कोरोनापछिकाे रेमिट्यान्स र राेजगारी

प्रकाश देवकोटा

कोरोना भाइरसको संक्रमणबाट तीन लाख २९ हजार बढीको मृत्यु भइसकेको छ भने, ५१ लाख बढी संक्रमित भएका छन् । सुरुवामा चीनको वुहान हुँदै युरोप छिरेको भाइरसले त्यहाँ आतंक नै मच्चायो । अहिले पनि युरोप र अमेरिका कोरोनाको प्रभाव उत्तिकै छ ।

तर, पछिल्लो समय दक्षिण एसियामा पनि कोरोनाको संक्रमण दैनिक उच्च हुँदै गएको छ । भारतमा एक घण्टाको अवधिमा करिब ५ जनाको ज्यान जाने गरेको तथ्यांक सञ्चारमाध्यममा आइरहेका न् । नेपालमा पनि अहिलेसम्म संक्रमणबाट तीन जनाको मृत्यु भइसकेको छ । संक्रमित भने चार सय बढी छन् ।

कोरोनाले महामारीको रुप लिएपछि यसबाट सबैभन्दा पहिलो आर्थिक क्षेत्र नै प्रभावमा पर्यो । सबै कलकारखानाहरु बन्द भए । लाखौं करोडौंले रोजगारी पनि गुमाए । नेपाली पनि यसबाट अछुतो रहन सकेका छैनन् ।

अहिले लाखौं नेपाली विदेशमा छन् । उनीहरुले पठाउने रेमट्यिान्सले नै देशको आर्थिक गतिविधि चलायमान भएको थियो । नेपालको आर्थिक क्षेत्रमा सबैभन्दा ठूलो हिस्सा पनि यसैले ओगटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार नेपालको कुल ग्राहस्थ उत्पादन –जीडीपी) मा २५ दशमलव ४ प्रतिशत रेमिट्यान्सले आगटेको छ ।

एउटै मात्रै क्षेत्रको यो योगदान सबैभन्दा उच्च हो । साथै नेपालको आर्थिक वृद्धिदर ७.१ पुग्नुमा पनि रेमिट्यान्सकै योगदान हो । चालू वर्षमा भने यसैलाई आधार मानि आर्थिक वृद्धिदर ८ प्रतिशत नाघ्ने अनुमान गरिएको थियो । जसलाई यही आर्थिक वर्षका पहिलो चार महिनामा भित्रिएको रेमिट्यान्सले सजिलै लक्ष्य प्राप्त हुने संकेत गरेको थियो ।

तर, अहिले कोरोनाको महामारी सुरुसँगै विश्वभरका सबै आर्थिक गतिविधि बन्द छन् । औपचारिक र अनौपचारिक रोजगारका बाटोहरु पनि बन्द नै छन् । अधिकांश मजदुर बेरोजगार बनेका छन् । अझै पनि केही हुने पनि छन् ।

रोजगारी गुमाएपछि विदेशमा भएका नेपाली रेमिट्यान्स पठाउन असमर्थ भएका छन् । जस कारण नेपालको ठूलो आर्थिक हिस्सा नै संकटमा परेको छ ।

यति तथ्यांकहरु दिँदै गर्दा एउटा कुरा के हो भने, के नेपालको आर्थिक वृद्धि रेमिट्यान्सबाट मात्रै सम्भव हो त ? के रेमिट्यान्स नै दिर्घकालीन बाटो हो । यदि हामीले यस्तो सोँचिरहेका छौं भने, पक्कै पनि यसबाट भोलीका दिनमा हामीले अपेक्षाकृत उपलब्धी हासिल गर्न सक्ने छैनौं ।

अबको दिनमा वैदेशिक रोजगारी पनि संकटमा पर्ने निश्चित छ । किनकी कोरोना एउटा देशमा आएका भूकम्प वा बाढी पहिरोजस्तो होइन । यसबाट पूरै विश्व नै प्रभावित छ । रोजगारी हामीले मात्रै गुमाएका छैनौं । शक्ति सम्पन्न देशका करोडौं युवा पनि अहिले बेरोजगार छन् ।

अबको विकल्प के त ?

हामीले अब रेमिट्यान्सको विकल्प खोज्नुपर्छ । किनकी लकडाउन खुलेपछि पूर्ववतः अवस्थामा उद्योग कलकारखानाहरु सञ्चालनमा आउन केही समय लाग्नेछ ।

बाहिर रहेका नेपाली पनि स्वदेश फर्कन चाहँदैछन् । लाखौंको संख्यामा लकडाउनपछि उनीहरु नेपाल भित्रिनेछन् । अहिले नेपालमै भएका युवालाई त नेपालले रोजगारी दिन सकेको छैन ।

यहाँ भएका युवाले पनि काम पाउन नसकेको अवस्थामा बाहिरबाट आउने लाखौंलाई कसरी व्यवस्थापन गर्न सक्छ ? भलै कोरोनाबाट हामीले यही वर्षभित्रै मुक्ति पायौं भने, पनि लकडाउनपछिका दिनहरु सोँचेजति सहज हुनेवाला पनि छैनन् ।

वैदेशिक रोजगारीले नेपालमा रेमिट्यान्स त भित्र्याएको छ, तर देशभित्रै काम गर्नुपर्ने लाखौं दक्ष जनशक्तिले बाहिर पसिना बगाउनुपरेको छ । अब तिनलाई हामीले आफ्नै देशमा ल्याएर रोजगारी दिनसक्नुपर्छ । उत्पादनका क्षेत्रमा लगाउनुपर्छ ।

तर, यसका लागि सरकारको ठोस योजना हुनुपर्छ । विगतको जस्तो निर्भरमुखि काम भएर हुँदैन । अब व्यवसायीक उत्पादनमा काम लगाउनुपर्छ । सरकारले कम्तिमा पनि २० वर्षको रणनीतिक योजना ल्याएर कार्यान्वनयमा ल्याउन सक्यो भने, पक्कै पनि केही समयमा नै देशले मुहार फेर्नेछ ।

लकडाउन खुलेपछिको परिस्थित अप्ठ्यारै हुनेछ । त्यससँग जुध्न अहिलेदेखि नै तयार भएनौं भने भोली हामीले निकै दुःख पाउनेछौं । अब रेमिट्यान्सले मात्रै देश चल्छ भन्ने सोँच्नुहुँदैन । यसको विकल्प पनि सोँचिनुपर्छ । क्रमश…
रेमिट्यान्सको विकल्प के र कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने भोलीको शृंखलामा


Facebook Comment


No ads found for this position