काठमाडौं भन्दा धेरै पर सूदुरपश्चिम अथवा सात नम्बर प्रदेश जहाँ पर्यटकीय सम्भावनाका धेरै ढोकाहरु छन्। तर राज्यले त्यति सुन्दर ठाउँहरुमा पर्यटकहरु नदेखिँदा सूदुरका पर्यटनब्यबसायीहरू दुख मनाउ समेत गर्दछन् ।
नेपालको पर्यटन विकाशको लागि काम गर्ने नेपाल पर्यटन बोर्डले नै सुदूको पर्यटकीय गन्तब्यहरुको उचित प्रचार प्रसार नगरेको व्यवसायीको गुनासो छ। एक त काठमाडौंबाट टाढा, अर्कोतर्फ सडकसहितका पूर्वाधारको अभाव हुँदा ति सुन्दर ठाउँहरु पर्यटकविहीनजस्तै छन्।
सुदूरपश्चिम जान आन्तरिक भन्दा बाह्य पर्यटकको चासो हुने भए पनि उनीहरुलाई सुदूरका पर्यटकीय स्थानहरुको ज्ञान नै छैन। जसका कारण काठमाडौंबाट सुदूरपश्चिम पठाउन गाह्रो हुने गरेको छ । पर्यटन प्रर्वद्वन गर्ने निकायहरू पनी खासै चासाे नदिएकाे जस्ताे देखिन्छ ।
सुन्दर पर्यटकीय गन्तब्य मात्र होइन त्यहाँको संस्कृति समेत विशेष भएको हुँदा सबै ट्राभल एजेन्सीहरुले सुदूर पश्चिमलाई प्राथमिकता दिनु पर्ने छ।
दार्चुलाको अपी हिमाल
दार्चुला जिल्लामा प्राकृतिक स्रोत साधनको अतुलनीय सम्भावनाहरु छन्। आन्तरिक या बाह्य पर्यटकलाई लोभ्याउने हजारौँ दृश्यहरु छन्। यसमध्येको एक हो अपी हिमाल। दार्चुला जिल्लाको घुसा गाविसमा अवस्थित अपी हिमालको उचाइ समुन्द्र सहतबाट ७ हजार १ सय ३२ मिटर उचाइमा छ। सेतो हिउँ ओढेर निलो गगन छुन लालायित अपी पर्यटक पर्खिरहेको छ।
अपी हिमालसँगैका सहायक हिमश्रृङ्खलाहरु पनि कम छैनन्। हरिया फाँटहरु, नदीनाला, झर्ना, हिउँ पग्लेर बनेका तालहरु अपी हिमालसँगैका हेर्नलायक ठाउँहरु छन्। अपीको विकासका लागि जुटेका तथा अपी पर्यटन विकास समितिका अध्यक्ष दिपकसिंह लोथ्याल। अपी हिमालसम्म पुग्ने बाटोको स्तोरोन्नति र प्रचार प्रसार गरिदिन समेत सम्वद्ध निकायलाई आग्रह गरे।
डडेल्धुराको उग्रतारा
सुदूर पश्चिमको डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकाअन्तर्गत पर्ने बागबजारबाट करिब पाँच किलोमिटर टाढा बैतडी राजमार्गको पश्चिमतिरको अग्लो विशाल, रमणीय स्थानमा अवस्थित उग्रतारा माता मन्दिर सुदूरकै सबैभन्दा ठूलो शक्तिपिठ भएको स्थानीको दाबी छ।
जसले गर्दा उग्रतारा मन्दिर श्रदालूको आस्थाको केन्द्र बनेको छ। कात्तिक शुक्ल पुर्णिमाको ठूलो मेला समेत लाग्ने गर्दछ। प्यागोडा शैलीमा निर्माण भएको मन्दिरको सुन्दरता अझ चारैतिरबाट शिरशिर भएर आउने हावाले थप आनन्दित बनाएको छ।
धार्मिक एवं पर्यटकीय दृश्यले मनमहोक मानिने उग्रतारा मन्दिर सुदूरलाई धार्मिक पर्यटकीय भित्र्याउने पहिलो गन्तब्य हुने स्थानीयबासीको भनाई छ। आफूहरु विभिन्न पर्चा पम्पलेट बनाएर प्रचार प्रसार गरिरहेको उग्रतारा मन्दिर क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीको भनाई छ।
कैलालीको टिकापुर पार्क
सुदूर पश्चिमको कैलाली जिल्लाको टिकापुर नगरपालिका दक्षिण पुर्वमा अवस्थित टिकापुर पार्क नेपालकै ठूलो पार्क मध्येको एक हो। राजा महेन्द्रका पालाका स्थापना भएको सो पार्क करिब नौ बिघा जग्गामा बनेको छ। पार्कलाई बृहत उद्यान नामले समेत चिनिने गरेको छ।
पार्कको भित्री भाग दुई तीन समूहमा बाँडिएको छ। शान्त विश्राम स्थल, आकर्षक पानीका फोहराहरु, विभिन्न प्रजातिका फूलहरुले भित्री वातावरण मनमोहक राखिएको टिकापुर नगरपालिका प्रमुख बलराम शर्माको भनाई छ। आजभोलि भारतको लखनउबाट समेत विभिन्न प्रजातिका गुलावका फूलहरु ल्याएर पार्कभित्र लगाउने कार्य भइरहेको शर्माले बताए।
पार्कभित्र विभिन्न प्रजातिका बोटबिरुवा समेत भएकाले विभिन्न जिल्लाका विद्यार्थी समेत शैक्षिक भ्रमणको लागि आउने गरेका छन्। पार्कबाहिर नजिकै भएर कञ्चन कर्णाली नदी आफ्नै वेगमा बगिरहेको हुन्छ।
कर्णालीमा र्याफटिङ गरेर विश्रामको लागि समेत कतिपय पार्क आउने गरेको उनको भनाई छ। पार्क घुम्ने मौसम नै कात्तिक मंसिर हुने गरेको नगरपालिकाले जनाएको छ।
कञ्चनपुरको दोधारा चाँदनी झोलुङ्गे पुल
दोधारा चाँदनी झोलुङ्गे पुल नेपालकै सबै भन्दा लामो झोलुङ्गे पुल हो। कञ्चपुर जिल्लास्थित महाकाली नदीमा अवस्थित पुलको लम्बाई १ हजार ४ सय ५२ मिटर रहेको छ। नेपालकै इन्जिनियरले निर्माण गरेको पुलले महाकाली पारिका दोधारा र चाँदनी गाविसलाई जोडेको छ।
यो पुलको फोटो खिच्न र महाकाली नदीमा पौडी खेल्न पर्यटक उत्साहित हुने गरेका छन्। विभिन्न विद्यालबाट पुल अवलोकन गराउन शैक्षिक भ्रमण समेत हुने गरेको स्थानीय डिल्लीराज पन्तले बताए। अर्को पर्यटकको आकर्षक केन्द्र शुक्लाफाँटा बन्यजन्तु आरक्षण समेत कञ्चनपुर जिल्लामै रहेको छ।
सुदूरको संस्कृति
सुदूरको आफ्नै संस्कृति छ । आफ्नै पहिचान छ। पाहुनालाई देवतासरह मान्ने संस्कार छ । विभिन्न जाजातिको बसोबास रहे पनि सबैलाई उत्तिकै सम्मान गर्ने बानी छ। तराईका थारु, पहाडका बाहुन क्षत्रीको आफ्नै कलासंस्कृति छ।
यहि कला र सँस्कृति सुदूरको अर्को महत्वपूर्ण पर्यटक भित्र्याउने आधार हो। यति मात्र होइन सुदूरका अन्य पर्यटकीय गन्तब्य र सम्भावको खोजी गर्न राज्य पछि हट्नु हुँदैन। भएका पर्यटकीय गन्तव्यमा पर्यटकको अभाव खड्किँदा पनि यी क्षेत्रको अपमान गरेसरह हुने पर्यटन व्यवसायी बताउँछन्।
खप्तड
प्राकृतिक सौन्दर्यताको खानी हो, खप्तड राष्ट्रिय निकुञ्ज । खप्तडलाई सौन्दर्यको पर्याय नै मानिन्छ । त्यसैले खप्तडलाई धर्तीको स्वर्गको उपमा दिइएको छ । बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगमस्थलका रुपमा रहेको खप्तडमा २२ वटा घाँसे मैदान अर्थात पाटन रहेका छन् । सुन्दर घाँसे मैदानमा पुग्नेवित्तिकै यात्रीको थकान मेटिन्छ । यसको वरिपरि ५३ वटा थुम्काहरु छन्, जसलाई स्थानीय भाषामा झोती भनिन्छ ।घाँसै मैदान, खप्तड दह, नाग ढुंगा, केदार ढुंगा, खप्तड बाबा आश्रम, शिव मन्दिर यहाँको आकर्षण हुन् । यो ५० वर्ष पहिले खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँ हो । खप्तड प्रकृति प्रेमीलाई मात्र नभई, धार्मिक पर्यटकलाई समेत उपयुक्त गन्तव्य हो ।
सुदूरपश्चिमको सबैभन्दा प्रशिद्ध गन्तव्य स्थल खप्तड घुम्नका लागि जेठ, असारदेखि मंसिरसम्मको समय उपयुक्त मानिन्छ । चैत बैशाखमा खप्तड गएमा रंगीविरंगी लालीगुराँस फुलेको देख्न पाइन्छ ।