अब पुरानो रणनीतिले हाम्रो पर्यटन माथि उठ्दैन

काठमाडौं–कोरोना भाइरसको संक्रमले पूरै विश्व आक्रांत छ । यस भाइरसविरुछ लड्न पूरै विश्व लागिपरेको छ । अहिले सारा विश्वको अर्थतनत्र तहनहस भएको छ । यसबाट माथि उस्किन कोरोनाको कहर अन्त्यपछि पनि केही वर्ष लाग्ने देखिन्छ ।
कोरोना संक्रमणपछि सबैभन्दा पहिला प्रभावित बनेको पर्यटन क्षेत्र हो । यसमा सबैभन्दा बढी क्षति नेपाली पर्यटनले व्यहोरेको छ । लकडाउन खुले पनि कम्तिमा तीन वर्षसम्म नेपाली पर्यटन पूर्ववतः अवस्थामा फर्किन सक्ने अवस्था छैन ।
हामीले दुई महिनादेखि लकडाउन सुरु भएसँगै नेपाली पर्यटनको अवस्था, भविष्य र आगामी दिनमा यसलाई माथि उकास्न अपनाउनुपर्ने उपायका विषयमा बहस गर्दै आएका छौं । लकडाउनपछि नेपाली पर्यटनलाई नयाँ शिराबाट माथि उकास्न के गर्नुपर्छ भन्ने विषयमा आजको शृंखलामा पर्यटन व्यवसायी शुदर्शन न्यौपानेसँग कुराकानी गरेका छौं ।

व्यवसायीमा अन्योलता

भ्रमण वर्षलाई आधार बनाएर नेपालमा पर्यटन क्षेत्रमा अर्बौं लगानी भएको छ । तर, त्यसको केही समयपछि नै सुरु भएको कोरोनाले अहिले सबै लगानी डुब्ने स्थितिमा छ । भ्रमण वर्षमा आउने पर्यटकबाट आम्दानी हुने अपेक्षाले लगानी गरे पनि कोरोनाले सबै सपना तहसनहस बनायो ।
अहिले पनि कोरोनाको अन्त्य कहिले हुन्छ भन्ने नै अन्योल छ । यस्तोमा कहिले स्थिति सामान्य हुने हो र व्यवसाय सञ्चालन कसरी हुने हो भन्नेमा व्यवसायी आफैं अन्योलमा छन् । यतिबेला नै सरकारले व्यवसायीको लगानी सुरक्षाका लागि केही कदमहरु अगाडि बढाउनुपर्छ ।
व्यवसायी पनि कुन ढंगले अगाडि जाने भन्नेमा अनिश्चित छन् । किनकी आपत आउला भन्ने कुनै पूर्वसंकेत हुँदैन । पर्यटन व्यवसाय दैनिक रनिङ हुने कारोबार हो । भोली आप आउला र व्यवसाय जोगाउँला भनेर कसैले करोडौं राखेको पनि हुँदैन ।

पर्यटन उद्योग, उत्पादन र रोजगारीसँग जोडिएको क्षेत्र हो ।
हामीले अहिलेसम्म पर्यटन विकासका लागि जे जति काम गर्दै आएका थियौं अब त्यस्ता उपायले नेपाली पर्यटनलाई माथि उकास्न सकिँदैन । अब नयाँ शिराबाट अगाडि बढाउनुपर्छ

लकडाउन अन्त्यपछि छिटोभन्दा छिटो कसरी माथि उकास्ने भन्ने छलफल भएको छैन । यस क्षेत्रमा लाखौं मजदुर संलग्न छन् । विशेष गरी पदमार्ग र आरोहण क्षेत्रका मजदुर बढी प्रभावित छन् । ती मजदुरको अवस्था निकै नाजुक छ । किनकी उनीहरु महिनावारी तलब खानेवाला पनि होइनन् । वर्षका एक सिजनमा दैनिक भत्ता र बोनसका आधारमा वर्षभरी परिवार पाल्ने मजदुरलाई बढी समस्या भएको छ ।
उनीहरुका लागि अहिले तत्काल व्यवसायीले राहत दिनसक्ने अवस्था पनि छैन । त्यसैले राज्यले नै बरु अरु कुनै काम लगाएर उनीहरुको आम्दानीमा केही राहत दिन सक्यो भने, लकडाउनपछि ती कर्मचारी पुनः यस व्यवसायमै आउन सहज हुनेछ ।

पुरानो रणनीतिलाई बदल्नुपर्छ

कोरोनाको महामारी निश्चित एक वा दुई देशभित्र नभइ सारा विश्वभर फैलिएको छ । त्यसैले सबै देशको अर्थतन्त्र यसबाट प्रभावित बनेको छ । अब यसलाई माथि उकास्न निकै मुस्किल पर्ने देखिन्छ ।
नेपाली पर्यटन सबैभन्दा बढी प्रभावित क्षेत्र हो । पर्यटन उद्योग, उत्पादन र रोजगारीसँग जोडिएको क्षेत्र हो । त्यसैले यसलाई माथि उठाउन सकेमात्रै राज्यको आर्थिक स्थिति सुधारोन्मुख हुन्छ ।
हामीले अहिलेसम्म पर्यटन विकासका लागि जे जति काम गर्दै आएका थियौं अब त्यस्ता उपायले नेपाली पर्यटनलाई माथि उकास्न सकिँदैन । अब नयाँ शिराबाट अगाडि बढाउनुपर्छ ।
त्यो भनेको पर्यटकिय गतिविधिलाई पनि नयाँ तरिकाले अगाडि बढाउनुपर्छ । लकडाउनपछि हामीले प्रचारप्रसारको शैलीमा पनि परिवर्तन गर्नुपर्छ । विश्वका सबै देश महामारीले ध्वस्त भइसकेका छैनन् । विशेष गरी अफिका र एसियाका मुलुकमा यसको प्रभाव अलिकति कम छ ।
हामीले अब यही अवस्थालाई क्याच गर्नुपर्छ । कुन देश कम जोखिममा छन् तीनलाई निक्र्योल गरी त्यहाँका पर्यटकलाई नेपाल घुम्न आकर्षित गर्न सकिन्छ । धेरैले अहिले बाध्य पर्यटकको अपेक्षा तत्काल गर्नुहुँदैन भन्नुहुन्छ ।
तर, यसप्रति मेरो विचार अलिक फरक छ । किनकी हामीले कम जोखिममा रहेका र संक्रमण नियन्त्रणमा आइसकेका देशका नागरिकलाई लक्षित गरी नेपाल भित्र्याउन सक्छौं ।

सुरक्षित भएको सन्देश दिनुपर्छ

अन्य देशको तुलना गर्दा नेपालमा संक्रमणको भयावह स्थिति छैन । यदि हामीले अहिलेको संक्रमण दरलाई नियन्त्रण गर्नसक्यौं भने, पूरै विश्वले हामीकहाँ कसरी नियन्त्रण भयो भनेर खोजी गर्ने विषय पनि बन्नेछ ।
त्यस अवस्थामा हामीले हाम्रा गन्तव्यहरु पनि सुुरक्षित छन् भन्ने देखाउनुपर्छ । सँधै लकडाउन गरेर नागरिकलाई घरभित्रै थुनेर पनि आर्थिक गतिविधि सञ्चालित हुन सक्दैन । त्यसैले सुरक्षाका अधिकतर उपायहरु अपनाएर हामीले आफूलाई पहिलो सुरक्षित बनाउँदै लकडाउन खुकुलो पार्नुपर्छ ।
निश्चित मापदण्ड बनाउन सकियो भने, हाम्रो चहलपहल पनि व्यवस्थित हुन्छ । अहिले अधिकांश विश्वभरका नागरिक लामो समयदेखि घरभित्रै थुनिएका छन् । उनीहरु पनि बाहिर निस्कन चाहन्छन् । सुरुवाती चरणमा सुरक्षित रहेका देशका केही नागरिक भित्र्याउन सक्यौं भने पनि हाम्रो अहिलेको अवस्थामा केही सुधार आउँछ ।

पर्यटकीय शुल्कमा हेरफेर

कोरोना अन्त्यपछि पहिलेको जस्तो नागरिकसँग आर्थिक हैसित हुनेछैन । उनीहरु महँगो खर्चेर घुम्न आउने स्थिति रहँदैन । यो आन्तरिक वा बाहयक पर्यटक दुवैका लागि समस्याको विषय हो ।
अब नेपालले पर्यटकिय क्षेत्रमा लाग्ने प्रवेश शुल्कमा पनि केही हेरफेर गर्नुपर्छ । भिसा शुल्क, राज्यलाई बुझाउनुपर्ने राहत । अझ लामो समय बस्ने पर्यटकलाई शुल्क बृद्धि नभइ सहुलियत दिनुपर्छ । यसो बाहिरबाट हेर्दा राजस्वमा कमी देखिएपछि उनीहरु लामो समय बस्दा हाम्रौ उत्पादनको खपत बढ्छ ।
अहिले पनि लाखौं खर्च गर्नसक्ने पर्यटकका लागि मात्रै नेपाल गन्तव्यस्थल बनेको छ । तर, अब सरकारले नीतिगत रुपमै यस्ता शुल्कमा केही घटाइनुपर्छ । जसकारण सामान्य मानिस पनि ेपालमा घुम्न सकुन् । पर्यटकिय चहलपहल बढ्यो भने, मात्रै हामीले खस्केको पर्यटनलाई माथि उकास्न सक्छौं ।

नयाँ गन्तव्य र आन्तरिक पर्यटन

हामीसँग नयाँ गन्तव्य नभएको होइन । नेपालमा पर्यटनसँग सम्बन्धित संस्थाहरुले पनि नयाँ घुम्न लायक ठाउँ खोजेका हुन् । तर, त्यहाँ सोचेको जस्तो पर्यटक जा नसकेका छैनन् ।
यसको एउटै कारण हो अत्यधिक महँगो भाडा र पूर्वाधारको कमी । पर्यटन अव पहिलेको जस्तो छैन । यहाँ आउनेलाई पनि सेवा सुविधा आवश्यक पर्छ । तर, हामी केही क्षेत्रबाहेक अन्यत्र राम्रोसँग बास बस्नेदेखि खाने व्यवस्था पनि छैन ।
यस्तोमा नयाँ गन्तव्य खुलाएर मात्रै हुँदैन । त्यहाँ आवश्यक पूर्वाधार पनि निर्माण गर्नुपर्छ । पूर्वाधार मात्रै भएर पनि भएन, आन्तरिक उत्पादन पनि बृद्धि गरौं । अब पनि घुम्न आउनेलाई बाहिरकै खाना खुवाउने होइन, उनीहरुलाई स्थानीय उत्पादन नै चखाउन सक्नुपर्छ ।
अब अहिले मुख्य बहसको विषय बनेको छ आन्तरिक पर्यटन । आन्तरिक पर्यटन पनि सोँचेजस्तो सजिलो छैन । तर, सरकारले होमवर्क गरेर नेतृत्व लिनसक्यो भने, असम्भव पनि छैन ।
आन्तरिक पर्यटकका लागि पहिलो कुरा त बिदा नै हो । सरकारले कम्तिमा पनि आन्तरिक भ्रमण जानेलाई एक हप्ताको बिदा दिने नीति बनाउनुपर्छ । घुम्ने बानीले मानिसलाई सकारात्मक र क्रियटिभ बनाउँछ ।
सरकारले घुम्ने जाने आन्तरिक पर्यटकका लागि केही सहुलियत प्रदान गर्नुपर्छ । पैसा अनुदान दिने नभइ, भाडामा छुट, करमा छुट वा होटलमा विशेष सहुलियत हुनसक्छन् । यस्तै इतिहास समेटिने पूर्वाधारहरु पनि बनाउनुपर्छ । मानिस खाली बरालिन जाने मात्रै होइन, कि त्यहाँबाट केही ज्ञानका कुरा पनि सिक्न सकुन् ।
यदि हामीले यस्ता उपायहरु अपनाउन सक्यौं भने, नेपाली पर्यटनलाई माथि उकास्न धेरै समय लाग्दैन । यसतर्फ व्यवसायीले पनि सरकारलाई दवाव दिनुपर्छ र नागरिकमा पनि सचेतना फैलाउन आवश्यक छ । पर्यटन मात्रै यस्तो क्षेत्र हो जहाँ केही पनि वस्तु बाहिरबाट नल्याएरै आम्दानी गर्न सकिन्छ ।


Facebook Comment