कर्णालीका ३० हजार नागरिक भारतबाट फर्किँदै

सुर्खेत–लकडाउनका कारण भारतमा थुनिएका करिब ४० हजार कर्णालीका नागरिक घर फर्किन लागेका छन् । तर, घर फर्किनेको संख्या यति धेरै भए पनि क्वारेन्टाइन भने संख्या अनुसार निर्मा०ा हुन सकेका छैनन् ।

कर्णालीभरी करिब ११ हजार मानिस राख्ने क्वारेन्टाइन निर्माण भएका छन् । क्षमताभन्दा झण्डै तीन गुणाको संख्यामा भारतबाट नागरिक आउने भएपछि प्रदेश सरकारलाई व्यवस्थापनमा समस्या देखिने भएको छ ।

सुर्खेतको सिम्ता गाउँपालिकामा ४ हजार ५ सय नागरिक भारतबाट फर्कंदै छन्। तर, गाउँपालिकाले ४ ठाउँमा गरेर करिब ४ सय बेड क्षमताको मात्र क्वारेन्टिन तयार पारेको छ ।

गाउँपालिका अध्यक्ष कविन्द्रकुमार केसीका अनुसार गाउँपालिकामा रहेका सबै ६५ वटा विद्यालयलाई क्वारेन्टिन बनाए पनि भारतबाट आउने सबैलाई राख्न सम्भव छैन ।

सल्यानको बनगाड नगरपालिकामा पनि भारतबाट ६ हजार ८६ जना नागरिक गाउँ फर्कंदै छन्। हाल नगरपालिकाले ४ वटा विद्यालयमा करिब ५ सय क्षमताको क्वारेन्टिन बनाएको नगरप्रमुख गोविन्दकुमार पुन बताउँछन् ।

दैलेखको आठविस नगरपालिकाले १ सय ९३ बेडको क्वारेन्टिन निर्माण गरेको छ । त्यहाँ करिब तीन हजार नागरिक गाउँ फर्कने तयारीमा छन् । कोरोना संक्रमति भेटिएपछि थप विद्यालयमा क्वारेन्टाइन बनाउन समस्या भएको नगरप्रमुख खड्गराज उपाध्याय बताउँछन् ।

सिम्ता, बनगाड र आठविसमात्रै होइन। कर्णालीका कुनै पनि स्थानीय तहसँग पर्याप्त क्वारेन्टिन छैनन् । ७९ स्थानीय तह रहेको कर्णालीमा १० हजार ८ सय ८० बेडमात्रै क्वारेन्टिन तयारी अवस्थामा रहेको कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायाले जानकारी दिए।

जसमध्ये सुर्खेतमा २ हजार ४ सय ६५, दैलेखमा १३ सय, जाजरकोटमा ४ सय ५०, सल्यानमा ८ सय २४, रुकुम पश्चिममा २ सय ७१, जुम्लामा ४ सय ३६, कालिकोटमा २६ सय ७०, मुगुमा ३ सय ४, हुम्लामा ११ सय ७५ र डोल्पामा ९ सय ८७ गरी १० हजार ८ सय ८० क्वारेन्टिन तयार भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

लकडाउनको दुई महिना पुग्दा पनि कर्णाली प्रदेशमा क्यारेन्टिन व्यवस्थापन भएको छैन । दिनदिनै संक्रमित ठाउँबाट नागरिकहरु फर्कन थालेपछि कर्णालीले कोरोनासँगको युद्ध कसरी जित्ला भन्ने चिन्ता बढेको छ । उसो त कोरोनाको त्रासपछि एक लाख बढी नागरिक गाउँ फर्कन्छन् भन्ने थाहा नभएको होइन ।

प्रदेश सरकारले वीरेन्द्रनगरको खुल्ला मञ्चमा ४ सय बेडको क्वारेन्टिन तयार पारेको छ । त्यो पनि नाकामा आरडीटी गर्दा संकास्पद भएकाहरु राख्नको प्रयोग गरिने छ ।

भारतमा रेल सेवा सञ्चालन भएपछि नागरिकहरु गाउँ फर्कन थालेका छन् । उनीहरुलाई गाउँमा क्वारेन्टिन छ–छैन भन्दा पनि घर फर्कन हतार छ । चाउचाउ र चिउराकै भरमा सिमानासम्म आइपुगेका नागरिकलाई प्रदेश र स्थानीय तहले समन्वय गरेर गाउँमा पुर्याउन थालेका छन् ।

तर गाउँमा न्यून क्षमताका भएका क्वारेन्टिन मापदण्ड अनुसारका छैनन् । जसले गर्दा कोरोना संक्रमणको जाखिम बढ्न थालेको छ । यद्यपि क्वारेन्टिन निर्माण कार्य भने रोकिएको छैन ।


Facebook Comment


No ads found for this position