कोरोना अन्त्यपछिको महाविपद

प्रकाश देवकोटा

काठमाडौं–कोरोना भाइरसले विश्वव्यापी रुपमा कहर फैलाएको ६ महिना पुगिसकेको छ । यो अवधिमा तीन लाख बढीको मृत्यु भएको छ । भने, करिब आधा करोड संक्रमित बनेका छन् । करिब २ सय बढी देशमा संक्रमण फैलिएको छ ।

अहिले कोरोना भाइरसको संक्रमणा फैलिन नदिनका लागि सारा विश्व लकडाउनमा छ । अहिलेको सबैभन्दा उपयुक्त उपाय भनेकै घरभित्रै बन्दबन्दीमा बस्नुलाई नै मानिएको छ । नेपाल पनि दुई महिनादेखि लकडाउनमै छ ।

यस अवधिमा विश्वका करोडौं मानिसले रोजगारी गुमाएका छन् । विश्व स्वास्थ्य संगठनले कोरोनाको कहरपछि विश्वमा अर्को ठूलो महाविपद आउने चेतावनी दिएको छ । त्यो हो भोकमरी । किनकी अहिले करिब ८० प्रतिशतभन्दा बढी विश्वका कलकारखाना बन्द छन् ।

कामदार सबै घरभित्रै छन् । जस कारण उत्पादन पनि घट्दै गइरहेको छ । अबको केही महिनाभित्रै लकडाउन खुला गर्न सक्ने स्थिति आएन भने, चाँडै नै भोकमरीको स्थिति सिर्जना हुनेछ । यसबाट करोडौंले ज्यान गुमाउन सक्छन् ।

अहिले हामीले कोरोनापछिको अवस्था अनुमान गरेर कुनै विशेष योजना ल्याउन सकेनौं भने, यसको असर पनि भयावह नै देखिनेछ । अन्य देशमा कोरोनाको संक्रमण चरम बिन्दुमा पुगेका बेला नेपालमा भने, शून्य नै थियो ।

लकडाउन भएको करिब डेड महिनासम्म सातामा एक÷दुई जनाभन्दा माथि संक्रमण देखिएको थिएन । तर, बैशाख लागेसँगै कोरोनाका संक्रमितको संख्या ह्वात्तै बढेको छ । यसको कारण हो परीक्षण अभाव ।

विगतमा परीक्षण नभएकै कारण पनि कति मानिसहरुमा कोरोना भएर पनि देखिएको थिएन । जसैजसै परीक्षणको दायरा बढाइयो त्यससँगै संक्रमितको संख्या पनि बढ्दै गइरहेको छ । समयमै यसलाई नियन्त्रणमा लिन परीक्षण र उपचार विधि शक्त नपार्ने हो भने, छिट्टै नै पूरै नेपाल संक्रमणको चपेटामा पर्ने देखिन्छ ।

कोरोना अन्त्यपछिको अवस्था

अब कुरा गरौं कोरोना भाइरसको कहर अन्त्य पछिको कुरा । अहिले विश्वका विभिन्न कम्पनीहरु यो भाइरसविरुद्धको भ्याक्सिन बनाउने लागि परेका छन् । पहिलो चरणको प्रयोग सफल पनि भएको छ । समाचारहरुका अनुसार यो वर्षको अन्त्यसम्ममा भ्याक्सिन विश्व बजारमा आउनेछ ।

भ्याक्सिन आएपछि विश्वले छिट्टै नै कोनोना नियन्त्रणमा पनि लिनेछ । तर, त्यसपछि के ? लकडाउन खुला हुनेबित्तकै सारा विश्व चलायमान हुनेछ । आर्थिक स्थिति मजबुत भएका राज्यका लागि त केही समयमै पूर्ववतः अवस्थामा आउन सहजै होला । तर, नेपालजस्ता सँधै अरुको उत्पादनमा निर्भर हुने देशका लागि भने ठूलै समस्या उत्पन्न हुनेछ ।

अहिले सबै मानिस घरभित्रै छन् । भएको केही अन्नपात प्रयोग गरिरहेका छन् । उनीहरुसँग केही पैसा पनि छ । तर, या लकडाउन अन्त्य हुँदासम्म बाँकी रहनेछैन । ऋणसापट गरेर जीवन धान्नुपर्ने स्थिति आउनसक्छ ।

मानिसहरुका गोजी रित्तिएका हुनेछन् । हुँदाखानेदेखि मध्यम परिवारसम्मलाई खाद्यान्न संकट झेल्नुपर्ने हुन्छ । किनकी नेपालमा करिब ७० प्रतिशत खाद्यान्न भारतबाटै आउन थालेको छ । पछिल्लो उत्पन्न परिस्थिति हेर्दा भोली भारतले सहयोग गर्ने कुरा त परै जाओस हामीले खाद्यान्न खरिद गर्न पनि समस्या हुनेछ ।

कोरोना प्रकोप नेपालमा मात्र होइन, त्यहाँ पनि झन् परेको छ । सबै किसानले खेती गर्न पाएका छैनन् । उनीहरुसँग भएको अन्नपात पनि आफूलाई नै प्रयोग गर्न ठिक्क हुनेछ । त्यसैले हामीसँग केहीगरी कोरोना कहर अन्त्यसम्म पैसा जोगिए पनि हामीसँग किन्नलाई वस्तुको सहजता नहुनसक्छ ।यतिमात्र होइन, सबै मानिसहरुले आफ्नो आर्थिक हैसियत पनि गुमाउनेछन् ।

रोजगारीको बाटोहरु तत्काल खुल्ने सम्भावना हुँदैन । मानिसहरु बाँच्नकै लागि चोरी डकैती गर्नुपर्ने स्थिति पनि आउनसक्छ । त्यसका लागि हामी अहिलेदेखि नै तयार हुनुपर्छ । पछि गरौंला भनेर हुँदैन । मानिसहरु भन्छन्, ‘अनिकालमा बिउ जोगाउनु, आपतमा जीउ जोगाउनु’ । हो अहिले आपत मात्रै होइन, अनिकालको पनि स्थिति हो । यतिबेला जीउ मात्रै होइन, बिउ जोगाउनु पनि हाम्रो लागि आवश्यक छ ।

रेमिट्यान्समा गिरावट

हाम्रो देशको सबैभन्दा ठूलो आर्थिक योगदान गरेको भनेकै रेमिट्यान्स हो । तर, विश्वभरी नै यसको प्रभावका कारण विदेशमा पनि तत्काल कुनै रोजगारीका अवसर सिर्जना हुने स्थिति रहँदैन । कति नेपाली बाहिरै अड्किएका छन् । उनीहरुलाई कतिबेला घर जान पाउँला भन्ने भइरहेको छ ।

लकडाउन खुल्नेबित्तिकै उनीहरु स्वदेश फर्किनेछन् । आन्तरिक उत्पादन शून्य भएको अवस्थामा हाम्रो उपभोग गर्ने जनशक्ति पनि बृद्धि हुनेछ । मानिसहरु बेरोजगार भए भने, अनेक गलत बाटोहरु अपनाउनसक्छन् ।

अहिले सरकारले सबै नागरिकलाई सुरक्षित रहन घरभित्रै बस्न उर्दी गरेको छ । अहिलेको अवस्थामा यो आवश्यक पनि हो । सरकारसँग अरु कुनै उपाय नभएकाले संक्रमण रोक्न घरभित्रै थुन्नुको विकल्प पनि त छैन । तर, यसको प्रभाव त लकडाउन खुलेपछि नै देखिनेछ । त्यसका लागि हामी सबै आ–आफ्नो क्षेत्रबाट तयारी अवस्थामा रहनुपर्छ । क्रमश…
कोरोनापछि निम्तिने महाविदबाट पार लाग्ने कसरी अर्को शृंखलामा


Facebook Comment


No ads found for this position