युरोपेली मुलुक स्लोभेनियाले कोरोनामुक्त भएको घोषणा

लुब्लिआना — युरोपेली मुलुक स्लोभेनियाले कोरोना भाइरस (कोभिड–१९) महामारीको आधिकारिक अन्त्य भएको घोषणा गरेको छ । पछिल्लो दुई साता दैनिक ७ जनाभन्दा कम व्यक्तिमा मात्र संक्रमण पुष्टि भएपछि स्लोभेनिया सरकारले बिहीबार अबेर आफ्नो मुलुक कोरोना भाइरस संक्रमणबाट मुक्त भएको घोषणा गरेको हो ।  योसँगै कोरोनामुक्त भएको घोषणा गर्ने स्लोभेनिया युरोपकै पहिलो राष्ट्र बनेको छ ।

‘पछिल्लो दुई महिनादेखि स्लोभेनियाले कोरोना महामारीलाई नियन्त्रणमा लिएको छ र आज युरोपकै सबैभन्दा राम्रो अवस्थामा छ,’ प्रधानमन्त्री जानेज जान्सले बिहीबार देशलाई कोरोनामुक्त भएको घोषणा गर्दै संसद्मा बताए ।

२० लाख जनसंख्या भएको स्लोभेनियाको सीमा युरोपकै दोस्रो प्रभावित इटाली, अस्ट्रिया, हंगेरी र क्रोएसियासँग जोडिएको छ । गत मार्च १२ मा कोरोना महामारीको घोषणा गरेको स्लोभेनियामा हालसम्म १ हजार ४ सय ६४ जना कोरोना संक्रमित पुष्टि भएका छन् भने १ सय ३ जनाको मृत्यु भएको छ ।

आधिकारिक रूपमै कोरोनामुक्त भएको घोषणा भएपछि महामारीका बेला नागरिक र कम्पनीहरुलाई दिने भनेर घोषणा गरिएको आर्थिक सहायतासम्बन्धी व्यवस्था पनि मेको अन्त्यबाट अन्त्य हुने स्लोभेनिया सरकारले जनाएको छ । उसले जारी गरेको विज्ञप्तिअनुसार अब युरोपेली संघबाट स्लोभेनिया आउने मानिस पनि यसअघि अप्रिल महिनाको सुरुआत्मा घोषणा गरिएबमोजिम अनिवार्य कम्तीमा ७ दिन क्वारेन्टाइनमा जान बाध्य हुने छैनन् ।

यद्यपि युरोपेली संघबाहिरका नागरिक भने कम्तीमा १४ दिन क्वारेन्टाइनमा जानुपर्नेछ । कार्गो ल्याउने मानिस र कूटनीतिज्ञलाई भने यो नियम बाध्यकारी बनाइएको छैन । स्लोभेनिया सरकारले कोरोना भाइरसको लक्षण देखिएका विदेशीलाई भने देश प्रवेशमै प्रतिबन्ध लगाउने घोषणा पनि गरेको छ ।

कोरोनामुक्त भएको घोषणा गरे पनि स्लोभेनिया सरकारले आफ्ना नागरिकलाई सम्भावित संक्रमण नफैलियोस् भनेर केही आधारभूत नियम मान्न भने आग्रह गरेको छ । विस्तृत रूपमा नियम नखुलाइए पनि स्लोभेनियाका नागरिकले अनिवार्य मास्क प्रयोग गर्नुपर्ने छ भने कम्तीमा ५ फिट सामाजिक दूरी कायम गर्नुपर्नेछ । सार्वजनिक स्थलमा प्रवेश गर्नुपूर्व आफ्ना हातलाई स्यानिटाइज गर्नुपर्नेछ ।

मध्य मार्चदेखि स्लोभेनियामा सम्पूर्ण विद्यालय, खेल तथा सांस्कृतिक संस्था, बार, रेस्टुराँ र पसल बन्द थिए । मेडिकल र खाद्य पसल खुला गरिए पनि सार्वजनिक यातायातका साधन सञ्चालनमा रोक लगाइएको थियो । स्लोभेनियाले अप्रिल २० बाट लकडाउनलाई खुकुलो बनाउँदै लगेको थियो । यसै साताको सुरुआत्देखि सार्वजनिक यातायात सुचारु गरिएका छन् भने अर्को साताबाट केही शैक्षिक संस्था खोल्न अनुमति दिइएको छ । ३० कोठासम्मका होटल र सबै बार तथा रेस्टुराँ अर्को साताबाट सञ्चालन गर्न पाइने छ ।


Facebook Comment


No ads found for this position