कोरोना र नेपाली पर्यटन

भगिरत श्रेष्ठ
काठमाडौं–विगत पाँच महिनायता पूरै विश्व कोरोना भाइरसको महामारीले आक्रान्त छ । विश्व अर्थतन्त्र नै थिलोथिलो बनेको छ । अहिलेको प्रभाव हेर्ने हो भने, समान्य अवस्थामा आइपुग्न अझै दुई÷तीन वर्ष लाग्ने निश्चित छ ।
विश्वमा करोडौं नागरिकले रोजगारी गुमाएका छन् । कोरोनाको कहर अन्त्यपछि उनीहरुले रोजगारी पाउँछन् कि पाउँदैनन् भन्ने ठूलो अन्योल छ । केही वर्षमा बेरोजगारी समस्या यति धेरै वृद्धि हुने छ कि हरेक राष्ट्रलाई यो समस्या समाधानका लागि निकै समस्या पर्ने देखिन्छ ।
मै हुँ भन्ने शक्तिशाली राष्ट्रहरु पनि अहिले कोरोनासामु लाचार जस्तै देखिएका छन् । भ्याक्सिनको विकास नभइ यो महामारीबाट मुक्ति पाउन सम्भव छैन । अहिलेसम्म केवल १३ देश मात्रै छन् जहाँ कोरोनाको संक्रमण फैलिएको छैन ।
संक्रमण नफैलिए पनि विश्व अर्थतन्त्रमा परेको प्रभावको सामना उनीहरुले पनि गरिरहेकै छन् । यो भाइरसले प्रभावित बनाएको अर्को ठूलो क्षेत्र हो पर्यटन । पर्यटनलाई नै समृद्धिको आधार बनाएका देशहरुको अहिले आर्थिक स्तर निकै तल झरेको छ ।

कोरोना कहरमा नेपाली पर्यटन


नेपाल सरकारले २० लाख पर्यटक ल्याउने अपेक्षाका साथ धुमधामसँग नेपाल भ्रमण वर्ष २०२० उत्साहका साथ सुरु ग¥यो । विडम्बना नै भन्नुपर्ला भ्रमण वर्ष सुरु भएको केही सातामै चीनको वुहानमा कोरोना भाइरस(कोभिड–१९) सुरुवात भयो ।
सुरुवातीमा सामान्यमै लिएका कारण महिनादिनमै यसले पूर्वी एसिया हुँदै युरोप प्रवेश ग¥यो । नेपालसँग जोडिएको भए पनि आवतजावत कम हुने भएका कारण सुरुवाती केही महिनासम्म त नेपाल सुरक्षित नै रह्यो ।
केही हवाई यात्रामार्फत आएका नेपालीमा कोरोना संक्रमण देखिए पनि पछि उनीहरु निको भएर घर फर्किए । तर, युरोपमा त्राहीमाम बनाउँदै जब दक्षिण एसियामा यसको प्रभाव बढ्दै गयो । त्यसपछि नेपाल पनि पूर्ण रुपमा लकडाउन भयो ।
यसपटक भ्रमण वर्षमा लक्ष्यभन्दा पनि धेरै पर्यटक ल्याउने सरकारको लक्ष्य थियो । सोही अनुसार नेपालमा पर्यटकीय क्षेत्रका अधिकांश होटेलमा अक्टुबरसम्मका लागि बुकिङ भइसकेका थिए ।
बुकिङको स्तर हेरेर पनि पर्यटन व्यवसायीले लगानीमा वृद्धि गरे । तर, केही समयपछि पूरै विश्व लकडाउनमा परेपछि अहिले पर्यटन व्यवसायीलाई आम्दानी गर्ने कुरा त परै जाओस् कसरी बैंकको किस्ता तिर्ने भन्ने पिरलो छ ।
चार खर्बको लगानी भएको पर्यटन क्षेत्र अहिले पूरै ठप्प छ । नेपालमा पनि पर्यटन क्षेत्रसँग आश्रित हजारौंले रोजगारी गुमाएका छन् । नेपाली पर्यटन क्षेत्रको यो मुख्य सिजन पनि हो ।
तर, मुख्य सिजनमै यस्तो आपत् आइलाग्दा पर्यटनबाटै समृद्धिको सपना देखेको सरकारको योजना र मनग्य आम्दानी हुने व्यवसायीको सपना कोरोना कहरमै तुहिएको छ । अहिले त आम्दानीभन्दा पनि भएको लगानीलाई भविष्यका लागि कसरी सुरक्षित बनाइराख्ने कुरा नै ठूलो बहसको विषय बनेको छ ।

स्वास्थ्य सुरक्षा


अहिलेको परिस्थितिमा नागरिकको स्वास्थ्य सुरक्षा नै पहिलो प्राथमिकता हो । सबैको ध्यान नागरिकको जीउज्यानको हुनुपर्दछ । तर, जीउज्यानको सुरक्षाको कुरा गर्दैगर्दा यसमा आर्थिक सुरक्षाको कुरा पनि आउँछ ।
आर्थिक सुरक्षाका लागि आर्थिक गतिविधि चलायमान हुनुपर्छ । अहिले सबै कारोबार ठप्प भएको अवस्था छ । नेपालमा अधिकांश वस्तुका लागि बाह्य देशसँग निर्भर हुने स्थिति छ । तर, त्यो आयात भएको वस्तु उपभोगका लागि पनि आम्दानी त हुनुप¥यो ।
अहिले नागरिक कसैले पनि काम गर्न पाएका छैनन् । यदि लामो समयसम्म यस्तै स्थिति रह्यो भने, कमाइ नभएकाले एकछाक पनि राम्रोसँग खान नपाउने स्थिति आउन सक्छ ।

पर्यटन घुम्ने मात्रै होइन ?

नेपालमा पर्यटन भनेको घुम्ने र रमाइलो गर्ने माध्यमका रुपमा चिनिन्छ । सायद यही कारण होला पर्यटन क्षेत्र प्राथमिकतामा पर्न नसकेको छ ।
हेर्दा घुमफिर गर्नेजस्तो मात्र देखिए पनि यसको दायरा भने ठूलो छ । यहाँ व्यापार व्यवसायदेखि उत्पादनसम्मका कुरा जोडिएका छन् । यसलाई भित्रबाट सुक्षम तरिकाले हेर्ने हो भने, रोजगारी र कृषि उत्पादनमा पनि पर्यटन क्षेत्र जोडिएको छ ।
घुम्न आउने पर्यटककै कारण कैयौं नेपालीले रोजगारी पाएका छन् । उनीहरुलाई घुमाउन गाइडको आवश्यकता पर्छ । उनीहरु बस्ने होटलको आवश्यता पर्छ र होटल सञ्चालनका लागि कृषि उपभोग्य वस्तुको आवश्यता पर्छ । यो एउटा रनिङ सर्कल जस्तै हो ।
यति ठूलो क्षेत्रलाई हामीले केवल घुम्ने र आनन्द लिने क्षेत्रका रुपमा मात्रै लिएर पनि विगतमा पर्यटनबाट सोँचेजस्तो मुनाफा लिन नसकिएको हो । अब यसलाई वृहत रुपमा हेरिनुपर्छ । हामीले अहिलेसम्म तालतलैया र हिमाललाई मात्र पर्यटनको आधार बनाएका छौं । तर, अब यसको दायरा अलिकति फरक पार्नुपर्छ ।

लगानी सुरक्षा

अहिले पर्यटन व्यवसायी हात बाँधेर बस्नुपरेको छ । यस्तो अवस्थामा सबैले जीउज्यानको सुरक्षाको ख्याल गरेकै छन् । तर, कहिलेसम्म नागरिक घरभित्रै थुनिएर बस्ने । यद्दपी नेपालमा भोकमरी नै सिर्जना भयो भने, त्यसको सामना गर्ने ल्याकत सरकारसँग छ त ?
परीक्षणको दायरालाई फराकिलो बनाएर केही सिमित क्षेत्रहरु खोलिनुपर्छ । त्यहाँ सचेतनाका कार्यक्रमहरु अघि बढाउनुपर्छ । करोडौं लगानी गरेका पर्यटन व्यवसायीहरु अहिले डुब्ने स्थितिमा पुगेका छन् । पर्यटन व्यवसायीले सरकारसँग राहत नै मागेका पनि छैनन् ।
उनीहरुले आफ्नो लगानीको सुरक्षाको माग गरेका छन् । त्यसका लागि ब्याजदरमा सहुलियत र किस्ता तिर्ने मिति केही समय होल्ड गर्न माग गरेका छन् ।
यदि सरकारले अहिले यति काम गर्न सकेन भने, भोली कोही पनि लगानीका लागि अगाडि आउन तयार हुँदैन । हामीले भएका हाम्रा व्यवसाय सुरक्षा गर्न जरुरी छ । भोली यीनैले नेपालको अर्थतन्त्र चलायमान गराउँछन् ।
नेपालमा सरकारका ठूलो उद्योग कलकारखाना त छैनन् । त्यसैले बजारमा जुन कुरा आवश्यक हुन्छ । त्यो निजी क्षेत्रले नै परिपूर्ति गराउँदै आएका छन् । उनीहरुलाई नियमन गर्ने कुरा पनि छ । त्यसका लागि राज्यले स्पष्ट नीति लिन सकिन्छ । तर, अहिलेको महामारीमा ठूलो चुनौती भनेकै लगानीको सुरक्षा हो ।
किनकी हामीले बाह्य लगानी भित्र्याउने कुरा गरिरहेका छौं, विगत लामो समयदेखि । तर, अहिले भएका आन्तरिक लगानीलाई नै सुरक्षित गर्न सकेनौं भने, व्यवसायीहरु हतोत्साहित हुनसक्छन् । भोलीका दिनमा लगानीका लागि कोही पनि तयार हुनेछैन ।

अगामी पर्यटनको रणनीति

अब यो लकडाउन सँधै यत्तिकै रहला भन्ने हुँदैन । पूरै विश्वसमुदाय नै यसकाविरुद्ध लागिपरेको छ । तसर्थ हामीले कोरोना कहर अन्त्य होला र त्यसपछि योजना बनाऔंला भनेर अहिले हात बाँधेर बस्ने कुरा हुँदैन ।
सरकारलाई यो बन्दाबन्दीको अवधि एक अवसर पनि हो । हाम्रा कमीकमजोरी सुधार गर्ने । पर्यटन विकासका नाममा करोडौं रकम दुरुपयोग भएको छ । कनिका छरेजस्तै केही व्यक्तिहरुले सानासाना मठमन्दिर बनाउने, भ्युटावर बनाउने काम गरेका छन् ।
अध्ययनबिना गरिएका यस्ता लगानीबाट प्रतिफल आउँदैन । त्यसैले स्थानीय, प्रदेश र संघीय सरकारबाट पर्यटन विकासका लागि विनियोजित बजेट एकीकृत गर्नुपर्दछ । र त्यो कहाँ कसरी लगानी गर्ने भन्ने यसका क्षेत्रका व्यवसायी, सरोकारवालासँग बसेर पर्यटन बोर्डले योजना बनाउनुपर्छ ।
सबै डाँडापाखा पर्यटकीय क्षेत्र हुन सक्दैनन् । त्यसका लागि विशेष क्षेत्र बनाएर अगाडि लैजानुपर्छ ।
अर्को कुरा ग्रामीण पर्यटनलाई अहिलेसम्म ध्यान दिइएको छैन । अहिलेको अवधिमा विभिन्न पदमार्ग र नयाँ पर्यटकीय क्षेत्रमा संरचना निर्माण गर्नुपर्दछ । पर्यटकीय राजमार्गहरु स्तरोन्नतिको काम यहीबेला हुनुपर्दछ ।
हामीले अहिले दुई वर्षजति त बाह्य पर्यटकको अपेक्षा गर्नुहुँदैन । तर, उनीहरु स्टेबल भएर नेपाल घुम्न आउँदा उनीहरुले नेपालको फेरिएको रुप देख्नुपर्छ । प्रचारप्रसारलाई व्यापक रुपमा विस्तार गर्नुपर्छ ।
हामीकहाँ घुम्ने र रमाउने ठाउँमात्रै होइनन्, विभिन्न अध्ययन अनुसन्धान गर्ने ठाउँ पनि छन् भनेर विश्वलाई देखाउनुसक्नुपर्छ । यसका लागि नेपालको ग्रामीण क्षेत्र उपयुक्त हुन्छ । मानिसहरु सहरमा बस्न खासै रुचाउँदैनन् । त्यसैले शान्त र सुन्दर वातावरणमा रमाउनका लागि ग्रामीण पर्यटनको विकास नै अहिलेको मुख्य योजना हुनुपर्छ ।
यदि ग्रामीण क्षेत्रमा पर्यटनको विकास गर्नसक्यौं भने, त्यहाँ पर्यटकको चहलपहल मात्रै बढ्दैन । पूर्वाधार विकास र स्थानीय स्तरमै रोजगारी सिर्जना पनि हुन्छ ।


Facebook Comment


No ads found for this position