यसकारण सेनाले हिमाल सफाइको बजेट फिर्ता पठायो ?

काठमाडौं–नेपालका हिमाल फोहोर भएको बहस लामो समयदेखि चल्दै आएको छ । तर, बेला बेलामा हुने सरसफाइ अभियानले पनि पूर्ण रुपमा सार्थकता पाउन सकेका छैनन् । कोरोना महामारीपछि सुरु भएको लकडाउनका कारण अहिले पूरै पर्यटन व्यवसाय नै धराशाही बनेको छ ।
तर, यतिबेला पनि पर्यटन प्रवद्र्धनका लागि गर्नसकिने केही कामहरु छन् ।

सबै पर्यटन मजदुरहरु बेरोजगार बनिरहेकाबेला पर्यटन व्यवसायीले केही नयाँ कामहरु गरे भए पनि मजदुरलाई रोजगारी दिन सरकारसँग आग्रह गरिरहेका छन् ।
लकडाउन अझै लम्बिने र आरोहीहरु आउने वातावरण नभएकाले यतिबेला हिमाली क्षेत्रमा सरसफाइदेखि संरचना निर्माणमा काम गरिनुपर्ने हिमाल आरोहीहरुको माग छ ।

यसअघि पनि हिमाल सफाइका अभियान भने नभएका होइनन् । तर, जति हुनुपर्ने हो त्यति नहुँदा अन्तर्राष्ट्रिय बजारमा नेपालका हिमालबारे प्रभाव नराम्रो पर्दै आएको भन्दै पर्यटन व्यवसायी चिन्तित बनेका छन् ।
आरोहीहरुले फ्याँकेको फोहोर संकलन गरी विसर्जन नगर्दा नेपालका हिमालहरु डम्पिङ साइड बन्दै गएका छन् । गतवर्ष पर्यटन विभागले हिमाल सफाइ र त्यहाँ रहेका शव व्यवस्थापनको काम थालेको थियो । वैशाखमा सुरु भएको अभियानले चारवटा शव र केही फोहोर त संकलन गर्यो तर, सबै फोहोर उठाउन सकेन ।

अकस्मात मौसम प्रभावित बनेपछि सरसफाइको पूरा काम गर्न नसकिएको पर्यटन विभागका महानिर्देशक डुण्डुराज घिमिरे बताउँछन् । हिमाल सफाइकै लागि चालू आर्थिक वर्षमा वातावरण विभाग अन्तर्गत १० करोड रुपैयाँ आएको घिमिरेले जानकारी दिए ।

६ वटा हिमाल सफाइका लागि नेपाली सेनालाई जिम्मेवारी दिइएको थियो । कञ्चनजंघाका लागि भने निजी क्षेत्रलाई दिइने निर्णय भएको महानिर्देशक घिमीरे बताउँछन् । ‘सेनाले टेन्डर आह्वान गरी केही समान खरिद गरे पनि अकस्मात सुरु भएको कारोना महामारीका कारण सेनाले त्यो काम पूरा गर्न सकेन,’ उनले भने, ‘केही समान खरिद गरी बचेको रकम पछि सेनाले विभागमै फिर्ता पठाएको थियो । अब यस वर्ष यो काम हुने सम्भावना देखिएन ।’

यस्तै उनले कञ्चनजंघा हिमाल सफाइका लागि करिब डेढ करोड रुपैयाँ माग गरे पनि आफ्नो विभागमा आगामी आर्थिक वर्षका लागि २५ लाख रुपैयाँ मात्र आएको बताए । ‘अब यति रकमले त काम गर्न पुग्दैन । अहिले पनि हिमाल सफाइका लागि के कसरी अघि बढ्ने भनेर हिमाल आरोही, नेपाली सेना, पर्यटन मन्त्रालय र पर्यटन व्यवसायीसँग छलफल भइरहेको छ । अब आउने अक्टुबर र सेप्टेम्बरमा सफाइको काम अघि बढाउने योजना बनाएका छौं,’ उनले थपे ।

यता पर्यटन बोर्डका कार्यकारी निर्देशक धनञ्जय रेग्मी भने, लकडाउन सुरु भएदेखि नै हिमाल सफाइको कुरा उठाए पनि सम्बन्धित मन्त्रालय र पर्यटन विभागबाट कुनै पहल नभएको बताउँछन् । ‘हामीले पहिल्यैदेखि नै कोरोनापछि बेरोजगार बनेका पर्यटन मजदुरको रोजगारी पनि हुने र हिमाल सफाइ पनि हुने भन्दै योजना अघि सारेका हौं । हामी सानो निकाय भएकाले कसैले वास्ता गरेनन् । त्यसैले यसपटक हिमाल सफाइका लागि आएको बजेट पनि फ्रिज भयो’, उनले भने ।

पर्यटन व्यवसायी र आरोहीअरु पनि हिमाल सफाइ र संरचना निर्माणका लागि सरकासँग अनुरोध गरे पनि ध्यान नदिएको गुनासो गर्दछन् । हिमाली क्षेत्रमा थुप्रिएको फोहोरका कारण विदेशी आरोही असहज महशुस गर्दछन् । तर, न पर्यटन व्यवसायीले नै फोहोर संकलनका लागि वास्ता गरेका छन् न सरकारले नै ।


Facebook Comment


No ads found for this position