हेलिकाेप्टरबाट वन्यजन्तुको सुकुटी बरामद, प्रहरी इन्स्पेक्टर र पाइलट शंकाको घेरामा

रामचन्द्र न्यौपाने डोल्पाको दुनैमा सिम्रिक एयरको हेलिकाेप्टरमा वन्यजन्तुको सुकुटी फेला परेको छ। गएको बिहीबार काठमाडौंबाट केही यात्रु लिएर साल्दाङ पुगेर फर्किएको हेलिकाेप्टरमा सेना र शे–फोक्सुन्डाे राष्ट्रिय निकुञ्जका कर्मचारीले जाँच गर्दा सुकुटी फेला परेको हो। 

निकुञ्जका कर्मचारी र निकुञ्ज सुरक्षार्थ बसेको नेपाली सेनाको ईश्वरी बक्स गुल्मको सेनाको टोलीले जाँच गर्दा संरक्षित वन्यजन्तुको जस्तो देखिने आधा किलो मासु फेला परेको  निकुञ्जका संरक्षण अधिकृत सरोजमणि पौडेलले जानकारी दिए। बरामद सुकुटी कुन वन्यजन्तुको हो खुलिसकेको छैन। 

हेलिकाेप्टरमा केही यात्रु तथा प्रहरीका एकजना इन्स्पेक्टर र हवल्दार पनि सवार रहेको खुलेको छ। ती प्रहरी अधिकारीको नाम भने निकुञ्जले खुलाएको छैन। पौडेलका अनुसार हेलिकाेप्टरका पाइलट सुरेन्द्र पौडेलले बरामद वन्यजन्तुको सुकुटी प्रहरीका हवल्दारको भएको दाबी गरेका छन्। 

‘हेलिकाेप्टरमा अन्य यात्रु पनि भएकाले त्यतिवेला थप अनुसन्धान गर्न सकिएन,’ संरक्षण अधिकृत पौडेलले भने, ‘निकुञ्जले बोलाएको खण्डमा हेलिकाेप्टरसहित उपस्थित हुने कागज गराएर हामीले पाइलटलाई छाडेका छौँ।’

हेलिकाेप्टरका पाइलट सुरेन्द्र पौडेलले दुनैमा सेनाले सामान जाँच गर्दा मात्र आफूले सुकुटी देखेको बताए। ‘मेरो काम हेलिकाेप्टरलाई सुरक्षित तरिकाले अवतरण गर्ने र गन्तव्यमा पुऱ्याउने हो,’ उनले भने, ‘हेलिकाेप्टरमा वैध वा अवैध सामान के हाल्छन् भनेर जाँच गर्ने जिम्मा सुरक्षाकर्मीको हो।’ 

निकुञ्ज प्रशासनले भने प्रहरीका इन्स्पेक्टर र हेलिकाेप्टरका पाइलटलाई शंकाको घेरामा राखेर अनुसन्धान अघि बढाइएको जनाएको छ। ‘अब पाइलटको लिखित बयान लिइसकेपछि उक्त बयानको आधारमा प्रहरी इन्स्पेक्टर र हवल्दारको पनि बयान लिन्छौँ,’ संरक्षण अधिकृत पौडेलले भने।

हेलिकाेप्टरबाट बरामद गरिएको मासु संरक्षित वन्यजन्तुको जस्तो देखिए पनि प्रमाणित गर्नका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार काठमाडौं पठाउने तयारी भइरहेको निकुञ्ज प्रशासनले जनाएको छ।

इन्स्पेक्टर र हवल्दारसमेत सवार हेलिकाेप्टरबाट सुकुटी बरामद भएको घटनामा जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकारले अनुसन्धानमा आफूहरूको सहयोग रहने बताएका छन्। 

‘दुनै पुगेर सेनाले चेक गर्दा मासु भेटिएको हो। त्यो मासु के को हो, कसले हाल्यो अनुसन्धानपछि थाहा होला,’ रञ्जितकारले भने, ‘दोषी पाइए प्रहरीमाथि पनि कारबाही हुन्छ।’ डोल्पाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले हेलिकाेप्टरमा मासु भेटिएको घटनाको अनुसन्धान भइरहेको बताए। 

‘वन्यजन्तु वन पैदावर संरक्षण गर्नु सबैको दायित्व हो,’ उनले भने, ‘निकुञ्ज क्षेत्रमा उड्ने हेलिकाेप्टरले मनपरी गर्न हुँदैन।’ उनले निकुञ्ज क्षेत्रमा गृह मन्त्रालयको अनुमति लिएर मात्र हेलिकाेप्टरको उडान र अवतरण हुने बताए। 

निकुञ्जको संरक्षणमा चुनौती
हेलिकाेप्टर कम्पनीको मनोमानीका कारण शे–फोक्सुन्डाे राष्ट्रिय निकुञ्ज संरक्षणमा ठूलो चुनौती देखिएको छ। निकुञ्ज प्रशासनको अनुमतिविनै निजी कम्पनीका हेलिकाेप्टर संरक्षित  क्षेत्रमा निर्बाध रूपमा आवत–जावत गर्न थालेपछि संरक्षणमा चुनौती देखिएको हो।

नागरिक उद्धार, यात्रु ओसार्ने र खाद्यान्न ढुवानी गर्ने निहुँमा निकुञ्ज क्षेत्रमा मनपरी रूपमा हेलिकप्टर उडान र अवतरण हुँदा संरक्षित जडीबुटी, दुर्लभ वन्यजन्तु र गुम्बाहरूमा राखिएका बहुमूल्य मूर्तिका संरक्षणमा चुनौती खडा भएको निकुञ्ज प्रशासनले जनाएको छ ।

डोल्पामा सिम्रिक, माउन्टेन, एयर डाइनेष्टी, कैलाश, मनाङ एयरलगायतका निनी कम्पनीका हेलिकाेप्टरले उडान भर्दै आएका छन्। 

‘विभिन्न बहानामा काठमाडाैं, पोखरा, नेपालगञ्ज, सुर्खेतलगायतका सहरबाट विभिन्न कम्पनीका हेलिकाेप्टरले निकुञ्जको कोर एरियामै अवतरण गर्छन्,’ संरक्षण अधिकृत सरोजमणि पौडेलले भने, ‘निकुञ्ज स्थापना भएदेखि नै संरक्षित क्षेत्रमा निजी कम्पनीका हेलिकाेप्टर कम्पनीले रवाफ देखाउँदै आएका छन्।’ साभार :नयाँपत्रीका


Facebook Comment


No ads found for this position