आहा ! रानिकोट, काठमाण्डौ उपत्यका नियाल्ने उपयुक्त स्थान

आँखै अगाडि एक सय ८० डिग्रीमा हिमाल हेर्नलगायत काठमाडौं उपत्यकाको सुन्दर दृश्य हेर्नका लागि उपयुक्त स्थान हो रानीकोट । अरनीको राजमार्गदेखि ८ किलोमिटर दूरीमा छ रानीकोट । रानीकोट पुग्न सूर्यविनायक चोकदेखि सूर्यविनायक मन्दिर हुँदै जानुपर्दछ ।
वरिपरी जंगलको बीचमा सबैभन्दा अग्लो स्थानमा छ रानीकोट । रानीकोट धार्मिक तथा ऐतिहासिक रुपले महत्व बोकेको स्थान हो । भक्तपुर र पनौती नगरपालिकासँग जोडिएको रानीकोट समुन्द्री सतहबाट दुई हजार मिटर उचाईमा अवस्थित छ । यहाँबाट काठमाडाै उपत्यकासहित लाङटाङ हिमश्रृंखला आँखै अगाडि देख्न सकिन्छ । रानीकोटबाट सबैभन्दा नजिकबाट नियाल्न सकिने हिमाल दोर्जे लाक्पा र लाङटाङ हो ।


ऐतिहासिक रुपले हेर्ने हो भने रानीकोटमा दरबार रहेको बताइन्छ । तर, प्रमाणीत हुनभने सकेको छैन । तर, स्थानीयका अनुसार पुरातत्व विभागले भने रानीकोटमा सैनिकको टुकटी रहेको थियो भन्ने बताउँदै आएको छ ।
यहाँका बुज्रुगहरुको भनाइलाई आधार मान्ने हो भने, रानीकोट राजा महाराजाहरुको आराम गर्ने स्थान हो । रानीकोटमा हाल कुनै संरचना नभए पनि पुराना इँटाका अवशेष भने भेटिन्छन् । यीनै पुराना केही अवशेषको संरक्षण नहुँदा अहिले रानीकोट क्षेत्र खण्डहरमा परिणत हुँदै गएको छ ।
स्थानीय जानकार भन्छन्, ‘यहाँ पहिला–पहिला प्रशस्त मात्रामा दरबारका इँटाहरु भेटिन्थे । तर, तीँ इँटाहरु घर बनाउन लैजाँदा अहिले केही मात्रामा मात्रै इँटा भेटिन्छन् ।’ दरबार क्षेत्रबाट काडमाडौं उपत्यका हेर्दा निकै मनमोहक देखिन्छ ।’


रानीकोट काठमाडौं उपत्यकासहित हिमश्रृंखला हेर्नका लागि उपयुक्त मानिन्छ । रानीकोटसम्म पक्की सडक भएकाले अहिले आन्तरिक पर्यटकरुको चहलपहल बढेको छ । यो क्षेत्र हाइकिङका लागि प्रख्यात छ ।
विशेष गरी सूर्यविनायक रानीकोट हुँदै आशापुरी हाइकिङ, सूर्यविनायक रानीकोट फूलचोकी हाइकिङ जाने गर्दछन् । यो हाइकिङरुट पौराणिक पदमार्ग पनि हो । यो रुटमा विशेष गरी नयाँ वर्षको सुरुवातमै भक्तपुरका स्थानीयहरु पूजा गर्न फूलचोकी जाने गर्दछन् ।
फूलचोकीसम्म पुग्न नसक्नेहरु कुसादेवीसम्म जान्छन् । त्यस्तै अर्को सूर्यविनायक– रानीकोट–लाकुरी भञ्ज्यांङ हुँदै गोदावरीसम्म चलनचल्तीमा रहेको छ हाइकिङ रुट । रानीकोटमा बाघ भैरव पनि छ । जुन ढुंगाको बाघको आकारमा मूर्ति देखिन्छ । त्यसैले यसलाई बाघभैरव पनि भनिन्छ । बाघ भैरवमा विशेष गरी वैशाख पूर्णिमामा रमसीर पूर्णिमा मेला लाग्दै आएको छ ।

भक्तपुर सूर्यविानायक मन्दिरदेखि ६ किलिमिटरको दूरीमा रहेको छ । रानीकोट भने अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक चोकदेखि सात किलोमिटर दूरीमा रहेको छ । त्यस्तै हिन्दुहरुको चार धाममध्ये एक मानिने डोलेश्वर मन्दिरदेखि ७ किलोमिटर दूरीमा छ रानीकोट ।
रानीकोट वरीपरी घना जंगल भएकाले चरा अवलोकन गर्नका लागिसमेत उपयुक्त हो ।समय र मौका मिलेमा मृग, बाघसमेत देख्न सकिन्छ ।

ऐतिहासिक साथै सुन्दरताका हिसावले पनि घुम्न लायकको क्षेत्र हो

रामसुन्दर बके,संचालक,भिलेज हाइल्याण्ड रिसाेर्ट , रानीकाेट

रानीकोट ऐतिहासिक रुपले मात्र नभएर सुन्दर दृश्यवलोकनका लागि पनि उपयुक्त स्थान हो । यो स्थानबाट मनास्लुदेखि गौरीशंकरसम्म हिमाल आँखै अगाडि नियाल्न सकिन्छ ।
सुन्दर दृश्यसहित ऐतिहासिक महत्व बोकेको क्षेत्र भएर पनि यो क्षेत्रले जति चर्चा परिचर्चा पाउनु पर्ने हो त्यति प्रचार हुन सकेको छैन । अहिले विस्तारै आन्तरिक पर्यटकको चहलपहल बढेसँगै यो क्षेत्रको महत्व बढ्दै गएको हो ।

ऐतिहासिक महत्तवका साथै सुन्दरताका हिसावले पनि घुम्न लायकको क्षेत्र हो । तर, यसको जति प्रचार–प्रसार हुनु पर्ने हो त्यति हुन सकेको छैन । रानीकोटबाट बिहान आँखै अगाडि १८० डिग्रीमा हिमाल हेर्न सकिन्छ भने साँझ काठमाडौं उपत्यकामा बलेको झिलीमिलि बत्तिले छुटै आन्नद दिन्छ ।

भिलेज हाइल्याण्ड रिसाेर्ट , रानीकाेट

तर, रानीकोटसम्म पुग्न केही किलोमिटर बाटो पक्की छैन । हाल त्यसलाई पक्की बनाउने काम भइरहेको छ । यदि यो काम छिट्टै सकियो भने फुर्सदमा आन्तरिक पर्यटकका लागि समय बिताउने आनन्दमय स्थान बन्नेछ भन्ने मलाई विश्वास छ । रानिकोट बत्तिमुनिको अँध्यारो जस्तै भएको छ अहिले ।
जति ऐतिहासिक रुपले महत्व बोकेको त्यो अनुसारको संरक्षण भने हुन सकेको छैन । अहिले स्थानीय सरकारले चासो दिएकाले लकडाउनपछि सबैभन्दा नजिकको डेस्टिनेशन बन्नेछ भन्ने विश्वास छ । यसका लागि हामीले पनि प्रचार प्रसारका कामहरु गरिरहेका छौं ।

रानीकाेट बाट देखिएकाे भक्तपुरकाे दृश्य
रानीकाेट जाने बाटाे र काठमाण्डाै उपत्यका
माैसम सफा हुदा देखिएकाे दृश्य


Facebook Comment


No ads found for this position