कोशी अस्पतालबाट ६ जना कोरोना संक्रमित भारतीय नागरिक डिस्चार्ज

विराटनगर — विराटनगरस्थित कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रको आइसोलेसनमा १९ दिनदेखि उपचाररत ६ जना भारतीय बुधबार बिहान डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने ६ जना नै भारतको नयाँदिल्लीका बासिन्दा हुन् ।

६ जना भारतीयलाई डिस्चार्ज गरेपछि बुधबार प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलगायतले बिदाई गर्दै । तस्बिर : देवनारायण साह/कान्तिपुर

उनीहरुलाई दुई वटा एम्बुलेन्समा विराटनगर १५ रानीस्थित ‘रानी मरकज’ को क्वारेन्टाइनमा लगेर राखिएको छ । उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा राखेर पुन: थ्रोट स्वाब परीक्षण गरिने कोशी अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्रले बताइन् ।

डिस्चार्ज भएका ६ जनालाई प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गमजेर तथा चिकित्सकहरुले फूलमाला दिएर बिदाइ गरे ।

डिस्चार्ज भएका अनुस जैदीले आफूहरुको अस्पताल बसाइ अत्यन्तै सुखद भएको बताए । ‘धर्म प्रचारका लागि हिँडेका हामीहरुमा संक्रमण देखिदा पनि त्रसित भएनौं,’ उनले भने, ‘संक्रमण पुष्टि भएपछि हामीलाई विराटनगरको कोरोना उपचार केन्द्रमा ल्याएर राखेको र यहाँ चिकित्कसहरुको अत्यन्तै राम्रो हेरचाहले आत्मबल झन मजबुत भयो ।’

उपचार केन्द्रमा आफूहरुको नियमित स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुका साथै विभिन्न चिकित्सकहरुले पनि नियमित फोन सम्पर्क गरेर हेरचाह गरेको जैदीले सुनाए । आफूहरुलाई आवश्यक भएको हरेक सामग्री पनि स्वास्थ्यकर्मीहरुले उपलब्ध गराइदिएर माया गरेको भन्दै उनले धन्यवाद ज्ञापन गरे ।

प्रदेश १ मा सबभन्दा पहिले संक्रमण पुष्टि भएका १३ जनाको लगातार तीन पटक थ्रोट स्वाब परीक्षण गर्दा डिस्चार्ज भएका ६ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । उनीहरुसँगै संक्रमण देखिएका अन्य ७ जनाको तीनै पटकको परीक्षणमा भने ‘पोजिटिभ’ आएको मिश्रले बताइन् । उपचार केन्द्रमा रहेका भुल्केका अन्य १५ जनाको पनि सोमबार परीक्षणका लागि स्वाब संकलन गरिएको तर नतिजा आउन बाँकी रहेको उनले सुनाइन् ।

मेडिकल सुपरिटेन्डेन्ट मिश्रले संक्रमितहरु उपचार केन्द्रमा आएदेखि हेरचाह मात्रै गरेको र हालसम्म कसैलाई पनि कुनै किसिमको उपचार गर्नुपर्ने कुनै लक्षण नदेखिएको बताइन् । ‘कोरोना भाइरसको संक्रमण देखिएका सबै जनाको स्वास्थ्य अवस्था सामान्य छ,’ उनले भने, ‘उपचार केन्द्रमा बसेका कसैलाई पनि कुनै औषधिसमेत खुवाएका छैनौं र उनीहरुमा कुनै लक्षणसमेत देखिएको छैन ।’ डिस्चार्ज भएर जानेहरुले धन्यवाद ज्ञापन गरेर जानु नै आफूहरुको उपलब्धि भएको उनको भनाइ थियो ।


Facebook Comment


No ads found for this position