पर्यटकीय क्षेत्र लाङटाङमा बस्ती संरक्षणका लागि तटबन्ध निर्माण

रसुवाको पर्यटकीय क्षेत्र लाङटाङमा बस्ती संरक्षणका लागि तटबन्ध निर्माण गरिएको छ । जलस्रोत तथा सिँचाइ विकास सबडिभिजन कार्यालय रसुवाले पर्यटकीय क्षेत्र लाङटाङको बस्ती संरक्षणका लागि तटबन्ध निर्माण गरेको हो । 

०७२ को विनाशकारी भूकम्पसँगै आएको हिमपहिरोले क्षतिग्रस्त लाङटाङ गाउँमा पुनः बस्ती बसी पुरानै लयमा फर्किएसँगै बस्ती संरक्षणका लागि तटबन्ध निर्माण गरिएको सिँचाइ विकास सबडिभिजन कार्यालय रसुवाका प्रमुख कृष्णबहादुर पाण्डेले जानकारी  दिए । 

भूकम्पले हिमपहिरो झरेर बस्ती सबै लगेको र त्यसैको नजिकै नयाँ बस्ती बसेकाे बताइएको छ । 

उक्त नयाँ बस्तीलाई सुरक्षित राख्न घेरेर तटबन्ध बनाएको उनले बताए । 

लाङटाङ बस्तीनजिकै दुई मिटर चौडाइको दुई मिटर उचाइमा एक सय ६८ मिटर लामो पर्खाल लगाइएको उनले जानकारी दिए । 

यस वर्ष आएको बजेटअनुसार काम गरेको र अझ केही काम बाँकी रहेकाले आगामी वर्षको बजेटमा माग गर्ने उनले जानकारी दिए ।

लकडाउनका वेला पनि लाङटाङमा रहेका कामदार लगाई तटबन्ध निर्माण गरिएको सिँचाइ विकास सबडिभिजन कार्यालय रसुवाले जनाएको छ । 

प्रकोप व्यवस्थापनका लागि लाङटाङ बस्ती संरक्षण कार्यक्रमअन्तर्गत ४२ लाख ७५ हजार रुपैयाँको लागतमा एक सय ६८ मिटर पर्खाल लगाइएको हो । 

जंगली जनावर र वर्षातको समयमा खोला कटानबाट हुने क्षति तथा हिमपहिरोलाई रोक्न तटबन्धले रोक्न मद्दत गर्ने बताइएको छ ।

विनाशकारी भूकम्पसँगै आएको हिमपहिरोले लाङटाङमा एक सय ७५ जना स्थानीय तथा अन्य नेपालीसहित पाँच सयभन्दा बढीको ज्यान गएको  थियो । 

अन्नबाली तथा बस्ती संरक्षण गर्न यो वर्ष लगाइएको तटबन्धबाट ७० घरधुरी लाभान्वित भएको गोसाइँकुण्ड गाउँपालिका– ४ का  वडाध्यक्ष सुप्पा तामाङले बताए । 

विनाशकारी भूकम्पले  बगरमा परिणत जिल्लाको पर्यटकीय क्षेत्र लाङटाङ  अहिले पुरानै लयमा फर्किएको छ । 

लाङटाङवासीको लगनशीलता, परिश्रम र खटाइ तथा विभिन्न संघसंस्थाको सहयोगमा लाङटाङ पुरानै लयमा देखिन थालेको हो ।अनु आचार्य/नयाँपत्रीका


Facebook Comment


No ads found for this position