थाकेर रेलको लिकमा सुतेका १६ मजदुरको मृत्यु

काठमाडौं– भारतको महाराष्ट्र प्रान्तमा स्थित औरंगाबादमा रेलले किचेर कम्तीमा १६ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् ।

भारतका रेलमन्त्री पियुष गोयलका अनुसार आफ्नो घर हिँडेका मजदुरहरू राति रेलको लिगमा सुतिरहेका थिए । बिहान स्थानीय समयअनुसार साढे पाँच बजे यो दुर्घटना भएको बताइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा दुःख व्यक्त गर्दै रेलमन्त्रीलाई आवश्यक सबै सहयोगको लागि निर्देशन दिएको बताएका छन् ।

औरंगाबादका एसपी मोक्षदा पाटिलका अनुसार सबै मजदुरहरू औरंगाबाद नजिकै रहेको जालनाको उक स्टिल कारखानामा काम गर्थे । उनीहरू भुसावल भन्ने स्थानतर्फ गइरहेका थिए । उनीहरूलाई औरंगाबादबाट रेल पाइन्छ भनेर सुनाइएको थियो । रात परेपछि उनीहरू रेलको लिगमा नै सुतेका थिए । रेल आउँदा उनीहरू सुतिरहेको कारण उनीहरुले भाग्ने मौका पाएनन् ।

भारतमा कोरोना भाइरस नियन्त्रणका लागि मे १७ सम्म लकडाउन घोषणा गरिएको छ । त्यसैले विभिन्न राज्यमा गएर काम गर्ने मजदुरहरू लामो बाटो हिँडेरै घर फर्किने गरेका छन् ।

रेलमन्त्री गोयलका अनुसार चालकले मजदुरहरू लिगमा सुतिरहेको देखेपछि रेल रोक्ने प्रयास गरेका थिए । तर, उनले मजदुरहरूलाई बचाउन भने सकेनन् । मृत्यु हुने सबै मध्यप्रदेशका नागरिक रहेको बताइएको छ ।


Facebook Comment


No ads found for this position