कर्णाली एडभेन्चर टुरिजमको स्पट हो तर वर्षौंदेखि कर्णाली…..

काठमाडौं–करिब सात महिनाअघि चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी अहिले पूरै विश्वभर फैलिएको छ । चैत्रको महिनासम्म दुईजनालाई मात्र देखिएको संक्रमण केही समयभित्रै नेपालभित्र सकियो ।

त्यसलगत्तै सरकारले तीन महिनासम्म कडा खालको लकडाउन सुरु गर्यो । जब भारतमा लकडाउन सुरु भयो, त्यसपछि भटाभट त्यहाँ रहेका नेपालीहरु स्वदेश फर्किन थाले । त्यसबेला सरकारले व्यवस्थापन गर्न नसक्दा नेपालमा कोरोनाको महामारी सुरु भयो ।
अहिले नेपालमा करिब ८ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । दैनिक सैयौंको संख्यामा संक्रमित थपिँदै गएका छन् । विश्वमै कोरोनाविरुद्धको भ्याक्सिन नबन्दा नेपालमा पनि कुनै उपचार हुन सकिरहेको छैन ।

हामीले लकडाउन सुरुभएपछि नै नेपालको पर्यटन क्षेत्रमा परेको प्रभाव, यसमाथि माथि उकास्न अपनाउनुपर्ने उपाय र संरचना निर्माणका कुरामा के कस्ता योजनाहरु कार्यान्वयनमा ल्याउन सकिन्छ भन्ने विषयमा छलफल चलाउँदै आएका छौं ।

सुरुमै प्रभावित बनेको पर्यटन क्षेत्र विश्वमै पूरै कोरोनाको कहर साम्य नहुँदासम्म माथि उकास्न सकिने अवस्था छैन । त्यसमाथि आजको शृंखलामा कर्णालीको पर्यटनको विषयमा कुराकानी गर्दैछौं । विगत लामो समयदेखि कर्णालीमा पर्यटन व्यवसाय गरिरहेका छेवाङ लामासँग आजको शृंखलामा कर्णालीको पर्यटन र यसबाट कर्णालीको समृद्धि कसरी हुनसक्छ भन्ने विषयमा कुराकानी गरेका छौं ।

वर्षौंदेखि कर्णाली लकडाउनमा छ

कुनैबेला आर्थिक, सांस्कृतिक र राजनैतिक नेतृत्वमा एकछत्र राज गर्न सफल कर्णाली अहिले सबैभन्दा पिछडिएको, गरिब र विकासमा निकै पछाडि पारिएको क्षेत्रका रुपमा परिचित छ । यहाँसम्म कि देशका अन्य कुने दुर्गम क्षेत्रको चित्रण गर्नुपर्दा पनि कर्णालीको उपमा दिइन्छ ।


करिब ढाइसय वर्षअघि कर्णालीको शासनसत्तामा केन्द्र सरकारले कब्जा गरेसँगै कर्णालीमा आर्थिक राजनीतिक, सांस्कृतिक र राजनीतिक हिसाबले लकडाउन नै लादिएको छ । अहिले समग्र देशको पर्यटन विकासको कुरा गरिहँदा पनि कर्णालीको कुनै सवाल नै उठ्दैन ।

कर्णालीमा जाने पर्यटकहरु पनि आफ्नै शैली र अनुसन्धानकै लागि मात्र जाने गरेका छन् । कर्णालीमा पर्यटकीय क्षेत्रहरु थुप्रै भए पनि पुग्न सहज मार्ग, उचित प्रचारप्रसार र ऐतिहासिक महत्व झल्काउन नसक्दा औंलामा गन्नसकिने मात्रामा मात्रै पर्यटकको उपस्थिति देखिन्छ ।

विदेशबाट नेपाल आउनभन्दा पनि कर्णाली पुग्न सकस

व्यवहारका हिसाबले हेर्ने हो भने, कर्णाली नेपाल देशभित्रकै हिस्साजस्तो पनि देखिँदैन । विकास निर्माण देखि नेतृत्वतहसम्म विभेद गरिएकै छ । त्यसमा पनि पर्यटन क्षेत्रसमेत पर्दछ । एउटा विदेशी पर्यटकलाई विदेशदेखि नेपालसम्म आउन बरु सहज छ ।

तर, कर्णाली पुग्न सहज छैन । हरेक वर्ष ल्याइने बजेटमा ठूला ठूला कुरा गरिन्छ । तर, कर्णालीको समृद्धिका लागि ठोस योजनाहरु आउन सकेका छैनन् । आउने केही बजेट पनि केन्द्रदेखि कर्णालीसम्म पुग्दा बाटैमा विभिन्न बाहनामा खर्च हुन्छ ।
सिमित मात्रामा पुगेको न्यून बजेट पनि विभिन्न दलका नेता कार्यकर्ताका भागबण्डा लगाउँदै ठिक्क देखिन्छ । कर्णालीको पर्यटन विकासकै कुरा गर्ने हो भने, अहिलेको मुख्य आवश्यकता पूर्वाधार निर्माण नै हो ।

भएको एउटा राजमार्ग पनि एक दशकदेखि जबरजस्ती यात्रा गर्ने बाध्यताकै रुपमा सिमित छ । ट्रयाक खुलेको १४ वर्ष भइसक्दा पनि कर्णाली राजमार्ग सुरक्षित छैन । त्रासका बीच स्थानीयले यात्रा गर्न बाध्य भइरहेको अवस्थामा पर्यटकहरु रमेर आउने सम्भावना न्यून नै छ ।

अब प्रदेश, स्थानीय र संघीय सरकारले अनावश्यक ठाउँमा लगानी गर्नुभन्दा पनि समृद्धिको लक्ष्यसहित मुख्य मार्ग निर्माण र स्तरोन्नतिमा ध्यान दिनुपर्छ । जो काम अहिलेसम्म हुनसकेको छैन । अब नयाँ आर्थिक वर्षभरी पनि लकडाउन कायमै रहनेछ । मानिसको चहलपहल शून्यजस्तै हुनेछ । यस अवधिमा सरकारले सडक मार्ग निर्माण र पर्यटकीय संरचना निर्माणमा ध्यान दिनुपर्छ ।
अर्को मुख्य समस्या भनेको महँगी नै हो । एउटा पर्यटकलाई कर्णालीमा पुग्नमात्रै एकलाख रुपैयाँ खर्च हुन्छ । अरु बस्ने खाने खर्चको कुरै नगरौं । जब पर्यटकीय चहलपहल नै छैन भने, निजी व्यवसायीले पनि कुन आधारमा यहाँ लगानी गर्न सकछन् र ?

एडभेन्चर टुरिजम स्पट

कर्णालीको उपमा भनेकै दुर्गम, विकास निर्माणले गति लिन नसकेको, भीर पाखा, हिमाली क्षेत्र धेरै यस्तै यस्तै हो । तर, एडभेन्चर पर्यटनका लागि यस्तै क्षेत्र वरदान नै हुन् । अब हामीले यही दुर्गमतालाई उपभोग गरी पर्यटक भित्र्याउन सक्नुपर्छ ।

सगरमाथा, अन्नपूर्ण लगायतका क्षेत्रमा अहिले पनि सिजनबाहेक अन्य समयमा बाटो खोज्नुपर्ने अवस्था आउँछ । तर, कर्णालीमा बाह्रैमास जहाँ जाँदा पनि ठाउँ सहजै पहिचान गर्न सकिन्छ । मानिसहरु लामो समय घरभित्रै बसेर दिक्क भएका छन् ।

अब केही नयाँ ठाउँ गएर नयाँ अनुभव संगाल्न चाहान्छन् । हामीले उनीहरुको यही चाहनालाई नै क्याच गर्नुपर्छ । हामी निजी क्षेत्रबाट सानो सानो तहबाट प्रचारप्रसार गरिहेकै छौं । तर, यो पर्याप्त छैन ।

हरेक वर्ष प्रदेश सरकारले पनि कर्णालीलाई पर्यटन र जडीबुटीबाटै समृद्ध बनाउने नाराहरु दिन्छन् । साँच्चीकै पर्यटनबार्ट समृद्धि र रोजगारी सिर्जना गर्ने हो भने, आफ्ना नाराहरुलाई व्यवहारिक कार्यान्वयनमा ल्याउनुपर्छ ।

अहिलेसम्म पर्यटन विकासका लागि कर्णालीमा कुनै ठोस योजना बनेको छैन । तर, अब यो लकडाउनले हामीलाई यो अवसर पनि दिएको छ । अहिले सरकारले केही क्षेत्रसम्म पुग्ने मार्ग निर्माण गर्नसक्यो भने, घुम्ने ठाउँमा त पर्यटक पदयात्रा गरेरै पनि जान्छन् ।

पर्यटकको संख्यामा बृद्धि भयो भने, व्यवसायी पनि लगानीका लागि उत्साहित हुन्छन् । यस्ता उच्च पहाडी क्षेत्रमा लगानी गर्न चाहने युवाहरुलाई सरकारले विशेष अनुदान दिनुपर्छ । हाम्रा जनशक्तिले तालिम पाउन सकेका छैनन् । उनीहरुलाई तालिमको व्यवस्था पनि गर्नुपर्छ ।

अर्को महत्वपूर्ण कुरा भनेको कर्णालीका फोटोहरु बिक्छन् । सबैलै आहा ! नै भन्ने गरेका छन् । तर, त्यहाँका ठाउँको वास्तविक महत्व उजागर गर्न नसक्दा पनि मानिसहरु यहाँसम्म पुग्न सकेका छैनन् । अब हामीले गर्ने भनेकै प्रचारप्रसारमा तिव्रता दिने नै हो । साथै पर्यटकीय रुट निर्माणमा पनि ध्यान दिनुपर्छ ।

ट्रेकिङ रुट निर्माण

कर्णालीमा अहिले पनि एक ठाउँमा आएको पर्यटक अर्को ठाउँमा जान सक्ने अवस्था छैन । अब सबै क्षेत्रलाई समेट्नेगरी ट्रेकिङ रुट निर्माण गरौं । फोक्सुण्डो–सिमकोट–रारा–जुम्ला ट्रेकिङ रुट निर्माण गर्न सकियो भने, एक क्षेत्रका लागि आएको पर्यटक सबै क्षेत्र घुमेर जान सकछ ।

यसले गर्दा पर्यटकको बसाइ पनि लामो हुने र खर्च गर्ने दर पनि बढ्न जान्छ । हामीकहाँ लाखौं होइन कि बरु हजारौंमै आउन् तर, उनीहरुको बसाई लामो र खर्च धेरै गर्ने परिपाटी सिर्जना हुन सकोस ।

यसरी प्रत्येक रुटको कुनै सेन्टर पोइन्ट निर्धारण गरी होमस्टे तर लजहरु खोल्न लगाउनुपर्छ । यसरी योजनाअनुसार अघि बढ्न सक्यो भने, स्थानीयले रोजगारी पनि पाउँछन् र हाम्रो क्षेत्रको महत्व पनि सबैसामु उजागर हुन्छ ।

भुटान मोडेलबाट अघि बढौं

अहिले सबैभन्दा महँगो भुटान नै हो तर, त्यहाँ नै पर्यटकको ओइरो लागेको छ । त्यसको एउटै कारण हो, वान वे मोडलबाट अघि बढ्नु हो । अब कर्णालीलाई पनि एडभेन्चर र जडीबुडीलाई पर्यटनसँग जोड्नुपर्छ ।

हामीकहाँ धार्मिक पर्यटनको पनि ठूलो सम्भावना छ । यी सबैलाई एक अर्कासँग जोड्न सकियो भने, एकै उद्देश्यले आउने पर्यटकलाई सबै ठाउृँमा घुमाउन सकिन्छ । यसका लागि अब विमानस्थलको स्तरोन्नति प्रमुख आवश्यकता हो ।

हामीकहाँ सबै प्रकारका पर्यटक होइन, विशेष एक प्रकृतिका आउन् तर उनीहरुबाट हामीले सोँचेजस्तो आम्दानी होस् । अहिले कर्णालीको उत्पादनलाइ हाइजेनिक मानिरहेका छन् । यसलाइ सम्बन्धीत निकायहरूबाट प्रमाणित गरेर अन्तर्राष्ट्रिय बजारसम्म पुराउन सकियाे भने राम्राे हुन्छ ।


Facebook Comment


No ads found for this position