लकडाउनपछि झन् भयावह स्थिति उत्पन्न हुनेछ

काठमाडौं–नेपालमा लकडाउन जारी भएको दुई महिना पुग्न एक सातामात्रै बाँकी छ । यो अवधिमा करिब चार सयको हाराहारीमा कोरोनाबाट संक्रमित भइसकेका छन् । दुई जनाको मृत्यु भइसकेको छ । समयमै सावधानी अपनाउन नसक्दा नेपालमा संक्रमको दर भयावह बन्दै जान थालेको छ ।
करिब ६ महिनाअघि देखि सुरु भएको संक्रमणको सबैभन्दा पहिलो प्रभाव नेपालको पर्यटन क्षेत्रमै पर्यो । युरोपमा संक्रमण फैलिएदेखि नै पर्यटकीय चहलपल बन्द नै भएको छ । अब यो लकडाउन खुले पनि पूर्ण रुपमा स्थिति सामान्य अवस्थामा फर्किन नपाउँदासम्म पर्यटन माथि उस्किन नसक्ने स्थिति आउँदैन ।
आजको शृंखलामा होटल सिद्धार्थ एण्ड हस्पिटालिटीका सिइओ कृष्ण न्यौपानेसँग लकडाउनपछिको पर्यटनको अवस्था र माथि उकास्न अपनाउनुपर्ने योजनाका विषयमा छलफल गरेका छौं ।
अहिलेको स्थिति त त सबैले देखेकै छौं । कोरोनाका कारण पर्यटन क्षेत्रजतिको संकट त अरुमा कुनै क्षेत्रमा पनि परेको छैन । लकडाउन खुल्नेबित्तिकै पनि पर्यटन व्यवसाय माथि उठ्न सक्दैन । किनकी पर्यटन भनेको आम्दानी भएकाहरुबाट चल्ने व्यवसाय हो ।
अहिले सबैले रोजगारी गुमाएका छन् । उनीहरुको जीवन सदृढ नहुँदासम्म हाम्रो व्यवसाय माथि उठ्ने अवस्था हुँदैन । धेरै मानिसहरुको आर्थिक अवस्था अहिले बिग्रेको छ । अन्य व्यवसाय भनेको अत्यावश्वक हो ।
तर, पर्यटन र होटल व्यवसाय भनेको सबै स्थिति समान्य भएपछि मात्रै चल्ने हो । सामान्य हुन अझै समय लाग्छ । त्यसैले हामीले यो बीचमा लकडाउनपछि के कस्ता योजना ल्याउने भन्ने विषयमा अहिलेदेखि नै तयारी थाल्नुपर्छ ।

केही वर्ष बाह्य पर्यटकको अपेक्षा नगरौं

विज्ञान र प्रविधिको यति धेरै विकास हुँदा पनि कोरोना संक्रमण फैलिएको ६ महिना बितिसक्दा पनि यसविरुद्धको औषधि पत्ता लगाउन सकिएको छैन । यो कहर अन्त्य हुन अझै दुई वर्षजति लाग्छ । त्यतिबेलासम्म ठूलो जनधनको क्षति भएन भने जीवन छिट्टै सामान्य अवस्थामा फर्किन्छ ।
सबैभन्दा पहिलो बन्द गर्नुपरेको र सबै सुरक्षित भएपछि मात्रै खुल्ने क्षेत्र भनेकै पर्यटन हो । त्यसभित्रको ठूलो हिस्सा होटल व्यवसाय नै हो । होटल व्यवसाय पनि लकडाउन जारी हुनुअघि नै बन्द भएका थिए । अब पूर्ण रुपमा समाज सुरक्षित नहुँदासम्म खोल्न मिल्दैन ।

हामीकहाँ धेरैले होटल व्यवसाय वा पर्यटन व्यवसायबाट रातारात करोडपति हुने सपना बुनेर लगानी गर्छन् । तर, यहाँ सोँचेजस्तो छैन । होटल व्यवसाय गर्ने मान्छेले ग्राहकलाई पनि बचाउने हो, कृषक, कर्मचारी र आफू पनि बच्ने हो


लकडाउन अन्त्य भएपछि पनि तत्कालै हामीले बाह्य पर्यटक आउने अपेक्षा गर्न सक्ने ठाउँ छैन । किनकी मानिसहरु आफूलाई पुग्नेगरी कमाएको खण्डमा मात्रै घुम्न आउने हुन् । तर, अहिले हामीकहाँभन्दा पनि पर्यटक आउने देशका नागरिकले धेरै रोजगारी गुमाएका छन् ।
त्यसैले उनीहरुको जीवनस्तर सामान्य अवस्थामा फर्किन पनि केही समय लाग्छ । हामीले लकडाउन खुलेको कम्तिमा दुई वर्षमा हाम्रो आफ्नो तयारी गर्नुपर्छ । केही एड्भेञ्चर पर्यटनबाहेक अरुमा आन्तरिक पर्यटनकै गतिविधि बढाउने योजना राज्यले ल्याउनुपर्छ ।

बजार हेरेर लगानी गरौं

नेपालमा पर्यटन क्षेत्रमा थुप्रै लगानी भएको छ । झन त भ्रमण वर्षको घोषणापछि मानिसहरु हौसिएर लगानी गर्न थाले । केही अनुभवि थिए भने, केही देखासिकीकै आधामार लगानी गर्न हौसिए । यदि अध्ययन गरेर लगानी गरेको भए अहिलेको यति धेरै घाटा हुने थिएन ।
पर्यटन वर्षलाई भनेर लहर चलेको थियो । यस्तो अभियानलाई लक्षित गरी गरिएको लगानी एक÷दुई वर्षका लागि मात्रै भनेर हुँदैन । यस्तै, होटल व्यवसायमा पनि धेरै लगानी भयो । बिना योजनाका यस्ता लगानी अहिले सबै डुब्ने अवस्थामा छन् ।
दुई÷चार वर्षमै मनग्य कमाउने सोँचले गरिएका लगानी अहिले जोखिममा परेका छन् । अहिलेको लकडाउनबाट पनि हामीले के सिक्नुपर्छ भने, कुनै पनि व्यवसायमा लगानी गर्न त्यस क्षेत्रको बजार अध्ययन आवश्यक पर्छ ।

होटल व्यवसायमा कमाइमात्रै हुँदैन ?

हामीकहाँ धेरैले होटल व्यवसाय वा पर्यटन व्यवसायबाट रातारात करोडपति हुने सपना बुनेर लगानी गर्छन् । तर, यहाँ सोँचेजस्तो छैन । होटल व्यवसाय गर्ने मान्छेले ग्राहकलाई पनि बचाउने हो, कृषक, कर्मचारी र आफू पनि बच्ने हो ।
लकडाउनले पर्यटन र होटल व्यवसायमा मात्रै अप्ठ्यारो परेको छैन । यसले कृषि उपज र रोजगारीमा पनि धेरे असर परेको छ । अहिले किसानले उत्पादन गरेका वस्तुहरु बजारमा खपत हुन सकेका छैनन् ।
लकडाउनले सबै उपभोक्ता घरभित्रै बसेका छन् । उपभोक्ता बढेका छन् । तै पनि किसानको उपज किन बजारमा खपत हुन सकेको छैन त ? किनकी त्यो उत्पादन सबै होटल क्षेत्रले लिँदै आएका थिए । तर, अहिले होटलहरु सबै बन्द भएपछि किसानले आफ्नो उत्पादन सबै बारीमै कुहाउने अवस्था आएको छ ।
किसानले उत्पादन गरेको दही, धनियाँदेखि किराना पसलसम्म होटल व्यवसायकै आधारमा चलेका थिए । अहिले ती सबै ठप्प छन् । यत्रो धेरै रोजगारी गुम्नु भनेकै अभ्यास नभइकन गरिएको लगानीको प्रतिफल हो । अनुसनधान नगरी व्यवसाय गर्दा लगानी बढ्यो ।

लकडाउनपछि झन् भयावह स्थिति उत्पन्न हुनेछ

अहिले लकडाउन छ । मानिसहरुले आफूसँग भएको आर्थिक सम्पत्ती खर्च गरिरहेका छन् । तर, लकडाउन खुल्नेबित्तिकै सबैको गोजीमा भएको पैसा सकिएको हुनेछ । बैंकमा भएको पैसा पनि सकिएको हुनेछ ।
त्यतिबेला नै अभाव र भोकमरीको सिर्जना हुनसक्छ । सरकार पछिको त्यो अवस्थाबारे अहिलेदेखि नै सचेत हुनुपर्छ । आन्तरिक उत्पादन बृद्धिका योजनाहरु ल्याउनुपर्छ । आज पाँच लाख तिर्नेले लकडाउनपछि १० लाख तिर्नुपर्ने स्थिति आउनसक्छ । त्यसबेला समस्या समाधान गर्न निकै गाह्रो पर्नेछ ।

ग्राहकलाई सहुलियत दिनुपर्छ

अहिले धेरै छलफलहरु भइरहेका छन्, लकडाउनपछि पर्यटकीय क्षेत्र कसरी माथि उठाउने भन्ने विषयमा । पर्यटनलाई लक्षित गरी धेरै लगानी भएको क्षेत्र नै होटल व्यवसाय हो । हामीले धेरै व्यापारीलाई आग्रह गरिरहेका छौं ।
अब लकडाउनपछि हामी आफू बाँच्ने, कर्मचारी बचाउने र ग्राहकलाई पनि सन्तुष्ट पार्न सक्नुपर्छ । हाम्रा व्यवसाय जीवित रहनेगरी केही समयसम्मका लागि होटलका विभिन्न आइटमहरुको शुल्कमा हेरफेर गर्नुपर्दछ ।
ग्राहक पनि नलुटिउन र हामीलाई आफ्नो बाँच्ने आधार खडा होस् । मानिसहरु आवश्यकताले हिँड्दा नै चल्ने व्यवसाय हो । त्यसैले अब बाहिरबाट आउने पर्यटक र आन्तरिक पर्यटक आकर्षणका लागि हामीले आफ्नो मार्जिनमा केही घटाउनुपर्ने देखिन्छ ।

ब्याजदर र लगानीमा सहुलियत

केही दिनअघि पर्यटन बोर्डले अबको पर्यटनको भविष्यका विषयमा छलफल गरेको थियो । पश्चिम क्षेत्रको प्रतिनिधिको हिसाबले मैले पनि आफ्ना सुझावहरु राखेका थिएँ । हामीलाई अहिले धेरै ठूलो योजनाहरु पनि चाहिएका छैनन् ।
तर, साना–साना नीतिगत कुरामा सुधार गर्नसक्ने हो भने, हामीले हाम्रो पर्यटन र होटल व्यवसायलाई केही वर्षमै पूर्ववतः अवस्थामा फर्काउन सक्छौं ।
सरकारले यस्तो पस्थितिमा सस्तो अनुदान, पैसा बाँड्ने कामलार्य प्राथमिकता दिन खोजेको देखिन्छ । तर, कहिलेसम्म राहत र अनुदानमै व्यवसाय बचाउन सकिन्छ । यस्तो कुरालाई निरुन्तसाहित गर्नुपर्छ ।
कुन व्यवसायले राज्यको समृद्धि र आर्थिक विकासमा कति योगदान गरेको छ भन्ने कुराको मूल्यांकन हुन जरुरी छ । सबैभन्दा धेरै रोजगारी सिर्जना गरेकने भनेकै पर्यटन व्यवसाय हो । सिधै डलर भित्र्याउने व्यवसाय हो ।
आन्तरिक उत्पादनको खपत बढाउने काम पनि यही क्षेत्रले गरेको छ । यो व्यवसाय डुब्नेबित्तिकै रोजगारी र आन्तरिक उत्पादनको अपत बजारमा घट्छ । यस्तो स्थिति आउने देश र जनताकै लागि राम्रो होइन ।
अन्य क्षेत्रले कच्चा पदार्थ बाहिरबाट किन्छन् । किन्नेले पनि कर तिर्नुपर्छ र बेच्नेले पनि कर तिर्नुपर्छ । १० रुपैयाँको १३ प्रतिशत कर राज्यले पाउँछ । तर, होटल व्यवसायमा भने, पूरै कर सरकारलाई जस्ताको त्यस्तै तिर्नुपर्छ । हामीले खानामा पनि पूरै कर तिर्नुपर्छ । १३ प्रतिशत सरकारले जस्तोको त्यस्तै पाउँछ । त्यसका अतिरिक्त आयकर र मदिराकर पनि जोडिन्छ ।


यत्रो धेरै योगदान दिएको क्षेत्र बचाउन राज्यले कुनै पनि योजना नल्याउनु दुःखद पक्ष हो । यस्तै, संस्कृति संरक्षणमा पनि होटल व्यवसायको ठूलो भूमिका छ । सरकारले यस्ता संसकृति जोगाउन पनि होटल र पर्यटन व्यवसाय जोगाउन आवश्यक छ ।
राज्यले पैसा बाँडेर हुँदैन । बैंकको ब्याजमा सहुलियत दिनुपर्छ । अहिले बैंकहरुले ब्याजदर घटाउनँदा आफुहरु घाटामा जाने बताउँदै आएका छन् । तर, उनीहरुको आन्तरिक खर्चको कुनै हिसाबकिताब हुँदैन ।
यद्दपी बैंकको आन्तरिक खर्च मात्रै घटाउने हो भने, ब्याजदरमा सहुलियत दिँदा कुनै असर पर्दैन । कृषिमा सरकारले पाँच प्रतिशत ब्याजदरमा लोन दिँदै आएको छ । अब पर्यटनमा पनि ५ प्रतिशतभन्दा कम दिनुपर्छ ।
तर, सामान्य व्यक्तिले पनि राम्रो योजना ल्याउन सके उसको पनि पर्यटन व्यवसायमा प्रतिनिधित्व हुने वातावरण बनाइनुपर्छ । अहिले पर्यटनमा जसको पहुँच छ त्यसले मात्रै सात प्रतिशतमा लोन पाउने स्थिति छ । यस्तो अवस्था अन्त्य नभएसम्म ग्रामीण पर्यटनको विकास हुन सक्दैन ।
यस्तै अहिले बैंकको किस्ता तिर्न मुस्किल छ । दुई÷तीन वर्षजति त सामान्य हुनै समय लाग्छ । कम्तिमा एक वर्ष किस्ता तिर्ने मिति राखिदिनुपरो । बरु ढिलो हुनसक्छ । तर, मिति होल्ड गर्नसक्यो भने, व्यवसाय जिवितै रहन्छन् ।

बचत हुने रकम लगानीमा गर्न लगाउनुपर्छ

नेपालीसँग अहिले रकम नभएको होइन, यदि आर्थिक स्थिति कम हुन्थ्यो भने, यति धेरै कैंकहरु चल्न सक्दैनथे । अब सरकारले बचत गर्ने बानीलाई हटाउनुपर्छ । नीतिमार्फत नै राष्ट्र बैंकले बचतमा दिने ब्याजदरलाई घटाउनुपर्छ । बढीमा चार प्रतिशतभन्दा धेरै दिनुहुँदैन ।
यदि यस्तो हुनसक्यो भने, बैंकमा जम्मा हुने पुँजी बजारमा चलायमान हुन्छ । लगानी बढ्छ । उत्पादनका क्षेत्रमा लगानी भए आन्तरिक उत्पादन बृद्धि र रोजगारीका अवसर सिर्जना हुनेछन् । अहिले पुनर्कर्जामा सात प्रतिशत ब्याजदर छ ।
अब त्यसलाई पनि पाँच प्रतिशतमा अनिवार्य पुनर्कर्जा दिनुपर्छ । यदि यस्तो हुँदा बैंकबाट जसले ऋण लिएका छन् । उनीहरुको ब्याजदर पनि आधाले घट्नेछ । यस्तै, विद्युत् महशुलमा उद्योगलाई धेरै छुट दिइएको छ । तर, पर्यटन व्यवसायीले शतप्रतिशत तिर्नुपर्छ । अब सरकारले पर्यटन व्यवसायमा पनि विद्युत् महशुलमा छुट दिनुपर्छ ।

कर्मचारीका लागि विशेष प्याकेज ल्याउँ

अहिले आन्तरिक पर्यटन र ग्रामीण पर्यटनको विषयमा धेरै बहस हुँदैछन् । तर, आन्तरिक पर्यटन चलायमान गराउन पनि त उनीहरुको आर्थिक अवस्था बलियो हुनुपर्छ । आन्तरिक पर्यटक भनेका कर्मचारी नै हुन् ।
अब सरकारले कर्मचारीका लागि विशेष प्याकेज ल्याउनुपर्छ । सरकारले कर्मचारीका लागि वर्षमा निश्चित दिन छुट्याएर भ्रमणका लागि प्ररित गर्नुपर्छ । र सँगै उनीहरुलाई आर्थिक प्याकेज पनि दिइनुपर्छ ।
यस्तै, हाम्रोमा आउने बाह्य पर्यटकको तुलनामा यहाँबाट बाहिर घुम्न जाने पर्यटकको संख्या धेरै छ । अब यसलाई निरुत्साहित गर्नुपर्छ । पहिलो आफ्नै देश घुम्ने नीति बनायो भने, हामी बाह्य पर्यटकका लागि तयार नहुँदासम्म आन्तरिक पर्यटकले नै आर्थिक गतिविधि चलायमान हुनसक्छ ।

प्रोटोकल तयार पारौं

मैले केही दिनअघि मात्रै पर्यटन बोर्डमा स्वास्थ्य सुरक्षा प्राटोकल योजनाबारे इमेल पठाएको छ । मैले विभिन्न अन्तर्राष्ट्रिय मापदण्ड हेरेर तयार पारेको छु । अहिले यति धेरै राज्यले खर्च गरेको संक्रमण जोगाउन नै हो ।
तर, लकडाउनपछि पनि स्वास्थ्य सुरक्षामा संवेदनशील भएनौं भने, सबै बेकार हुन्छ । स्वास्थ्य सुरक्षा प्राटोकलभित्र बसेर काम गर्नसक्ने हो भने, हामी धेरै हदसम्म सुरक्षित हुन्छौं । आजको दिनमा त तत्काल सञ्चालन गर्ने अवस्था छैन । मापदण्ड भित्र रहेकालाई सञ्चालन गर्न दिउँ । कसरी कर्मचारी जोगाउने, कसरी खुवाउने, ग्राहकको सुरक्षाका लागि कस्ता नियम पालना गर्नुपर्छ भन्ने सबै प्रोटोकलभित्र छन् ।
तर, यो प्रोटोकल कसैले पालना गरे कि गरेनन् भन्ने कुरा प्रशासनले अनुगमन गर्नुपर्छ । स्वास्थ्य सुरक्षाका तालिमदेखि सामान आयातसम्म राज्यले सहजता गराउनुपर्छ । लकडाउनपछि हरेक क्षेत्र जो भीडभाड हुनेछन् त्यहाँ विशेषज्ञ चिकित्सकको व्यवस्था गरिनुपर्छ ।
यो प्रोटोकलभित्र हाम्रोे आन्तरिक खर्च कटौतीका कुरा पनि छन् । हाम्रो नेपालमा खाना खेर फाल्ने धेरै नराम्रो संस्कार छ । अब होटलहरुले पनि ग्राहकलाई खाना फाल्न दिनुहुँदैन । धेरै भएको खण्डमा उनीहरुलाई प्याकेजिङको व्यवस्था पनि गरिदिनुपर्छ ।

भाडामा पर्यटकलाई सहुलियत

अहिले नेपालमा आउने विदेशी पर्यटकका लागि भाडादर निकै महँगो छ । हाम्रा कम्पनीहरुले पनि निकै महँगो प्याकेज बनाउँछन् । महँगो प्याकेज धेरै बिक्दैन । यो महँगीबाट सबैभन्दा धेरै पश्चिमको पर्यटन प्रताडित बनेको छ ।
पश्चिममा सडक पहुँच राम्रो छैन । हवाइ मार्ग नै सुरक्षित मानिन्छ । तर, विदेशी पर्यटकलाई १० गुणासम्म पनि लिने गरेको पाइन्छ । यसले पर्यटकलाई लुटिएको अनुभूति हुन्छ । हामीले बारम्बार ग्रामीण पर्यटनको विकास गर्ने हो भने, विदेशीलाई पनि नेपाली सरहकै हवाइ भाडा कायम गर्नुपर्ने माग गर्दै आएका छौं । उदाहरणका लागि डोल्पा जान एउटा विदेशी पर्यटकलाई एकलाख रुपैयाँ भाडा मात्रै खर्च हुन्छ । तर, फेरिक त्यहाँ प्रवेश गर्नेवित्तिकै ५ सय डलर प्रवेश शुल्क लिइन्छ ।
यो सबै पश्चिममा पर्यकट नजाउन् भन्नकै लागि तय गरिएको हो । यसले ठूला व्यवसायीका व्यवसायमा अप्ठ्यारो पर्न नदिनका लागि पश्चिममा पूरै बन्देज गर्न खोजिएको छ । एक त त्यति महँगो खर्चेर आएको पर्यटकलाई फेरिक प्रवेश शुल्क लिनु आवश्यक छैन । यदि सरकारले ग्रामीण पर्यटनको विकास गर्न चाहेको हो भने, हवाइ भाडामा सहजता गर्नु आवश्यक छ ।


Facebook Comment