६ करोड मानिस चरम गरिबीमा धकेलिँदै : विश्व बैंक

भारतमा मात्रै १ करोड २० लाख गरिबीको रेखामुनि प्रवेश गर्ने आकलन

विश्व बैंकले जारी महामारीबाट विश्वका ६ करोडभन्दा बढी मानिस चरम गरिबीमा प्रवेश गर्ने नयाँ प्रक्षेपण सार्वजनिक गरेको छ । महामारीको संकट व्यापक र दीर्घकालीन बन्दै गइरहेको भन्दै विश्व बैंकले चरम गरिबीको संख्यामा पनि भारी वृद्धि हुने प्रक्षेपण गरेको हो ।

‘यो महाव्याधिको प्रकोपले सम्पूर्ण आर्थिक गतिविधिहरू ठप्प गराएर गरिबी निवारणमा भएका पछिल्ला सबै प्रगति मेटाउँदै लगेको छ,’ विश्व बैंकका अध्यक्ष डेभिड मालपासले भनेका छन्, ‘यो अपूर्व संकटले विश्वभरका अर्थतन्त्रलाई निराश बनाउँदै लगेको छ । त्यसैले, यो वर्ष विश्वको आर्थिक वृद्धि ५ प्रतिशतले संकुचित हुने प्रक्षेपण गरेको छ ।’

विश्व बैंकका अध्यक्ष डेभिड मालपासले भनेका छन्, ‘यो अपूर्व संकटले विश्वभरका अर्थतन्त्रलाई निराश बनाउँदै लगेको छ । त्यसैले, यो वर्ष विश्वको आर्थिक वृद्धि ५ प्रतिशतले संकुचित हुने प्रक्षेपण गरेको छ ।’

विश्व बैंकले प्रतिदिन १ दशमलव ९ डलरभन्दा कम आयमा बाँच्न बाध्यलाई चरम गरिबी परिभाषित गरेको छ । गत महिना अप्रिल २० मा विश्व बैंकले यो वर्ष विश्वव्यापी गरिबी सन् १९९८ यता पहिलोपटक ऐतिहासिक वृद्धि हुने प्रक्षेपण गरेको थियो । विश्व बैंकले प्रकाशित गरेको सो ब्लगमा यो वर्ष ४ करोड ९० लाख मानिस प्रतिदिन १ दशमलव ९ डलरभन्दा कम आयसहितको चरम गरिबीमा पुग्ने प्रक्षेपण गरेको थियो ।

अहिले विश्वभरका प्रवासी कामदारहरूले रोजगारी गुमाएका छन् । फलस्वरूपः यो वर्ष विश्वव्यापी रेमिट्यान्स कम्तीमा २० प्रतिशत अर्थात् १ सय अर्ब डलरले घट्ने आकलन गरिएको छ । संयुक्त राष्ट्रसंघको मानव अधिकारका प्रमुखले यो संकटबाट अफ्रिकामा दशाैँ लाख मानिस बेसहारा हुने चेतावनी दिएका छन् । 

अफ्रिकाको सहारा उपक्षेत्र सबैभन्दा बढी प्रताडित हुने अपेक्षा विश्व बैंकले गत महिना नै गरेको थियो । विश्व बैंकले सहयोग गरेका सय देशमध्ये ३९ देश यसै क्षेत्रका छन् । भाइरसका कारण यस क्षेत्रका २ करोड ३० लाख मानिस पुनः चरम गरिबीको रेखामुनि धकेलिने अनुमान गरिएको छ ।

गरिबीको समस्याबाट दक्षिण एसिया पनि प्रताडित हुने देखिँदै छ । गत महिना विश्व बैंकका अर्थशास्त्रीहरूले अफ्रिकी मुलुक नाइजेरिया एवं कंगोबाहेक भारतमा समेत गरिबको संख्यामा ठूलो परिवर्तन हुने विश्लेषण गरेको थियो । भारतमा १ करोड २० लाख गरिबीको रेखामुनि प्रवेश गर्ने आकलन छ ।  

‘महामारीले विश्वभरका करोडौँ मानिसको जनजीवन तहसनहस पारेर स्वास्थ्य प्रणालीहरूलाई दबाबमा पारिसकेको छ,’ मालपासले भनेका छन् । यसैले, विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषले विकसित मुलुकहरूको समूह जी२० लाई गरिब मुलुकका लागि ऋण भुक्तानीमा यो वर्षको अन्तिमसम्म राहत दिन अनुरोध गर्ने योजना गरेका छन् ।  

विश्व बैंकले जारी संकटको दुष्प्रभावसँग जुध्न सयवटा विकासशील मुलुक अर्थात् विश्वका ७० प्रतिशत जनसंख्यामा राहत प्रयास पु-याइसकेको उल्लेख गरेको छ ।

अहिलेसम्म विश्व बैंकले विभिन्न मुलुकहरूलाई १ खर्ब ६० अर्ब अमेरिकी डलर सहयोग उपलब्ध गराएको छ । गरिब मुलुकका नागरिकमा यो संकटको पीडा महसुस हुन थालिसकेको उल्लेख गर्दै विश्व बैंकले कमजोर समुदायहरूलाई व्यक्तिगत एवं व्यवसायमा ऋण तथा अनुदान सहयोग गर्ने लक्ष्य लिएको जनाएको छ । 


Facebook Comment


No ads found for this position