ, महले, फक्ते, सिरखोला, रिङगिप, बुधबारे, झेपी, कइँदले, बिजनबारी, पुलबजार पुगेपछि गोकडाँडा बाटो लिएर जाने सिक्किम पुग्थे भने चुङथाङ कमानबाट उकालो जाने दार्जिलिङ पुगिन्थ्यो ।


तराईतिरबाट भारत जाने बाटो सहज बनेपछि च्याङथापुको भन्सार नेपाल सरकारले उठायो । च्याङथापुका खाद्यगोदाम र कृषि बैंक माओवादीको द्वन्द्वकालमा उठाइए । हाल च्याङथापुलाई याङवरक गाउँपालिका– १ र २ वडामा कँज्याइएको छ । चिवाभन्ज्याङको बाटो भएर सिक्किम र दार्जिलिङको बाटो खुलाउने हो भने च्याङथापु पूर्वी पहाडकै ठूलो नाका बन्थ्यो ।


लिम्बू जातिका भाषा–लिपिका आविष्कारक महन्त सिरिजङ्गाले करिब साढे २ सय वर्ष पहिले च्याङथापुलाई ‘चाङधुङ’ भनेर लेखेका छन् । चुलाचुली थुम्काथुम्कीलाई लिम्बूहरूले ‘चाङधुङ–चाङधुङ’ भन्छन् । च्याङथापुसँग माङ्मु, बेघा, सेलिङ, योङहाङ थरी याक्थुङबा/लिम्बूहरू र भोटे/लाप्चाको सामाजिक, राजनीतिक इतिहास जोडिन्छ ।
च्याङथापु, फलैँचाका स्व. कृष्णबहादुर माङमुले आफ्नो वंशावली संकलनका क्रममा माङमुहरूका पहिला पुर्खा इमेपा/इनेपा भनेर टिपोट गरेका छन् । लिम्बूहरूले भोटेलाई ‘मुदेम्बा’ भन्छन् भने लाप्चालाई ‘इमेप्पा’ । डा रमेश ढुुंगेलले हज्सन पाण्डुलिपि (सन् १८२० मा नेपालका लागि रेजिडेन्ट भएर आएका बेलायती विद्वान् ब्रायन हग्टन हज्सनले नेपाल र दार्जिलिङ बसाइँका क्रममा १८५८ सम्म संकलन गरेका कागजातहरू) को खण्ड ५८ को पत्र ६१–६३ अध्ययन गर्ने क्रममा सिक्किमको योक्सोममा फुन्छो नाम्गेल राजा हुनुअघि सञ्चुमाहाङ राजा भएको संवत् ०७० माघ ११ को अन्नपूर्ण पोस्टमा मिहीन ढंगले टिपोट गरेका छन् ।दार्जिलिङ–सिक्किम जाने फालोटको बाटो देखाउँदै च्याङथापु, फलैँचाका किपटिया मचिन्द्र बेघा ।

भोटेहरूले सञ्चुमाहाङको हत्या गरेपछि उनका भाइहरू कालिहाङ, ताङसाङहाङ, सिञ्चिइँ भागेर इलाम पसे । ताङसाङहाङचाहिँ याङरुप (याङवारक) पसे । याङरुप भन्नाले अहिलेका याङवारक गाउँपालिकाका थर्पुको विशाल पोखरीको भग्नावशेषलाई भनिएको हो । लिम्बू भाषामा ‘वरक’ भनेको पोखरी हो । कालान्तरमा पोखरीमा कसैले ‘याङ’ पैसा (गाडधन) लुकाएपछि ‘याङवरक’ भनिएको हो । याङवरक अप्रभंश हुँदै याङरुप भयो । पहिले याङवारक दस लिम्बूवान सत्र थुममध्ये एक प्रसिद्घ थियो ।


सिक्किमका नवौँ महाराजा थुतोब नामग्याल र महारानी येशे डोल्मा लिखित पुस्तक हिस्ट्री अफ सिक्किम सन् १९०८ मा बाइन्डिङमा आयो । पुस्तकमा तिब्बत खाम प्रदेशको डोमेबाट आएका खेम्बोसाले सिक्किमको लिङचोम पुगेर लाप्चा चट्की धर्मगुरु थेकोङतेक र उनकी पत्नी न्योकोङनासँग सन्तान वर मागेका थिए ।

रैथाने लाप्चाहरूसँग देवीदेउता भाकेर, रगत भरिएको भाँडोमा पाइताला डुबाएर, अँगालो मारेर सम्बन्ध गाँसेका थिए । उनकै दरसन्तानबाट फुन्छो नामग्याल सिक्किमका पहिलो राजा भए । उनका छोरा तेन्सु नामग्याल सन् १६७० (संवत् १७२७) मा राजा भए । उनकी तेस्रो रानी लिम्बू राजा योङयोहाङ (योङहाङ) की छोरी थिइन् । लिम्बूनी रानीपट्टिबाट एक राजकुमार गुरु नामका र राजकुमारी पान्देन छिरिङ ग्याल्मो नामका जन्मिएका थिए । उनीहरूको पालनपोषण पाथिङको दिग्रोङमा भएको थियो ।

हज्सन पाण्डुलिपि खण्ड ८४ को पत्रहरू २४३–२५० मा हिल्लिहाङकी चेली थुङ्वामुक्माको सिक्किमका भोटे राजासँग विवाह भएको थियो । हिल्लिहाङ चाङधुम्बो (च्याङथापु) का राजा सेनिहाङका उत्तराधिकारीका रूपमा भेटिन्छन् । सेनीहाङका मूल हाँगाका सन्तान नै हाल योङहाङ थरीका लिम्बू हुन् । योङहाङका पाकाहरूले थुङ्वामुक्माको छोराको नाम भन्न नसके पनि छोरीको नामचाहिँ फिन्दे भएको बताउँछन् । ‘पान्देन’ र ‘फिन्दे’ नाम झन्डै मिल्न पनि आउँछन् । सिक्किमको इतिहासमा उल्लिखित योङयोहाङ राजा नै सेनीहाङ पुष्टि हुन्छन् । उनकी छोरी थुङ्वामुक्मालाई नै तेन्सु नामग्यालले विवाह गरेका थिए । लिम्बू भाषामा पानीको मूललाई ‘साजु’ र बगेको पानीलाई ‘थुङ्वा’ भनिन्छ । ‘मुक्मा’ भनेकोचाहिँ बज्नु अर्थ लागे पनि यहाँनेर सङ्लो/चोखो लाग्न जान्छ ।


थुङ्वामुक्मा सङ्लो पानीजस्तो पवित्र थिइन् । इमानसिं चेम्जोङलगायत इतिहासकारहरूले ‘सिक्किम’ देशको नाम लिम्बू भाषाबाट बनेको भनेका छन् । लिम्बूहरूले घरलाई अलङ्कार लगाएर भन्दा ‘लोक्फा सिङखिम’ भन्नुपर्छ । ‘सिङखिम’ बाटै सिक्किम नाम रहन गएको हुन सक्छ । महाराजा तेन्सु नामग्यालले नै पुरानो दरबार योक्सोम छाडेर राबदेन्ची दरबार बनाएका थिए । भोटेहरूले सिक्किमलाई ‘डेमोजोङ’ वा पहाडी खलंगा भन्छन् ।तावाखोला र कावेलीखोलाको दोभान ओढारमा भेटिएको गुरु बौद्धगुरु पद्‌मसम्भवसँग सम्बन्धित कालचक्र मन्त्र सम्बन्धित ओढारमा कुँदिएको लेखोट, दोस्रो तस्बिरमा च्याङथापुको नाम्रेकमा ‘ओम मणि पद्‍मे हुँ’ लेखिएको ढुंगे लेखोट ।

हिस्ट्री अफ सिक्किम पुस्तकमा सिक्किमको पश्चिमी सिमाना चयनपुर हुँदै अरुण नदीसम्म लेखिएको छ । चयनपुरे बुढापाकाहरूका अनुसार पहिले सिक्किमले चयनपुरको दारेगौँडामा भन्सार उठाउँथ्यो । बजारको टुँडिखेलनेर चौकी थियो । ठाडोगोलामा गोला बजार लाग्थ्यो । तिब्बतबाट भोटेहरूले गँड्खौले नुन ल्याउँथे र खयर लान्थे । तिब्बती लामाहरू सिक्किम र भुटान आउँदा–जाँदा बास बस्ने ठाउँहरूमा नै हटिया, गोला बजार बसेको देखिन्छ ।
ज्ञानमणि नेपाल (०४०) ले संकलन गरेका सेनकालका स्याहामोहोरहरूमा विजयपुरका राजा कामदत्त सेनको पालामा उक्त राज्यको पूर्वी सिमाना टिस्टासम्म थियो । शंकरमान राजवंशी (२०१८) ले संकलन गरेका कागजातहरूमा संवत् १७१९ मा वृष सेनले मोरङबाट चौबिसका खजुम, १७६३ मा इन्द्रराज राजेश्वरी जीवदेवीले मकवानपुरको जितपुरबाट चौबिसकै चेमजोङ र माखिम, १८१८ मा विजयपुरबाट कामदत्त सेनले वजी, थाङदेन, थोपराहरूलाई तिनका पुर्खाले भोगिल्याएका अधिकार थामिदिएको देखिन्छ ।


इमानसिं चेम्जोङ (सन् १९४८) को संकलनमा परेका तिब्बती दलाई लामाले फेदापका बाजहाङ र जनकलाल शर्मा (०४२) को सम्पादनमा प्रकाशित जर्नल प्राचीन नेपालको कात्तिक–मंसिर, अंक ९० मा संकलित स्याहामोहोरमा सिक्किमका भोटे राजाहरूले मैवाखोलाका चोङबाङक्याक, एभेङक्याक थोप्राहरूका पुर्खा मिहित रायलाई पनि स्याहामोहोर गरिदिएको देखिन्छ । पहिले भोटेहरूको प्रशस्तै बस्ती भएको पुराना चिहानमा भेटिने लखौटाहरूले पुष्टि गर्छ । भन्नचाहिँ नागाका लखौटा भन्छन् । ताप्लेजुङ तमोरखोला लिङखिमको मानेडाँडामा पोहोर साल मात्र बाटो खन्दा खन्डे राजाको दरबारको भग्नावशेष भेटियो । ‘ओम मणि पद्मे हुँ’ लेखिएका थुप्रै ढुंगे लेखोटहरू भेटिए ।


लिङखिमका मानबहादुर तबेबुङका अनुसार खन्डे राजाको अन्त्यकालमा आफ्नो योक (नोकर) लाई मासुभात दिएर सुनचाँदी लुकाउन लगाए । भोलि हिँड्नुभन्दा अघिल्लो दिन उनले उनको योकलाई च्याम्भे (काइँयो) को रूखमा झुन्ड्याएर मारेर भागेका थिए । खन्डे राजाले धेरै लिम्बूरूलाई साथै लगेका थिए, जो अहिले सिक्किमको माङसिलामा छन् ।मानेडाँडामाथि पहिले इच्छिङ गुम्बा थियो । त्यो ठाउँलाई अझै पनि इच्छिङ तेम्बे भनिन्छ ।

खम्पा राजाहरूको पालामा तिब्बतबाट आएका लामाहरूले बौद्ध धर्मको प्रचार–प्रसार गर्न ढुंगामा शिला खोपाएको भेटिन्छ । ताप्लेजुङको कावेली नदी र तावाखोला दोभानको ओडारमा पनि बौद्घ धर्मसँग सम्बन्धित थुप्रै ढुंगे लेखोटहरू पाइएका छन् ।

ओढारमा लेखिएको लेखोटमा ‘हाङसामाला वरैया’ भनेर कालचक्रसम्बन्धी मन्त्र लेखिएका छन् । त्यस्तै, ‘ओम अहुँ अमितावदि ओम अहुँ वज्रगुरु पद्मसम्भवसित्युँ’ भनेर अमिताव बुद्ध र गुरु पद्मसम्भवसम्बन्धी अरू मन्त्र पनि लेखिएका छन् । यी मन्त्रका अर्थ लेखोटका तस्बिर सिक्किमका गुरछाङ गुम्बाका लामा खेम्बे र स्वयम्भूका गेलेकलाई गान्तोकमा देखाएर अथ्र्याइएका हुन् ।गोला भन्सार उठाउने चयनपुरको दाह्रैगौँडा ।

भोटको खामबाट आएकालाई पहिले खम्पा भनिन्थ्यो । खम्पा शब्द नै अप्रभंश भएर खन्डे भएको हो । सम्भवत: गोर्खा–लिम्बुवान–सिक्किम युद्धकालमा भोटेको बस्ती उठ्यो र लिम्बूहरूले किपट चलाएपछि भोटेको बसोबास सुरु भयो ।

अरुणपूर्वमा केन्द्रमा सेन र नामग्यालहरूको राजनीति एवं व्यापार चले पनि स्थानीय सत्ता लिम्बूहरूले नै धानेको देखिन्छ । गोर्खा–लिम्बुवान–सिक्किम युद्धका पात्र र उनीहरूको भूमिकालाई हेर्ने हो भने चयनपुरदेखि च्याङथापुसम्म काङसोरे, जयकर्ण फागो वनेम, तेसपोन्ना, उभारसिं साँबा, याङरके काक (याङवारकका योङहाङ, सेलिङ, सिगु, थङगम्बा, हेम्ब्याथरी लिम्बूहरूबीचको गुट), इयकहाङ याख्खा, पुत्लुङहाङ देवान र तिब्बतका भोटे सरदार टिपुटाका, सिक्किमका भोटे सरदारहरू थिते फुदाक, युक अदाको साझा शासन चल्थ्यो ।


लिम्बूहरू विजयपुरका सेनदेखि तिब्बतका लामा र सिक्किमसम्मका भोटेहरूसँगको राजकाजमा लोयल देखिन्छन् । विजयपुरका चौतारियाहरूको सम्बन्ध तिब्बतका लामा र सिक्किमका नामग्यालहरूसँगको सम्बन्ध सुमधुर थियो । विजयपुरका राजा कामदत्त सेनका चौतारिया बुद्धिकर्ण सिक्किमका पाँचौँ महाराजा नामग्याल फुन्छोको राबदेन्ची दरबारमा सालिन्दा शुल्क बुझाउन पुगेको देखिन्छन् ।


बुद्धिकर्णलाई चोखरी (चोखा राय ?) का भतिजा भुतिकर्ण भनिएको छ । उतिबेला सिक्किमका लागि तिब्बती अधिकारी नालुङदिङ खर्बाको पनि राबदेन्ची दरबारमा उपस्थिति देखिन्छ । फ्रान्सिस बुकान ह्यामिल्टन (सन् १८१९/१९८६/१९९०) का अनुसार बुद्धिकर्ण रायले नै सिक्किमका भुटिया ल्याएर कामदत्त सेनको हत्या गरेर विजयपुरको शासक बनेका थिए । सत्तामा आएपछि यिनले संवत् १८२९ देखि स्याहामोहोरहरू गरिदिएको देखिन्छ । लेइमेन्ट आर मारखाम (सन् १८७६) का अनुसार बेंगलका गभर्नर वारेन हेस्टिङले सन् १७७४ मा अंग्रेज–तिब्बत कूटनीतिक सुधारका लागि तिब्बत पठाइएका जर्ज बोग्लेले लामा गेसु रिम्पोछेलाई भेट्दा गोर्खाली वकिलहरूले बुद्धिकर्णलाई सिक्किमले शरण दिएको विषयलाई लिएर तिब्बत–सिक्किम र नेपालको सम्बन्ध बिग्रने संकेत दिएका थिए । अन्तत: गोर्खा र सिक्किम युद्धको कारण त्यो पनि बनेको थियो ।

पाण्डुलिपिअनुसार याङरके (याङरूप) र भोटे, लाप्चा एक भएर गोर्खालीविरुद्ध पान्थरको हिलिहाङ, पञ्चमीको शिर मिकआप्पामा अन्तिम लडाइँ लडेका थिए । मिकआप्पाको लडाइँपछि फेरि याङरके लिम्बूहरू पनि गोर्खालीतिरै लाग्छन् र करिब ४ सय वर्ष अघिदेखिको भोटे, लाप्चा र याङरके लिम्बूको ऐतिहासिक सम्बन्ध टुंगिन्छ ।

च्याङथापुमा भेटिएका लखौटा देखाउँदै स्थानीय भानु खरेल ।

हिस्ट्री अफ सिक्किम पुस्तकमा पनि सुनुहाङ, जसमुखी, आसदेउ र योङहाङलगायतका लिम्बूहरूको गोर्खाविरुद्धको लडाइँमा तिब्बत र सिक्किमका भोटेहरूसँग मिलेर लडेको चर्चा गरिएको छ । गोर्खा–सिक्किम युद्ध विश्रामका लागि सहमति गर्न गोर्खाली राजा प्रतापसिंहका प्रतिनिधि, तिब्बती प्रतिनिधि योङजिन तुक्लु, सालु खन्बु, देपोन पात्साल, तुङजासाङ एवं सिक्किमी प्रतिनिधि जोगम्याल, तोबजोङ वाङचेङन तथा पेमियोन्चि गुम्बाका लामा गेलोङ कुन्सालकाबीच नेपाल र सिक्किमको सिमाना सिङ्सा वालुङमा भेला भए ।


गोर्खालीले आफ्ना दूतहरू चार ब्राह्मणको सिक्किमले हत्या गरेको विषय उठायो । तिब्बतले ब्लडमनी रु ४ हजार नेपाललाई सिक्किमले तिर्ने भनेर सहमति बने पनि गोर्खालीले युद्ध जारी राखे ।

यसपछि याङवारकका लिम्बूको बलले गोर्खालीले सिक्किममाथि चढाइ गर्छन् । सन् १७८८ (संवत् १८४५) मा सिक्किमका महाराजा तेन्जिङ नामग्याल आफ्ना राजकुमारसहित राबदेन्चीबाट लखेटिएर बाँकीको उग्याल दरबारमा लुक्न पुग्छन् । चिनियाँ र तिब्बती प्रतिनिधिको हारगुहारपछि मेजर चर्लीको अंग्रेज फौज र छाङजोत छाङथुप, ताकर्पा देब्छाङ रिन्जिन, जोगम्याल र युगनाम्चाको भोटेको संयुक्त फौजले पूर्ण आले, दामोदर पाण्डे, जोहारसिंको नेतृत्वमा रहेको गोर्खाली फौजलाई दार्जिलिङको नाग्रीजोङबाट फर्काउँछन् । सिक्किमविरुद्धको लडाइँमा तिउरे बेघा, बलगाङ, र योङहाङहरू सहादत हुन पुग्छन् ।

यसपछि राजकुमार चुङफुद नामग्यालले पैतृक राजकाज सन् १७९३ मा सम्हाल्छन् । सन् १८१४ मा उनी तुम्लोङको वाङदुङसे दरबारमा सर्छन् ।

हिस्ट्री अफ सिक्किम पुस्तकमा लेखिएअनुसार सन् १८१९ देखि सिक्किमका महाराजा चुङफुद नामग्याल र उनका काका बोलोदबीच अधिकार प्रयोग गर्ने विषयलाई लिएर झगडा चुलिँदै गयो । झगडाले उग्र रूप लिएपछि महाराजाको हुकुममा सन् १८२६ बोलोद एवं उनका नजिकका नातेदारहरू र दिवानसहितका समर्थकहरू काटिए । त्यसपछि बोलोदका भतिजा कोतापा कुङ्खा उर्फ दाथुप, जेरुङ देनोन तथा काजी गोरोक र ८०० लाप्चा चिन्दाम एवं नामथाङबाट इलाम अन्तुमा पुगेर गोर्खालीको शरण परे ।

शासनको बागडोर प्राय: तिब्बती लामाहरू एवं सिक्किमका लागि चीनका प्रतिनिधिहरूको सल्लाह/कूटनीतिबाट चल्ने भएकाले राबदेन्ची दरबारले राजकुमार/राजाहरूको वैवाहिक सम्बन्ध विशेषगरी तिब्बती लामाहरू तथा सिक्किमका लागि चीन र तिब्बतका अधिकारीहरूसँग मात्र गराएको देखिन्छ । तेन्सु नामग्यालले पनि च्याङथापुको लिम्बू राजाको छोरीसँग वैवाहिक सम्बन्ध गाँस्नु पनि राजनीतिक कूटनीति नै थियो ।


भोटेका चिहानमा भेटिएका लखौटाहरूको धमाधम बिक्री भइरहेको छ । चिहान खन्ने क्रम जारी छ । सरकारले चासो राख्न सकेको छैन । लखैटाहरू किन, कहाँ लगिन्छन्, व्यापारीलाई पनि थाहा छैन । लेखोटहरूको पनि सरकारले अध्ययन/अभिलेखन गर्न सकेको छैन । यस्ता लखौटा (गरगहना) र लेखोटहरूले उतिबेलाको सामाजिक भेषभूषा, धर्म/संस्कृति/परम्परा र राजनीतिको प्रतिविम्बित गर्छ ।

वास्तवमा ताप्लेजुङका मिवाखोला, तमोरखोला तथा पाँचथर च्याङथापु र याङवरकतिरका लिम्बूहरूको इतिहास, वंशावली भोटे र लाप्चालाई छुटाएर लेख्न सकिन्न । तिब्बत र सिक्किमको इतिहास अध्ययन–अनुसन्धान नगरी, नपढी/नलेखी नेपालकै इतिहास अपूरो हुन्छ ।साभार नेपाल म्यागजिन


Facebook Comment


No ads found for this position