विदेशी नआउँदासम्म हिमाली पर्यटन माथि उठ्दैन

काडमाठौं–विगत दुई महिनायता कोरोना संक्रमले पूरै नेपाललाई चपेटामा लिइसकेको छ । केही हिमाली र पहाडी जिल्लाबाहेक अन्यत्र सबैतिर कोरोना संक्रमणले आतंकित नै बनाएको छ । देनिक सैयौंको संख्यामा संक्रमित थपिन थालेपछि ग्रामीण जनजीवन प्रचावित मात्रै होइन, त्रसित नै बनेको अवस्था छ ।

यो अवस्थाबाट कसरी पार लाग्ने हो भन्नेतिर अहिले सबै चिन्तित छन् । सरकारले पनि व्यवस्थापन गर्न नसक्दा सबैतिर अस्तव्यस्त बनेको छ । नागरिक कोरोना भन्दा पनि उपचर नपाएरै ज्यान गुमाइरहेका छन् ।

कोरोनाले सबैभन्दा बढी प्रभावित नेपालको पर्यटन नै हो । त्यसमाथि पनि हिमाली पर्यटन नै हो । कोरोनापछि विदेशी पर्यटक आउन छाडेलगत्तै हिमाली क्षेत्र शून्य छ । यसबाट माथि उस्किन त्यति सहज छैन । तर यो बीचमा हामीलाई हाम्रा विगतका कमजोरीहरु सुधार गर्ने मौका पनि हो ।

दुई महिनादेखि हामीले नेपाली पर्यटनको अवस्था, यसको भविष्य र सुधार गर्नुपर्ने विषयमा बहस गर्दै आएका छौं । आजको शृंखलामा हिमाली पर्यटन, जनजीवन र माथि उस्कने विकल्पका बारेमा विश्वकिर्तिमा आरोही एव सेभेन समिटका टेक्स प्रालीका अध्यक्ष मिङ्मा शेर्पासँग कुराकानी गरेका छौं ।

विदेशी नआउँदासम्म हिमाली पर्यटन माथि उठ्दैन

नेपालको पर्यटनको मुख्य आधार नै हिमाल हो । बर्सेनि हजारौं विदेशी पर्यटकहरु हिमाल आरोहणकै लागि आउँछन् । गत पौषमा जब चीनको वुहानबाट कोरोना संक्रमण फैलिन सुरु भयो । त्यो संक्रमण तत्काल नेपालसम्म नपुगे पनि प्रभाव भने सुरुवातमै पर्यो ।

पूरै विश्व लकडाउनमै जाँदा हाम्रो देशमा आउने पर्यटकको आगमन पनि बन्द भयो । यस्तै भएका पर्यटक पनि धमाधम स्वदेश फर्के । जसकारण हजारौंको भीड हुने हिमाली क्षेत्र सुनसान बन्यो । अहिले सरकारले नयाँ नीति तथा कार्यक्रममा आन्तरिक पर्यटनको कुरा पनि ल्याएको छ ।

तर, यो आन्तरिक पर्यटक र हिमाली पर्यटनबीच धेरै फरक छ ।

हाम्रा हिमाल आरोहणमा आउने एक÷दुई जनाबाहेक विदेशी पर्यटक नै हुन् । आन्तरिक पर्यटकले हिमाल आरोहण त्यति गर्दैनन् । त्यसैले विदेशी पर्यटकको आगमन नभएसम्म हिमाली पर्यटन माथि उस्कन सक्दैन ।

किनकी अहिले पूरै विश्वको अर्थतन्त्र ध्वस्त भएको छ । विदेशीहरुको पनि आम्दानी घटेको छ । त्यसैले दुई वर्षसम्म हामीले विदेशी पर्यटकको आशा गर्नु उचित हुँदैन ।

यसो हुँदा हिमाली क्षेत्रमा काम गरी खाने वर्ग निकै प्रभावित हुन्छन् । त्यसैले सरकारले विदेशी पर्यटकको चहलपहल सामान्य नहुँदासम्म हिमाली पर्यटनसँग जोडिएका मजदुर र व्यवसायीका लागि विकल्प खोज्नुपर्छ ।

संरचना निर्माण र रोजगारी

यो बेला अहिले सबै ठप्प छ । कुनै काम भइरहेको स्थिति छैन । पर्यटकीय चहलपहल नहुँदा हाम्रा मजदुर पनि घरमै थन्किएर बसेका छन् । यो फेरि हिमाली पर्यटन भनेको त यस्तो हो कि । एक सिजनमा गरेको कामबाट हुने आम्दानीले वर्षैभरी खर्चको जोहो गर्नुपर्दछ ।

अब यो वर्ष पर्यटकीय चहलपहल हुने कुनै अपेक्षा छैन । अर्को वर्ष पनि केही नगन्य मात्रामा पर्यटक आए पनि विगतमा जस्तो आउँछन् भन्ने मलाई लाग्दैन । त्यसैले अब लकडाउनपछि हामीले हिमाली पर्यटन माथि उकास्न आकर्षक योजनाहरु ल्याउनुपर्छ ।

पहिलो कुरा त हामीले हाम्रा संरचना स्तरोन्नति गर्नु अहिलेको मुख्य आवश्यकता हो । किनकी विभिन्न वेस क्याम्पहरुमा शौचालय, बस्ने सेल्टर पनि छैनन् । अहिलको समयमा हामीले यी संरचना निर्माण गर्न मात्र सक्यौं भने, लकडाउनपछि आउने पर्यटकलाई सहज हुनेछ ।

अहिले राहतका कुरा पनि आइरहेका छन् । कतिदिन राहत वितरण गरेर थेग्न सकिन्छ । त्यसैले अधुरा संरचना निर्माणमा कामदारलाई लाउन सक्यो भने, ती बेरोजगार मजदुरले रोजगारी पाउँछन् । उनीहरुको आम्दानीको बाटो पनि बन्द हुँदैन । सरकारलाई निःशुल्क राहत दिएजस्तो पनि हुँदैन ।

नयाँ पदमार्ग निर्माण

हिमाल आरोहणपछि हाम्रो दोस्रो ठूलो र मुख्य हिस्सा भनेको पदयात्रा नै हो । विदेशबाट आउने पर्यटकको ठूलो संख्या यसैभित्र छ ।

त्यसैले अहिले पनि कतिपय ठाउँमा जान राम्रो बाटो छैन ।
सबै ठाउँमा पुर्याउने लक्ष्य राख्ने हो भने, हामीले पुराना पदमार्गको सुधार र नयाँ पदमार्ग खोल्नुपर्छ ।

पदमार्गमा आन्तरिक पर्यटकको चहलपहल पनि केही हुनेछ । तर, खासगरी हिमाल र पर्वतारोहणमा विदेशी पर्यटककै भरोसा हुन्छ ।

यहाँ पनि विदेशी नआउँदासम्म हामीले यस क्षेत्रका व्यवसाय माथि उकास्न सक्दैनौं । अब अहिले कम्तिमा कामदारकै लागि भए पनि सरकारले पदमार्ग निर्माणमा लगाउनुपर्छ । एक÷दुई किलो चामल बाँडेर वा केही आर्थिक सहयोग दिँदैन समस्या समाधान हुँदैन ।

उनीहरुलाई काम चाहिन्छ । काम भयो भने, हामीलाई पनि हाम्रा दक्ष जनशक्ति यहीँ टिकाइराख्न सहज हुन्छ । नत्र लकडाउनपछि त पर्यटक आए पनि हामीले दक्ष जनशक्ति गुमाउनुपर्ने स्थिति आउन सकछ ।


Facebook Comment