लगानीमा सहुलियत र नयाँ ट्रायलको विकास……

काठमाडौं–कोरोना भाइरसको त्रासका कारण सुरक्षित रहन नेपालमा लकडाउन लागू भएको झण्डै २ महिना पुग्न लागेको छ । यो बीचमा सरकारले लकडाउन अवधि बढाउनेबाहेक अन्य केही काम गर्न सकेको छैन ।
सीमा क्षेत्रमा लापरबाही हुँदा नेपालमा पनि आजसम्म २४५ जना कोरोना भाइरसका संक्रमित भेटिसकेका छन् । परीक्षणको दायरा बढायो भने यो संख्या अझै बढ्ने देखिन्छ । बीचमा केही खुकुलो पारे पनि संक्रमितको संख्या बढ्दै जाँदा पुनः लकडाउन कडा पारिएको छ ।
विश्व अर्थतन्त्र नै कोरोना प्रभावका कारण तहनहस भएको स्थिति छ । शक्तिशाली राष्ट्रहरु पनि कोरोना भाइरसको चपेटाबाट मुक्ति पाउन प्रयासरत छन् । यद्दपी अहिलेको परिस्थितिमा सबैभन्दा उपयुक्त उपाय भनेकै लकडाउन नै हो ।
कोरोना प्रभावले कृषि, पर्यटन, आर्थिक कारोबार सबै ठप्प भएका छन् । २०२० को सुरुवातमै भ्रमण वर्ष घोषणा गरेको नेपाल सरकारले कोरोना महामारी फैलिँदै गएपछि त्यो पनि स्थगित गर्नुप¥यो । यही वर्षलाई मात्र लक्षित गरी पर्यटन क्षेत्रमा करिब चार खर्ब रुपैयाँ लगानी गरिएको अनुमान छ ।
अझै केही समय कोरोनाको कहर जिवितै रहेमा केही वर्ष नेपालको पर्यटन क्षेत्र माथि उस्किन नसक्ने सम्बन्धीत क्षेत्रले बताउँदै आएका छन् । उनीहरुले सरकारसँग विभिन्न सहुलियत र लगानी सुरक्षाको माग गरिरहेका छन् । यद्दपी सरकारले नयाँ बजेट र नीति तथा कार्यक्रम पनि ल्याउन लागेको छ । नयाँ कार्यक्रममा पर्यटन व्यवसायको रक्षाका लागि सरकारसँग केही प्याकेजको माग गरिरहेका छन् ।
लकडाउनपछि उत्पन्न परिस्थिति र पर्यटन क्षेत्रमा परेको असर तथा यसबाट माथि उस्किन लकडाउनपछि के कस्ता कामहरु गर्न सकिन्छ भनेर हामीले पनि एक महिनादेखि विभिन्न सरोकारवाला निकाय प्रतिनिधि, पर्यटन व्यवसायीसँग छलफल गर्दै आएका छौं ।
आजको शृंखलामा हामीले अब नेपालको पर्यटन व्यवसायको भविष्य के हुन्छ त ? अहिले भएको लगानी कसरी सुरक्षा गर्ने ? र लकडाउनपछि नेपाली पर्यटन क्षेत्रलाई पूर्ववतः अवस्थामा ल्याउन के कस्ता उपायहरु उपयुक्त हुन्छन् भनेर युवा पर्यटन व्यवसायी महेन्द्र गुरुङसँग कुराकानी गरेका छौं ।

आन्तरिक पर्यटनलाई प्राथमिकता

विश्वभरी नै कोरोना महामारीका कारण सबै ठप्प छ । नेपाल पनि यसबाट अछुतो छैन । हामीले भ्रमण वर्षको सुरुवातसँगै ठूलै अपेक्षा राखेका थियौं । तर, कोरोनाका कारण सबै लगानी अहिले डुबेको छ । व्यवसायीहरु पनि आत्तिएका छन् ।
अहिलेको अवस्था हेर्दा सहजै हामी माथि उठ्न सक्ने स्थिति छैन । समान्य अवस्थामा फर्किन पनि कम्तिमा तीन वर्ष लाग्ने देखिन्छ । पहिलो प्राथमिकता भनेको त जीउज्यान सुरक्षाकै हो । तर, सबै सहज हुन आर्थिक गतिविधि पनि त चलायमान बनाउनुपर्छ ।
हामीले अहिलेसम्म पर्यटन भनेको घुम्ने र आनन्द लिने भन्ने मात्र बुझेका छौं । तर, यसको सबै क्षेत्रसँग सम्बन्ध छ । आर्थिक कारोबार, होटल व्यवसाय, कृषि, रोजगारीलगायता क्षेत्रमा पर्यटनको महत्वपूर्ण सम्बन्ध छ ।लकडाउनपछि भन्नेबित्तिकै बाह्य पर्यटकको आर्षकण गर्न सकिने स्थिति पनि हुँदैन । त्यसैले पहिलो प्राथमिकता भनेको आन्तरिक पर्यटन प्रवद्र्धन नै हो ।

“अहिलेको मुख्य समस्या भनेकै व्यवसायीलाई आफ्नो लगानी कसरी सुरक्षित बनाउने भन्ने नै हो । त्यसैले स्थिति सामान्य नहुँदासम्मका लागि सरकारले बैंकहरुलाई किस्ता होल्ड गर्न भन्नुपर्छ । हामीले छुट मागेका पनि छैनौं , तर, नीतिगत रुपमा हुने सहजतालाई ध्यानमा राखेर सरकारले पहल गर्यो भने पछिको स्थितिमा काम गर्न सहज हुन्छ ।”

सरकारले यसका लागि विशेष प्याकेज ल्याउनुपर्छ । आन्तरिक पर्यटक घुम्ने वातावरण बनाउनुपर्छ ।
त्यसका लागि हाम्रा गन्तव्यस्थलहरु पनि सुरक्षित हुनुपर्छ । हामीकहाँबाट थाइल्याण्ड, सिंगापुर लगायतका देशमा घुम्ने पर्यटक पनि छन् । अब तीनलाई पनि स्वदेशी पर्यटनमै योगदान पु¥याउने गरी घुम्ने प्रेरित गर्नुपर्छ । हरेक नेपालीलाई घुम्ने बानी बसाउनुपर्छ । त्यसका लागि सरकारले र पर्यटन व्यवसायीले सहुलियतपूर्ण प्याकेजहरु ल्याउनुपर्छ ।
अर्को कुरा हाम्रो आन्तरिक पर्यटन मजबुत भयो भने, छिमेकी देश भारत र चिनियाँ पर्यटकलाई लक्षित गरी हाम्रो मार्केटिङ अगाडि बढाउनुपर्छ ।

लगानीमा सहुलियत

अहिले पर्यटन क्षेत्रका व्यवसायीलाई किस्ता र ब्याजदर कसरी तिर्ने भन्ने चिन्ता छ । राष्ट्र बैंकले सबै क्षेत्रमा २ प्रतिशत ब्याजदर घटाए पनि यो पर्याप्त छैन । लकडाउनपछि साँच्चिकै हाम्रो देशको समृद्धि पर्यटन क्षेत्रबाटै गर्ने लक्ष्य हो भने, कृषिमा भन्दा पनि कम ब्याजदरमा ऋण प्रवाह गर्नुपर्छ ।
स्थानीय स्तरमा पनि लगानीको वातावरण सिर्जना गर्नुपर्छ । आन्तरिक रुपमा बलियो भयौं भने मात्र हामीले बाहिर आफ्नो छाप छोड्न सक्छौं ।
यस्तै अहिलेको मुख्य समस्या भनेकै व्यवसायीलाई आफ्नो लगानी कसरी सुरक्षित बनाउने भन्ने नै हो । त्यसैले स्थिति सामान्य नहुँदासम्मका लागि सरकारले बैंकहरुलाई किस्ता होल्ड गर्न भन्नुपर्छ । हामीले छुट मागेका पनि छैनौं ।
तर, नीतिगत रुपमा हुने सहजतालाई ध्यानमा राखेर सरकारले पहल गर्यो भने पछिको स्थितिमा काम गर्न सहज हुन्छ । त्यसैले, केही समयका लागि निश्चित अवधि तोकेर पर्यटन क्षेत्रमा लगानी गर्न इच्छुक व्यवसायीलाई न्यून ब्याजदरमा ऋण प्रवाह गर्नुपर्छ ।

सहुलियत व्यवसायीलाई मात्र होइन, पर्यटकलाई पनि दिनुपपर्छ । अहिले पनि देश घुम्ने भनेर आएको पर्यटक यहाँ महँगो हुँदा सीमित क्षेत्रमै पुगेर फर्किने गरेका छन् । उनीहरुलाई पनि आन्तरिक पर्यटकजसरी नै शुल्क लाग्ने बनाउनुपर्छ । यतातर्फ पनि सरकारले नीतिगत निर्णय गर्नसक्छ ।

नयाँ ट्रेकिङको खोजी

अहिलेसम्म नेपालको पर्यटकीय क्षेत्र भनेको हामीले हिमाल, तालतलैया र केही सीमित धार्मिक क्षेत्रलाई मात्रै मान्दै आएका छौं । हुन पनि प्रकृतिले दिएका यीनै ठूला संरचना देखाउन पनि सजिलो भएकैले सबैको आँखा यतैतिर गएको हो ।
तर, अब हामीले नयाँ गन्तव्यको खोजी पनि गर्नुपर्छ । हामीले हाम्रा एतिहासिक र पूरातात्विक महत्वका क्षेत्रमा अनुसन्धान गरे बाह्य पर्यटकलाई आर्षित गर्नुपर्छ । जस्तै, विगतमा विदेशका राजपरिवारका सदस्यहरु नेपालका विभिन्न क्षेत्रमा घुमेका छन् । पैदल नै कतिपय ठाउँमा यात्रा गरेका छन् ।
अब तीन ट्रेकिङहरुको पहिचान गरी हामीले उनीहरुलाई देखाउनुपर्छ । यसो हुँदा उनीहरु आफ्नो पूर्खा पुगेको क्षेत्र भनेर पनि आकिर्षत हुन्छन् । यस्तै, नेपालका कतिपय ग्रामीण क्षेत्रमा मानव सभ्यतादेखि ऐतिहासिक घटना भएका क्षेत्रहरु पनि छन् । त्यस्ता क्षेत्रलाई अनुसन्धान केन्द्रका रुपमा विकास गर्नसक्यो भने, बाहिरबाट विभिन्न अनुसन्धानका लागि आउनेहरुलाई हामीले देशभरी घुमाउनुपर्छ ।

विकास निर्माणको मोडालिटी परिवर्तन गरौं

अहिले केही वर्षयता नेपालमा पनि प्रकृति दोहन हुने दर बढेको छ । हिजो सुनसान र सुन्दर लाग्ने क्षेत्रहरुमा अहिले स्थानीय सरकारले अनावश्यक डोजर प्रयोग गरेर कुरुप बनाइसकेका छन् । भएभरको बजेट जति बाटो खन्नमै हाल्ने गरिएको छ ।
यो दिगो विकासको संकेत होइन, यो त विनाश हो । हामी प्राकृतिक स्रोत देखाएर नै पर्यटनबाट समृद्धि हासिल गर्ने भनिरहँदा स्थानीय तहले गरिरहेको विकास निर्माणको कामले प्रभावित बनाइरहेको छ ।
काम नै नगर भन्ने पनि होइन, तर आवश्यकता कति हो र त्यसले भोलीका दिनमा कस्तो असर पार्छ भन्ने अनुसन्धान पनि त हुनुपर्यो नि । अहिलेका सरकारले देखाउनकै लागि भए पनि कुलोमासमेत पुल हाल्ने गरेका छन् ।
सबै पर्यटकहरु गाडी चढ्नकै लागि आउँदैनन् । हिँड्ने चाहना भएकालाई हिँड्ने बाटो पनि त राखौं । नेपाल एड्भेन्चर टुरिजमका लागि राम्रो भूमि हो । तर, अहिलेको विकास प्रणालीलाई ती क्षेत्रहरुमा पनि तहसनहस बनाइसकेको छ ।
कम्तिमा पनि २८०० देखि तीन हजार मिटर उचाइको क्षेत्रमा मोटरबाटो नलैजाउँ भन्ने हो । किनकी हाम्रो अतिलुप्त अवस्थामा रहेका हिमाली पंक्षी र जनावरहरु यसै क्षेत्रमा बसोबास गर्छन् । यदी मोटर गुड्न थाले भने, त्यहााँबाट उनीहरु पलायन नै हुन्छन् ।
बाहिरतिर एउटा नयाँ चरा, वा विरुवा देख्नेबित्तिकै उनीहरु त्यसलाई ल्याएर हुर्काउने अनि अनुसन्धान गर्छन् । यदि मानव हितका लागि उपयोगी हो भने, त्यसको विस्तार पनि गर्छन् । तर, हामीकहाँ भएका सम्पदा पनि संरक्षण गर्न सकेका छैनौं । सबै मास्नेतिर मात्रै जान उद्दत छन् । साँच्चिकै पर्यटनबाट देशको समृद्धि चाहने हो भने प्राकृतिक स्रोत साधनको दोहन गर्न बन्द गर्नुपर्छ ।


Facebook Comment


No ads found for this position