धैर्यको बाँध टुट्न नदिनुस् : पर्यटनमन्त्रीलाई व्यवसायीको चिठ्ठी

साउन, काठमाडौं । पर्यटन व्यवसायीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई चिठ्ठी लेखेका छन् । ६ महिनाभन्दा लामो समयदेखि आम्दानीबिहीन बनेका व्यवसायी र काम गुमाएका मजदुरको धैर्यको बाँध नटुटदै व्यवसाय बचाउने गरी उचित कदम चाल्न माग गर्दै पत्र पठाइएको हो ।

पर्यटनमा आवद्ध अनेक विधाका दुई दर्जन संघसंस्थाले संयुक्त रुपमा चिठ्ठी लेख्दै जनस्वास्थ्यलाई ध्यानमा राख्दै व्यवसाय सुरु गर्ने वातावरण निर्माण गर्न व्यवसायीले माग गरेका हुन् ।

सरकारले १ भदौमा पर्यटन र हवाई यात्रा खोल्ने निर्णय लिएको थियो । सोहीअनुसार १५ साउनबाट होेटेल खुल्ने निर्णय भएको थियो । तर, यी सबैमाथिको प्रतिवन्ध थप १५ दिन लम्बिएको छ । व्यवसायीले १६ भदौबाट भने व्यवसाय सञ्चालनको वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सरकारले व्यवसाय सञ्चालनको घोषणा गरेपछि आफ्नोतर्फ सबै तयारी पुरा गरिएको व्यवसायीले बताएका छन् । कर्मचारीलाई तालीम दिनेदेखि सुरक्षात्मक उपायका लागि पूर्वाधार बनाउने काम भएको उनीहरुले बताएका छन् ।

सरकारले तोकेका मापदण्डको अनिवार्य पालना गर्दै सेवा सुरु गनृ व्यवसायी तयार रहेको अवस्थामा सरकारले सोही प्रकारको वातावरण बनाउनुपर्ने उनीहरुको भनाइ छ ।

लामो समय आम्दानीबिहीन र कामबिहीन हुँदा त्यसले व्यवसायमा पर्ने असर र व्यक्तिको दैनिकीमा पर्ने प्रभावबारे गम्भीर हुन आग्रह गर्दै व्यवसायीले व्यवसायी, कर्मचारी र मजदुरको धैर्यको बाँध टुट्ने अवस्था नआउँदै विकल्पबारे सोच्न सरकारलाई आग्रह गरेका छन् । त्यसबेला आन्दोलनमा जानुबाहेक अन्य विकल्प नरहने भन्दै उनीहरुले मन्त्री भट्टराईको ध्यानाकर्षण गराएका छन् ।

चार्टर्ड र रिप्याटि्रयसन उडानका नाममा दैनिक ७ देखि १० वटा सम्म भइरहेको उडानले मुलुकको अर्थतन्त्रमा खासै योगदान नगर्ने भन्दै उक्त उडान बराबरकै भएपनि व्यवसायिक उडानमा जाँदा अर्थतन्त्र चलायमान हुने व्यवसायीको तर्क छ ।

सोहीकारण कोभिड-१९सँगै अगाडी बढ्ने परिस्थितिमा कोभिड-१९ अनुकुलताका कार्ययोजना बनाई निरोधात्मक तथा प्रतिरोधात्मक व्यवस्थासहित भदौ १६ बाट हवाई सेवा, पर्यटकीय यातायात तथा पर्यटनसँग सम्बिधत सेवा तथा गतिविधि सञ्चालनको वातावरण बनाउनु पर्ने माग व्यवसायीले गरेका छन् । विश्वभर एयरलाइन्स र पर्यटकीय गतिविधि सुरक्षात्मक उपाय अपनाएर सुरु भएको समेत उनीहरुले ध्यानाकर्षण गराएका छन् ।

व्यवसायीले विमानस्थलमा कोभिड-१९ को परीक्षण सम्बन्धी कक्ष स्थापना गरी मापदण्ड पुरा गरी पर्यटक आउने वातावरण बनाउन व्यवयायीले आग्रह गरेका छन् । टान, नाट्टा, हान, एनएमएसहित पर्यटनका मूख्य संघसंस्थाले यस्तो माग गरेका हुन् ।साभार अनलाइनखबर


Facebook Comment


No ads found for this position