पर्यटकीय चहलपहलका लागि यस्तो छ सुरक्षा प्रोटोकल ….

काठमाडौं–कोरोना महामारीको प्रभाव विश्वभर छ । चीनको वुहान हुँदै युरोप छिरेको भाइरस अमेरिका हुँदै भारतबाट नेपाल प्रवेश गरेको हो । आजका मितिसम्म नेपालमा पनि संक्रमितको संख्या १२० पुगिसकेको छ । अहिलेसम्म नेपालमा कोरोनाकै कारण भने कसेको मृत्यु भइसकेको छैन ।
यस्तै, छिमेकी देश भारत भने यसबाट आक्रान्त बनेको छ । यो भाइरसको महामारी नियन्त्रण सबैका लागि चुनौतीपूर्ण बनेको छ । तर, पनि सबै प्रयासरत भने अवश्य छन् । यो भाइरसको मुख्य प्रभाव भनेको अर्थतन्त्रमै परेको छ ।
यसमा करोडौंले रोजगारी गुमाएका छन् । केही देशमा भोकमरी नै सुरु भइसकेको छ । नेपालजस्तो सानो अर्थतन्त्र भएको देशमा पनि यसको ठूलै असर परेको छ । करिब पौने दुई महिनादेखिको लकडाउनका कारण सबै आर्थिक क्रियाकलापहरु बन्द छन् ।
यसबाट सबैभन्दा ठूलो क्षति पुगेको पर्यटन क्षेत्र नै हो । भ्रमण वर्षको सरगर्मीसँगै २० लाख बढी पर्यटक आउने अपेक्षाले करिब चार खर्बभन्दा बढी लगानी भएको थियो । अहिले पर्यटन व्यवसायीलाई कसरी आफ्नो लगानी सुरक्षा गर्ने भन्ने चिन्ता छ । दैनिक बैंकबाट किस्ताका लागि आउने फोनले सडकमै आउनुपर्ने स्थिति सिर्जना हुने हो कि भन्ने चिन्तामा छन् ।
सरकारले कुनै ठोस योजना त ल्याउन सकेको छैन । तर, पर्यटन विकासको मुख्य निकाय नेपाल पर्यटन बोर्डले भने, लकडाउनपछि केही योजना बनाएको छ । नेपालको पर्यटन क्षेत्रलाई चलायमान बनाउन र लकडाउनपछि नयाँ दृष्ट्रिकोणबाट अगाडि बढ्न विभिन्न प्याकेजका विषयमा तयारी गरिरहेको छ ।
हामीले एक महिनादेखि लकडाउनपछि नेपाली पर्यटनको भविष्य कस्तो हुने । थलिएको पर्यटनलाई माथि उकास्न के कस्ता योजनाहरु हुनसक्छन् भन्ने विषयमा विभिन्न सरोकारवालासँग कुराकानी गर्ने गरेका छौं ।
आजको शृंखलामा नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक लिला बानियाँसँग लकडाउनपछि सामान्य अवस्थामा पर्यटन क्षेत्रलाई फर्काउन के कस्ता योजना ल्याउनुभएको छ र कसरी कार्यान्वयनमा आउँछन् भन्ने विषय कुराकानी गरेका छौं ।

स्वास्थ्य सुरक्षा प्रोटोकल बनाइरहेका छौं

अहिले त सबै ठप्प छन् । भ्रमण वर्ष पनि स्थगित भइसक्यो । त्यसका लागि गठन भएको सचिवालय पनि विगठन भइसकेको छ । भ्रमण वर्षलाई लक्षित गरी लगानी धेरै भएको थियो । दुर्भाग्य नै मान्नुपर्छ हाम्रो यत्रो लगानी भएकैबेला महामारी सुरु भयो ।
अब अहिलेको यो अवस्थाबाट सामान्य अवस्थामा पुग्न नै कम्तिमा दुईदेखि तीन वर्ष लाग्छ । नेपाली पर्यटनको अव मुख्य सिजन पनि करिब करिब अन्त्य हुन लागिसक्यो । तर, यसैवर्ष यो कोरोनाको प्रभावले गर्दा धेरै घाटा भएको छ ।
अब त यो वर्षात्को सिजन सुरु हुन लागिसक्यो । हाम्रो योजना अव दशैंपछि आन्तरिक पर्यटकको चहलपहल बढाउने नै हो । तर, त्यसका लागि पनि केही निश्चित मापदण्ड निर्माण गर्न लागेका छौं । पर्यटकीय क्षेत्र र पर्यटन व्यवसायसँग जोडिएका क्षेत्रहरुको स्वास्थ्य सुरक्षाका लागि प्रोटोकल अनिवार्य हो ।
यसमा होटल क्षेत्र मुख्य प्राथमिकतामा छ । हामीले आन्तरिक चहलपहल बढाउन पनि घुम्ने ठाउँ त सुरक्षित हुनुप¥यो नि । त्यसका लागि नै सुरक्षा प्रोटोकल बनाएका हौं । अहिले तुरुन्त होटल सञ्चालन गर्दा कारोना सर्न नदिनका लागि होटल सुरक्षित बनाउने प्रोटोकलको मुख्य आवश्यकता हो ।
यसभित्र, होटलको खाना खाने ठाउँदेखि सुत्ने कोठा र शौचालयसम्म स्वास्थ्य सुरक्षाका हिसाबले संक्रमण जोखिम शून्य बनाउने हो । त्यसपछि त्यहाँ काम गर्ने कामदारको सुरक्षा हो ।

बाहिरबाट पर्यटक आउँदा उनीहरुले पनि आफू सुरक्षित भएको महशुस गर्नुपर्छ । त्यसका लागि होटल व्यवसायी, कामदारलाई प्रोटोकलका विषयमा प्रशिक्षण दिनेछौं ।

पछि बीचबीचमा कार्यान्वयन भए नभएको पनि अनुगमन हुनेछ । हामीले यो काममा सफलता हासिल गर्नसक्यौं भने विस्तारै छिमेकी देशतर्फ प्रचारप्रसारलाई केन्द्रित गर्नुपर्छ । अहिले तत्काल बाहिरबाट पर्यटक आउने सम्भावना छैन । आन्तरिक पर्यटकको चहलपहल बढाउन भए पनि होटल लगायतका पर्यटक बस्ने क्षेत्र सुरक्षित बनाउनु आवश्यक छ । त्यसैले प्रोटोकल लागू गर्ने हाम्रो मुख्य योजना हो ।

आन्तरिक पर्यटक नै पहिलो आधार


यो महामारीले हामीलाई मात्रै होइन, पूरै विश्वलाई नै चपेटामा लिएको छ । यस्तो अवस्थामा हाम्रो देशमा समान्य परिस्थिति सिर्जना भए पनि हामीले तत्काल बाह्य पर्यटकको अपेक्षा गर्ने ठाउँ छैन । किनकी पर्यटन भनेको खर्च गर्ने क्षेत्र पनि हो ।
खर्च गर्नका लागि उनीहरु आफैंमा आत्मनिर्भर र सम्पन्न हुनुपर्छ । यही वर्षभित्र कोरोना नियन्त्रणमा आए पनि उनीहरु आफैंमा स्टेबल हुन समय लाग्छ नै । त्यसैले हाम्रो पहिलो आधार भनको आन्तरिक पर्यटन नै हो ।
हाम्रो आफ्नो चहलपहल बढाउन सक्यौं र नेपालका पर्यटकीय गन्तव्यस्थल सुरक्षित छन् भन्ने सन्देश प्रवाह गर्नसक्यौं भने छिमेकी देशलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । उनीहरुलाई विस्तारै आर्षण गर्न सक्यौं भने मात्रै तेस्रो मुलुकबाट पर्यटक ल्याउन सकिन्छ ।
यसका लागि उनीहरुलाई विशेष प्याकेजहरु पनि दिनुपर्छ । सुरुमा नेपालका गन्तव्यस्थल सुरक्षित छन्, नेपाल घुम्न आउनुहोस भनेर मोटिभेट गर्नुपर्छ । त्यसपछि यहाँ बस्दा पनि सुरक्षित हुनुहुन्छ भन्ने कन्फिडेन्ट जगाउनुपर्छ ।
नेपालमा जाँदा सुरक्षित छु भन्ने कन्फिडेन्ट हुनुपर्यो । त्यो म्यासेज पु¥याउन सक्यो भने मात्र बाहिरबाट पर्यटक आउन सक्छन् । अहिले केही देशले आन्तरिक पर्यटकको चहलपहल बढाएका छन् ।

गन्तव्यको दायरा बढाउनुपर्छ


नेपालमा अहिलेसम्म पर्यटन भनेकै हिमाल त्यसैमा पनि केही निश्चित छन् । तालतलैया छन् यी पनि केही जिल्लाका मात्रै छन् । ऐतिहासिक र धार्मिक क्षेत्र । यस्ता क्षेत्र पनि जनकपुर, लुम्बिनी उपत्यका मात्रै ।
हुन पनि हामीसँग भएका देखिने ठूलो ठाउँ यीनै हुन् । तर, यीबाहेक बाह्य क्षेत्रमा भएका पर्यटकीय गन्तव्यलाई अहिलेसम्म अगाडि ल्याउन सकिएको छैन । यस्ता क्षेत्रहरुमा पुग्ने मार्ग सहज बनाउनुपर्छ ।
नेपालले सगरमाथा, अन्नपूर्ण बाहेक अन्यत्रका हिमाल चढ्न निःशुल्क गरेको पनि छ । एक त मानिसलाई सगरमाथा विश्वकै अग्लो चुचुरो भएकाले पनि यसप्रति मोह बढेको हो । तर, देशमा विभिन्न क्षेत्रमा भएका अन्य हिमाल पनि चढ्न लायक हुँदा हुँदै पनि त्यहाँसम्म पुग्ने मार्ग सहज नहुँदा पर्यटक केही सीमित क्षेत्रमै केन्द्रित भएका हुन् ।
अब आगामी योजनामा गन्तव्यको दायरा बढाउनुपर्छ । भएका गन्तव्यको स्तरोन्नती र नयाँ ठाउँको प्रचारप्रसार गरी जाने माहोल बनाउनुपर्छ । हिमालहरु धेरै संख्यामा भए पनि हिमालको नजिक पुग्ने पूर्वाधार विकास गर्न नसकेसम्म गन्तव्यको दायरा विस्तार हुन सक्दैन ।

सुलभ र पूर्वाधार विकास


कुनै पनि ठाउँ जानुपर्दा पहिलो प्रश्न त त्यहाँ पुग्ने मार्गबारे नै उठ्छ । त्यसैले हाम्रो देशमा कैयौं प्राकृतिक सम्पदा हुँदा पनि केही सीमित क्षेत्रबाहेक अन्यत्र पुग्ने मार्ग सहज छैन । यो लकडाउनको अवधिमा हामीले भएका बाटोघाटोको स्तरोन्नति र नयाँ मार्ग बनाउनुपर्छ ।

हामीले विभिन्न तहका सरकारसँग यस विषयमा छलफल गरिरहेका छौं । केहीसँग त यसअघि पनि कुराकानी भइसकेकोछ । अर्को कुरा शुल्कको कुरा आउँछ । नेपालको अपि शैपाल पुग्न रोयल्टी फ्री भए पनि त्यहाँसम्म पुग्न लाखौं खर्च लाग्छ ।
त्यो खर्चले त आधा नेपाल घुम्न पुग्छ । विदेशी पर्यटकलाई हवाइ भाडा अत्यन्तै महँगो भो । यसबारेमा एउटा समिति पनि बनेको थियो । त्यसले के प्रतिवेदन बनायो । सार्वजनिक भएको छैन । हामीले पनि बारम्बार भन्दै आएका छौं । नेपाली र विदेशी पर्यटकका लागि हवाइ भाडादर एउटै बनाउन सके मात्रै सबै गन्तव्यमा पुगछन् । र उनीहरुको बसाइ पनि लम्बिन्छ ।


अब अर्को कुरा पूर्वाधार विकास हो । पर्यटकीय गन्तव्यमा अहिले पनि स्तरिय पूर्वाधार छैनन् । यदि त्यसलाई गुणस्तरीय बनाउनसक्यौं भने पनि लकडाउनपछि आउने पर्यटकलाई सहज हुन्छ । तर, यस्ता कुरामा सरकारको निर्णय चाहिन्छ । हामीले पहल गरिरहेका छौं ।
दुई वर्षबीचमा पूर्वाधार विकास गर्ने र भइरहेको ठाउँमा अपग्रेट गर्न सकिन्छ । कतिप ठाउँमा त शौचालयको व्यवस्था पनि छैन । अब अर्को कुरा हो हामीले केही प्याकेज नै दिने की भन्ने सोँचेका छौं ।

काठमाडौंकै ऐतिहासिक क्षेत्रमा जाँदा फरक फरक शुल्क तिर्नुपर्दछ । तर, पर्यटक बिमानस्थल छिर्नेबित्तिकै ऐतिहासिक क्षेत्रको विषयमा जानकारी दिने पुस्तिका हात पार्न सक्नुपर्छ । तर त्यहीबाट सबै पूरातात्विक क्षेत्रमा जाने शुल्क काट्न मिल्ने व्यवस्था गर्नुपर्छ । यस्तो हुँदा पर्यटकलाई पनि सहज हुन्छ । तर, त्यसमा पनि केही छुटसहितको प्याकेज दिनसक्यौं भने, काठमाडौं र भक्तपुर क्षेत्रमात्रै घुम्न आएको पर्यटक पाटनसम्म पुग्छ ।

सबै प्रदेशमा प्रर्यटन बोर्डमो उपस्थिति


संघीय संचरनामा गएसँगै हाम्रो उपस्थिति प्रदेश र स्थानीय तहमा छैन । जसकारण पर्यटन विकासका लागि विनियोजित बजेट सही ठाउँमा सदुपयोग हुन पनि सकेको छैन ।
अब हामीले लकडाउनपछि अवस्था सामान्य भएपछि सबै प्रदेशमा हाम्रो कार्यालय राखेर त्यहाँ कर्मचारीको उपस्थिति गराउँछौं । उनीहरुले प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गर्नेछन् ।
अहिले स्थानीय सरकारको आफ्नै मापदण्ड भएकाले पनि समस्या भइरहेको छ । एउटा मन्दिर, सानो बाटो लगायतका क्षेत्र भएको लगानीले प्रतिफल दिन सकेको छैन । केही स्थानीय तहसँग त यसअघि पनि मिलेर योजना बनाएका थियौं ।
अब सबै स्थानीय तहसँग समन्वय गरेर कहाँ पर्यटन विकासको सम्भावना छ त भन्ने विषयमा अध्ययन गरेर एकीकृत लगानी गर्न लगाउने हाम्रो योजना छ । समन्वय नहुँदा पनि समस्या भएको हो । अब अहिले आउनुभएको नयाँ कार्यकारी प्रमुखज्युले सानो संख्यामा भए पनि प्रदेशसम्म पर्यटन बोर्डका कर्मचारीको उपस्थिति गराउने योजना ल्याउनुभएको छ ।

डिजिटल मार्केटिङ


हामीसँग भएको डेटा म्यासेजमा पोजेटिभ कुराहरु जानुपर्छ । हामीले योजना बनाएका छौं । साउनसम्ममा आठ दश वटा स्टोरीहरु तयार पार्दैछौं । हामीले सकारात्मक स्टोरी दिन सक्यौं भने राम्रो हुन्छ ।
अहिलको अवस्थामा सबै डिजिटल संसारमै अभ्यस्त हुन्छन् । सबैले अनलाइनबाटै सबै जान्न चाहन्छन् । हामीले यो इन्ट्रेस्टलाई समात्न सक्नुपर्छ । अहिले तथ्यांक तयार पारिरहेका छौं । डिजिटल मार्केटिङ पनि हाम्रो प्राथकितामा छ ।
मानिसहरुको फरक फरक रुची हुन्छ । उनीहरुको रुची बुझेर प्याकेजसहितको मार्केटिङ गर्नेसक्यौं भने हामी हाम्रो योजनामा सफल हुन्छौं ।
यति काम भए पनि अर्को मुख्य काम भनेको उत्पादन र स्थानीय रोजगारी सँग जोडिएको छ । अहिले पनि राजधानीका ठूला होटलहरुले पर्यटकका लागि खुवाउने खाना बाहिरबाटै ल्याउँछन् । यो हाम्रो लागि ठूलो नोक्सानी पनि हो ।
अब कृषि मन्त्रालयसँग समन्वय गरेर सबै होटलमा स्थानीय र गुणस्तरीय उत्पादन नै पु¥याउन ज्ञारेन्टी गराउने योजना बनाएका छौं । यदि दिगो र गुणस्तरीय उत्पादन भयो भने, बर्सेनि अर्बौं रुपैयाँ बाहिर जानबाट पनि जोगिन्छ । र स्थानीय युवाहरुले पनि रोजगारी पाउँछन् । पर्यटन भनेको एक खालको सर्कल हो । मानिसले यसलाई घुम्ने र रमाउने कुरासँग मात्रै जोड्छन् । तर, यो शिक्षा, पूर्वाधार, कृषि उत्पादन, व्यापार व्यवसाय र रोजगारीलगायतका सबै क्षेत्रसँग जोडिएको छ ।


Facebook Comment


No ads found for this position