फरुवाले हानेर गाईफर्ममा पाँच कामदारको हत्या

बुटवल–रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १० कान्छिबजारस्थित गंगादेवी गाई फार्ममा काम गर्ने ५ जनाको हत्या भएको छ ।

गाई फर्मका सञ्चालक कृष्ण कुँवरले काम गर्नेहरुबीच कहिल्यै झै–झगडा भएको नसुनेको बताए ।

हत्या गरिएकामध्ये सैनामैना वालापुरका श्रीमान÷श्रीमती माधव मुसहर र जानकी मुसहर तथा सोही स्थानका कोषराज मुसहर रहेका छन् । त्यस्तै अन्य दुई करण चौधरी र आशिष चौधरी तिलोत्तमा नगरपालिकाकै हुन् ।

रुपन्देहीका प्रहरी प्रवक्ता खड्गबहादुर खत्रीका अनुसार गाई फर्मको गोठमै सुतिरहेका उनीहरुको हत्या भएको हो । मुसहर दम्पत्तीसहित तीन जना लामो समयदेखि फर्ममा काम गर्दै आएका थिए । दुई चौधरी भने कहिलेकाही फर्ममा काम गर्न आउने गरेका थिए ।

घटनापछि भुसको गोदाममा लुकेको अवस्थामा स्थानीयले एक जनालाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । यसरी नियन्त्रणमा पुगेका सुर्खेतका ३१ वर्षीय झसेन्द्र सिंजालीले फरुवा प्रहार गरेर हत्या गरेको स्वीकारेको प्रहरी दाबी छ ।

‘सुरुमा उनले संलग्नता स्वीकारेनन् तर, सोधपुछ गर्दै जाँदा फरुवाले हानेर हत्या गरेको बताएका छन्’, रुपन्देही प्रहरी प्रमुख एसपी हेमकुमार थापाले भने ।

गाउँलेले उनलाई प्रहरीको जिम्मा लगाउँदा सिंजाली अचेत अवस्थामा थिए । उनको स्थानीय क्रिमसन अस्पतालमा उपचार जारी छ । त्यसक्रममा सामान्य बोल्न थालेपछि प्रहरीले प्रारम्भिक सोधपुछ गरेको थियो ।


Facebook Comment


No ads found for this position