२१ वटा पर्यटन संगठनले भने : आन्दोलनमा जान्छौं

काठमाडौँ — चार्टर उडान अनुमति दिइरहेको तर नियमित उडान सञ्चालनको समय पटकपटक सार्दै आइरहेको भन्दै सरकारलाई पर्यटन क्षेत्रसँग आवद्ध २१ वटा व्यवसायिक तथा श्रमिक संगठनले भदौं १६ गतेदेखि उडान सञ्चालन गर्दै पर्यटन क्षेत्र खुलाउन माग गरेका छन् । ती संगठनहरुले शुक्रबार संयुक्त विज्ञप्ति निकाल्दै भदौ १६ देखि पर्यटन क्षेत्र खुला नगरेमा आन्दोलनको चेतावनी दिएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमार्फत सरकारलाई आन्दोलनको चेतावनी दिने संगठनहरुमा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स, ट्रेकिङ एजेन्सिज एसेसिएसन अफ नेपाल, होटल एसोसिएसन नेपाल, नेपाल पर्वतरोहण संघ, रेष्टुरेन्ट एण्ड बार एसोसिएसन अफ नेपाल, नेपाल पर्यटक यातायात व्यवसायी संघलगायत छन् । यी संगठन भन्दाअघि मंगलबार आन्तरिक वायुसेवा कम्पनीहरुको छाता संगठन वायुसेवा सञ्चालक संघ नेपालले पर्यटनमन्त्री योगेश भट्टराईलाई छुट्टै ज्ञापन बुझाउँदै भदौ १६ पछि आन्तरिक हवाइ उद्योगलाई सञ्चालनमा नल्याएमा आन्दोलनको चेतावनी दिइसकेको छ ।

यी संगठनहरुले विश्व स्वास्थ्य संगठन तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको बनाएको मापदण्ड अनुसार पर्यटन क्षेत्र सञ्चालन गर्न आफूहरु तयार रहेको बताएका छन् । ‘आन्तरिक वायुसेवा प्रयोग गर्दैमा संक्रमण फैलिँदैन र यदि सरकारबाट संक्रमण परीक्षण गर्न चाहेको खण्डमा एउटै ठाउँमा सम्भव हुन सक्दछ । टिकेटिङ सिस्टमबाट यात्रुहरुको कन्ट्याक्ट ट्रेसिङ क्षणभरमै गराउन सकिन्छ,’ वायुसेवा सञ्चालकहरुले भनेका छन् । निजी वायुसेवा सञ्चालकहरुले आर्थिक रुपमा पनि खर्बौं लगानी भएको उद्योग धराशायी अवस्थामा पुगिरहेको जनाउँदै ‘हवाई उडान लामो समय बन्द भएका कारणले यस उद्योगमा प्रत्यक्ष परोक्ष आश्रित दशौं हजार श्रमिकको आयश्रोत तथा तीनमा आश्रित परिवारको रोजीरोटी नै बन्द हुनुका साथै हवाई उद्योग नै धराशायी बन्दै गइरहेको’ विज्ञप्तिमा उल्लेख छ ।

वायुसेवाबाहेकका अन्य तर यसैमा आश्रित संगठनहरुले यो क्षेत्र ऋणात्मक भएको जनाउँदै अब आउने पर्यटकीय सिजनमा राज्यले अबलम्बन गरेका स्वास्थ्य तथा सुरक्षा प्रोटोकलको पूर्ण पालना गराउँदै सेवा बिस्तार गर्नुपर्ने माग गरेका छन् । व्यवसायीहरुले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यात्रुहरुका लागि छुट्टै पीसीआर परीक्षण डेस्क स्थापना गरिनुपर्ने माग राख्दै कोरोना अनुकुलताका कार्यक्रम बनाउन सरकारसँग माग गरेका छन् ।


Facebook Comment


No ads found for this position