लकडाउनपछि नेपालको पर्यटन माथि उकास्न…

काठमाडौं–कोरोना भाइरसको संक्रमण विश्वव्यापी भएसँगै नेपालले पनि संक्रमण रोक्न केही समयअघि लकडाउन जारी ग¥यो । आज नेपाल लकडाउन भएको ४४ दिन पुगेको छ । सुरुवातीमा दुई जनामा देखिएको संक्रमण आज ४४ औं दिनमा आइपुग्दा ९९ जना पुगेको छ ।
कोरोना संक्रमणको जोखिममा तराई क्षेत्र उच्च जोखिममा देखिएको छ । दुई महिनायता सरकारले अन्तर्राष्ट्रिय उडान पूरै ठप्प पारेको छ । विश्व अर्थतन्त्र तहसनहस भएसँगै नेपालीको अर्थतन्त्रमा पनि यसले नराम्रो प्रभाव पारेको छ ।
नेपालको अर्थतन्त्रको मुख्य हिस्सामध्ये पर्यटन क्षेत्र पनि एक हो । कोरोना प्रभावले सबैभन्दा थिलोथिलो बनेको नेपाली पर्यटन क्षेत्र मात्रै हो । एक तथ्यांकलाई हेर्ने हो भने, नेपाल सरकारले गत पौसदेखि सुरु गरेको नेपाल भ्रमण वर्ष २०२० अहिले स्थगित भइसकेको छ ।
भ्रमण वर्षको उत्साहसँगै नेपालमा धेरै लगानी भएको छ । केही समयअघि नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको आंकडा अनुसार नेपालमा भ्रमण वर्षलाई लक्षित गरी करिब ४ खर्ब लगानी भएको थियो । यस्तै अस्तव्यस्त बनेको पर्यटन क्षेत्रलाई थोरै मात्रामा पनि राहत मिलाउनका लागि तत्काल २० अर्ब रुपैयाँ राहत दिनुपर्ने अवस्था छ ।
लकडाउनपछिको पर्यटन व्यवसायको भविष्य के हुने त भन्ने विषयमा हामीले एक महिनायता विभिन्न सरोकारवाला व्यक्तिसँग छलफल गर्दै आएका छौं । भविष्यमा यसलाई माथि उकास्न कस्ता योजना हुन्छन् भन्ने विषयमा पनि उनीहरुसँग सोध्ने र पस्किँदै आएका छौं । आजको शृंखलामा पर्यटन व्यवसायी कुमार थापासँग हामीले लकडाउनमा पर्यटनको अवस्था र यसलाई माथि उकास्न के कस्ता पहल हुन आवश्यक छ भनेर कुराकानी गरेका छौं ।

बाह्य नाकामा कडाइ गरौं

लकडाउनसँगै नेपालको सम्पूर्ण व्यवसाय धराशाही बन्दै गएको छ । अझै केही समय लकडाउन जारी रहने हो भने कम्तिमा पनि दुई वर्षसम्म माथि उठ्न नसक्नेगरी पर्यटन व्यवसायी डुब्ने अवस्था देखिन्छ ।
सरकारले अहिलेसम्म कुनै विशष्ेष प्याकेज ल्याउन सकेको देखिँदैन । अन्तर्राष्ट्रिय उडान हुँदा कोरोनाको संक्रमण फैलिने भन्दै एक महिना अघिदेखि नै बन्द भइसकेका छन् । तर, अहिले झन् संक्रमितको संख्या बढीरहेको छ ।
अहिले हामीलाई मुख्य जोखिम भनेको दक्षिण क्षेत्रका नाकाबाट हो । अहिले नेपाल–भारत ओहोदोहोर गर्नेहरुबाट नै संक्रमण बढेको देखिन्छ । त्यसैले दक्षिणतिरका नाकामा कडाइ गर्नुपर्छ । मानिसको आवतजावत पूरै ठप्प पारौं ।
अब कुरा रह्यो पर्यटन क्षेत्रको । सँधै लकडाउन गरेर मात्रै समाधान हुँदैन । त्यसैले जोखिमयुक्त क्षेत्रलाई शील गरेर सुरक्षित स्थानमा खुकुलो पारौं । तर, खुकुलो पार्ने भन्दैमा संक्रमणको जोखिम बढाउनु पनि त भएन । विभिन्न होटल व्यवसाय, पर्यटकीय क्षेत्रलाई परीक्षण गरी सुरक्षित देखिएमा त्यस्ता क्षेत्रमा पर्यटकको चहलपहल बढाऔं ।

नयाँ बजेटले राहतको प्याकेज सम्बोधन गर्नुपर्छ

अहिले सरकार नयाँ बजेट ल्याउने तयारीमा पनि छ । लाखौंलाई रोजगारी दिएको पर्यटन क्षेत्र त्यतिकै डुब्ने स्थिति आयो भने, व्यवसायी मात्रै होइन, त्यससँग आश्रित जनशक्ति र उत्पादनमा पनि नराम्रो असर पर्छ ।
त्यसैले नयाँ बजेटले तत्काल व्यवसाय टिकाइराख्ने खालका राहतका प्याकेजहरु ल्याउनुपर्छ । हामीले आन्तरिक चहलपहल बढाएर अर्थतन्त्र चलायमान गराउन अनुरोध गर्दै आएका छौं । सरकारी कर्मचारीलाई एक महिनाको तलब दिएर घुम्न पठाउने योजना सरकारले बनाइरहेको बुझिएको छ ।
तर, योजना बनाएर मात्रै हुँदैन कार्यान्वयनमा पनि ल्याउनुपर्छ । त्यसका लागि पर्यटकीय क्षेत्र र यससँग जोडिएका विभिन्न पक्षहरु सुरक्षित बनाउनुपर्छ । होटल व्यवसायीलाई कसरी सुरक्षित बन्ने तालिम दिनुपर्छ ।

लकडाउनपछि नयाँ गन्तव्यका बारेमा पनि योजना बनाएर पर्यटकलाई त्यहाँ पुग्ने वातावरण बनाउनुपर्छ । सरकारले त्यसका लागि पुरानै तरिकाले औपचारिकता निभाउने कामले मात्रै चल्दैन

पूर्वाधार निर्माणमा जोड दिऔं

अहिले लकडाउनले सबै काम ठप्प छन् । पर्यटन क्षेत्रमा पनि विभिन्न संरचना निर्माण गर्नुपर्ने छन् । यही बन्दको अवसरमा बेरोजगार भएका श्रमिकलाई लगाएर ती पर्यटकीय क्षेत्रका पूर्वाधार निर्माणमा सरकारले ध्यान दिनुपर्छ ।
लकडाउनपछि यसअघि देखिएका अप्ठ्याराहरु निर्मुल पार्न सके बाह्य पर्यटकलाई आकर्षण गर्न सकिन्छ । यसका लागि सरकारले विभिन्न क्षेत्रमा पदमार्ग निर्माण, हिमाल सफाइ, सुरक्षित बासस्थान निर्माण गराउनुपर्छ ।
अन्तर्राष्ट्रिय क्षेत्रमा मार्केटिङको दायरा बढाउनुपर्छ
अहिलेसम्म जति पर्यटक आउँछन् । उनीहरु देखे सुनेकै आधारमा आउने गरेका छन् । लकडाउन खुल्नेबित्तिकै विदेशी पर्यटकहरु झोला बोकेर नेपाल घुम्न आउने अवस्था हुँदैन । केही समय त उनीहरु आफू सक्षम हुन पनि समय लाग्छ । तर, उनीहरु आउन तयार हुँदासम्म हामी पनि स्वागतका लागि तयार हुनुपर्छ ।
हामीले लकडाउनपछि नेपाल सुरक्षित छ है भन्ने सन्देश दिन अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसारलाई व्यापक बनाउनुपर्छ । हाम्रा कतिपय क्षेत्रको अझै पनि प्रचार हुनसकेको छैन । लकडाउनपछि नयाँ गन्तव्यका बारेमा पनि योजना बनाएर पर्यटकलाई त्यहाँ पुग्ने वातावरण बनाउनुपर्छ । सरकारले त्यसका लागि पुरानै तरिकाले औपचारिकता निभाउने कामले मात्रै चल्दैन । विशेष टोली नै बनाएर अन्तर्राष्ट्रिय बजारमा नेपाल घुम्नका लागि प्ररित गर्ने प्रचारप्रसार गर्नुपर्छ ।

ब्याजदरमा सहुलियत र किस्ता तिर्ने मिति सारौं

भ्रमण वर्षलाई लक्षित गरेर करोडौं लगानी गरेका पर्यटन व्यवसायी अहिले ठप्प छन् । बैंकको किस्ता तिर्ने अवस्था पनि छैन । सरकारले राहतसँगै ब्याजदरमा सहुलियत दिनुपर्छ । लकडाउन खुल्नेबेलासम्म पर्यटन व्यवसायलाई बचाइराख्न किस्ता तिर्ने मिति पनि सार्नुपर्छ । अहिले पर्यटन व्यवसायीले भनेजति किस्ता तिर्नसक्ने स्थिति छैन ।
त्यसैले एक वर्षका लागि किस्ता तिर्ने मिति सार्न सकियो भने, लकडाउनपछि पर्यटन व्यवसाय माथि उकास्न सहज हुन्छ । हामीले सबै छुट देउ भनेका पनि छैनौं । ब्याजदरमा केही सहुलियत र किस्ता तिर्ने मिति सार्न सक्यौं भने पनि लकडाउनपछि चलायमान हुने स्थिति रहन्छ ।
तर, जे भने पनि अहिलेको स्थितिमा स्वास्थ्य सुरक्षा नै पहिलो प्राथमिकता हो । लकडाउनपछि पनि कोरोनाको कहर पूरै निमिटयान्न हुँदैन । त्यसैले पर्यटन व्यवसायीलाई कसरी कोरोनाबाट बच्ने भन्ने स्वास्थ्य सुरक्षाबारे पनि सरकारले आवश्यक परामर्श र तालिम दिनुपर्छ । तत्काल धरौटी बढाउने, कर बढाउने कुरा सरकारले गर्नुहुँदैन । स्थिति सामान्य नहुँदासम्म पर्यटन व्यवसायीले पनि न्यूनतम शुल्कमा सेवा दिन सक्नुपर्छ ।


Facebook Comment


No ads found for this position