पूर्वसांसद शाहले हस्तान्तरण गरे एक करोडको स्वास्थ्य सामग्री

सुर्खेत–जाजरकोटबाट पूर्व सांसद तथा समाजसेवी राजिवविक्रम शाहले एक करोडका स्वास्थ्य उपकरण सहयोग गरेका छन् । कर्णाली प्रदेश सरकारलाई कोरोनाविरुद्धको लडाँइमा सघाउन कर्णाली प्रदेश अस्पतालसहित जिल्ला अस्पताललाई उपकरण सहयोग गरेका हुन् ।

उनले शुक्रबार एक कार्यक्रमकाबीच मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको उपस्थितिमा प्रदेश अस्पतालका प्रमुख डा। डम्मर खड्कालाई स्वास्थ्य उपकरण हस्तान्तरण गरे ।

यस्तै कर्णालीका आठवटा जिल्ला अस्पताललाई समेत उनले तत्काल आवाश्यक पर्ने सामग्री पठाएका छन् । प्रदेश अस्पताल सुर्खेतमा पाँचवटा आइसीयु बेड, इसिजी मेसिन, प्यासेन्ट मनिटरलगायत ८० लाख बराबरको उनले स्वास्थ्य उपकरण सहयोग गरेका हुन् ।

प्रदेशका अन्य जिल्ला अस्पताललाई करिब तीन लाख बराबरका स्वास्थ्य सामग्री उपलब्ध गराए । यो निजी क्षेत्रबाट कर्णालीमा भएको हालसम्मकै सबैभन्दा ठूलो सहयोग हो ।

उनको सहयोगमा कर्णालीका हुम्ला, मुगु, डोल्पा, कालिकोट, दैलेख, जाजरकोट, सल्यान र रुकुमपश्चिम जिल्ला अस्पताललाई प्यासेन्ट मनिटर, अक्सिजन कन्सनटेटर, इसिजी मेसिन, प्यासेन्ट ट्रली, नेपुलाइजरलगायतका स्वास्थ्य सामग्री दिइएको छ ।

स्वर्गीय प्रभाकर शमशेरकी छोरी माया राणाको सहयोगमा कुमारी ट्रष्टमार्फत कर्णाली प्रदेश अस्पताल र जिल्ला अस्पताललाई स्वास्थ्य उपकरण प्रदान गरिएको ट्रष्टका अध्यक्ष समेत रहेका शाहले बताए ।

यता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पूर्व सांसद तथा सामाजसेवी शाहले प्रदान गरेको स्वास्थ्य सामग्रीले कर्णालीमा कोरोनासँग लड्न थप सहयोग पुगेको बताए । ‘हामी सबै कोरोनाविरुद्धको लडाँइमा छौं,’ उनले भने, ‘त्यसैले लडाँइ जित्न कर्णालीका स्वास्थ्य पूर्वाधार विकाससमा जोड दिनेछौं ।’


Facebook Comment


No ads found for this position