महिलाबाटै हेपिन्छन् महिला
जयन्ती ज्ञवाली
नारी र पुरुष बराबर भन्दै तीजमा पुरुष साथीहरुले आफ्नो बराबर सहभागीता गर्दै बजारमा धेरै गीतहरु निकाल्नु भएको छ । सरकारले गाडीमा महिला सिटदेखि कार्यालयसम्म महिलाको लागि विशेष अवसरहरु प्रदान गर्दै आएको छ ।
नेपाली समाजमा पहिलाको तुलनामा छोराछोरीको भेदभाव पनि निकै कम भएको छ । धेरै महिला साथीहरु सबै क्षेत्रमा अग्रशील हुनुहुन्छ । यति धेरै जनचेतना र परिवर्तनमा पनि किन महिला हिंसा बढिरहेको छ ?
अझै पनि दाईजो, बलात्कार, हत्या, परिवारबाट बुहारी मारिनु परेको खबरहरु हामी सुनिरहन्छौं । यी त भए सँधै हामीले समाचारमा सुनेका घटनाहरु । तर यहाँ कति धेरै नदेखिएका सामाजिक भिन्नता भनौं अथवा मनन नगरिएका भिन्नताहरु यथावत नै छन् र एउटा सानो कथामा आधारित यो भिन्नता । कसैको जीवनसँग मेलखान गएमा यो संयोग मात्र हुनेछ ।
मीना साह्रै असल अनि अनुशासित छोरी थिइन् । उनको लक्ष्य पनि एउटा राम्रो आर्किटेक्ट इन्जिनियर बन्नु थियो । उनको मिहेनत र परिश्रमले उनले पुल्चोक इन्जिनियरिङ कलेजमा नाम पनि निकालिन् । समय बित्दै गयो मीना इन्जिनियर पनि बनिन्, अनि त्यही क्षेत्रमा काम पनि गर्न थालिन् ।
मीना सामाजिक क्षेत्रमा पनि अग्रसर थिइन् । सँधै नारी स्वतन्त्रता हुनुपर्छ भन्ने कुरा गर्थिन् । तर, मीनाको आमा को मनमा धेरै पिर थियो र मीनाको बिहे, उनको यो स्वतन्त्रता र आफ्नो करिअर प्रतिको लगावलाई उनको बिहेपछि पूर्णबिराम लाग्छ कि भन्ने डरले सताइरहन्थ्यो ।
आमालाई बेला बेला सम्झाउथिन् पनि मीना, ˝मम जस्ट चिल˝आजकलको जमानामा हजुरहरु एकदम धेरै सोच्नु हुन्छ । मेरो करिअर र इच्छाहरु यथावत नै हुन्छन् बिहेपछि पनि । उनको यस्ता कुरा सुनेर आमा भन्नुहुन्थ्यो, ‘तिमिले भनेको जस्तो भए त राम्रो हुन्थ्यो । बिहे भएपछि सबैभन्दा पहिले तिमी बुहारी हुन्छौ अनि मात्र तिमि इन्जिनियर ।’
यि सबै कुरालाई मीना सधै बेवास्ता गर्थिन् ।
दिन बित्दै गयो, राम्रो परिवार भेटेर मीनाको बिहे पनि भयो । बिहेपछि मीनाको दिनहरु उनले भनेको जस्तै ‘व्गकत ऋजष्िि’ भन्दा फरक ढंगले बढ्दै गयो । फरक ढंगको जीवन तर उनी घरेलु हिंसामा परेकी थिइन्। बरु घरेलुहिंसा बाहिर प्रस्ट देखिने र विरोधमा आवाज उठाउनसकिने कुराहरु हुन् तर भित्रभित्रै यति धेरै कुराहरु हुन्छन् जुन हरेक नारीले दिनदिनै भोग्नुपर्छ र त्यस्ता क्रियाकलाविरुद्ध आवाज पनि उठाउन सक्दैनन् ।
मीनाको माइतीको बाबाले सँधै आमालाई काममा सघाउनुहुन्थ्यो, त्यस्तै मीनाको श्रीमानले पनि मीनालाई हरेक कुरामा सहयोग गर्नुहुन्थ्यो । पति सुख उनलाई राम्रो थियो । श्रीमानले उनका हरेक काममा सहयोग गर्ने गरेकै थिए, तर बिडम्बना श्रीमानबाहेक मीनाकी सासू, नन्द, जेठानी भने आफ्नो छोरो, दाईलाई दुःख छ भनेर बारम्बार सुनाइरहन थाले ।
घरभित्र सिमित हुनुपर्ने अझ यस्ता कुरा त अहिलेको दुनियाँमा उठाउनै नहुने कुरा बिस्तारै बाहिर समाजमा पनि फिजिन थाल्यो, बिस्तारै यही मीनालाई मीनाको श्रीमानले दैनिक कार्यमा सघाउँछन् भन्ने कुरा श्रीमानको साथी भाइको कानसम्म पुग्न थाल्यो ।
उनको श्रीमानको साथीभाईसँग को जमघटमा मीनाका कारण उसलाई समस्या भएका कुरा हुन थाले, साथीहरुले तँ बुढीसँग डराउँछस्, धेरै पढेको बिहे गरिस, हेप्छे तँलाई, त्यही भएर नै अहिलेबाटै श्रीमतिले गर्ने काम पनि तैले नै गर्न थालिस् । यस्तै दिन बित्दै जादाँ मीना सबैको आखाँमा बिझाउने काडाँझैं बन्न थालिन ।
साथी भाई तथा आफन्तको जमघटमा मीना एक्लो पर्न थालिन, अनि अन्य महिलाहरुले मीनालाई त्यस्ता जमघटमा घोचेपेच गर्न थाले । जस्तै ‘तिमिलाई त आनन्द छ, बुढोले सबै गरिदिन्छ । के के न पढेको जस्तो गर्ने रहेछौँ, दुनियाँ मा यस्तै ईन्जिनियर तिमि मात्र हो र ? बुढालाई नै आफ्नो अधिनमा राख्ने, तिम्रो यस्तै बानी र व्यवहारले गर्दा आजकाल तिम्रो बुढाले आफ्नो साथी भाईलाई समय पनि दिन पाउनु हुदैन । कस्तो कन्ट्रोल गरेर राखेको के तिमिले ?’
यस्ता, कुराहरुले मीनालाई हरेक दिनभित्र भित्र पोल्थ्यो, तनावको ज्वारभाटा चल्थ्यो मनमा । यस्ता, अर्काको खुट्टा तान्ने प्रवृतिले मीनालाई हरेक दिन मानसिक तनाव बढदै गईरहेको थियो ।
अझ मीनाको बुढालाई जसले घरायसी काममा श्रीमतिलाई सहयोग गरेका थिए उनलाई यसै बहानामा बुढिसँग पनि डराउने र अनि जोईटिंग्रे को संज्ञा दिनथाल्यो ।
अहिले आएर मीना उनकी आमाले भनेको कुरा सोच्दै थिन्, ‘बिहे गरेकी छोरी पहिले बुहारी हो अनि मात्र ईन्जिनियर ।’
किनकी पछिल्लो पटक भइरहेका घटनाक्रमले उनलाई आफु ईन्जिनियर हुँ भन्ने पनि भुल्न थालिसकेकी थिइन् । यस्तै क्रम चल्दै जाँदा, घर मा सासू आमा, नन्दहरुको व्यवहार खप्न नसकिरहेको बेला, तिजको बेला ठ्याक्कै मीनाको आमाको फोन आयो, आमाले फोनमै भन्नु भयो, ‘छोरी तिज आयो सम्धिनिलाई सौभाग्यको सामान पठाउनु पर्ने, बिहेपछिको तिम्रो पहिलो तिज हामी छोरिको घरबाट दर दिनुपर्छ, सुनको भाउ पनि उकालो लागेर किनिनसक्नु छ, के बनाउने होला ? के पठाउने होला ?’
आमाका यस्ता कुरा सुनेर मीना टोलाईन अनि सम्झनथालिन सासू आमाको व्यवहार । जसरी मेरी आमा छोरीको आमा हुन् त्यसरी मेरि सासू आमा पनि एउटा छोराको आमा हुन्, के छोराकी आमालो मेरि आमालाई सौभाग्यको सामान पठाउन हुदैन र ? के सासू आमाले पनि मेरि आमाको बारेमा आफ्नो छोरासँग के पठाउने भनेर सल्लाह गरेकिहोलिन र ?
हामी भगवानको पूजा आजा गर्छौ, चाड पर्व मनाउछौं, यस्तै सौभाग्यका सामान चढाउछौँ, एक अर्कालाई बाढ्छौँ, तर के एउटा सौभाग्यको सामान यो पटक मेरि आमालाई दिइए के हुन्छ र ? सुन त खोक्रो आडम्बर हो मान्छेले बनाएको चलन दर पठाउनुपर्छ भन्ने, तर मिठो वचन, शुभकामना, सदभाव के यि कुराहरु पनि बिहे गरेर घर छाडेर आएकी छोरिकी आमाले पाउदिनन्?
मीनाले यसैमेसोमा सम्झीन, उनले बिहे गरेर आएदेखि आजको दिनसम्म उनकी सासूआमाले आफ्नी आमालाई फोनसम्म गरेकी छैनन्।
तर, सधै उनकी सासु आमाले सम्धीनिले आजकल माया मार्नुभयो भन्ने सुन्थिन् तर ल्याण्डलाईन र हातमा मोबाईल भएकी सासुआमाले कहिल्यै उता आमालाई फोन गरेको थाहा छैन ।
उनलाई लाग्थ्यो, किनकी मेरी आमा छोरिकी आमा हुन् छोरी अर्थात बुहारीकी आमालाई सासुआमाले फोन गर्नु पाप हो । यस्ता कुरै सोच्दै गर्दा, फोनमा आमाले भन्नुभयो, ‘ए मीना सिकन नबोलेके ?’
मीनासँग भन्नको लागि शब्द थिएनन्, तर मन भरी पिडा उम्लिरहेको थियो, आमालाई दुःख सुनाउन नसकेर उनले आफु व्यस्त भएको बरु पछि कल गर्छु भनेर फोन राखिन् ।
यस्तै दिन बित्दै जाँदा तिज पनि आयो, मीनाको घरबाट दर पनि आयो, महंगो भए पनि दर र समाजको चलनले मीनाकी आमाले सासुआमालाई तिलहरी बनाएर पठाइदिनुभएछ । मीनाको पढाईको खर्च धान्न अझ भन्नुपर्दा पढाइको महत्व अनि छोरीको भविष्यको लागि आफूले कहिल्यै पनि सुनको रहर गरिनन् ।
अझै त्यसैमाथि पढेकी छोरिको बिहेगर्दाको अर्को आर्थिक भार । अझ ८ हजार रुपैयाँ प्रति तोला सुन हुँदा आफूलाई तिलहरि नबनाएकी आमाले आज समाजकै डरका कारण सम्धिनीलाई प्रति तोला १ लाख हुँदा तिलहरि बनाएर पठाइछन् ।
यसरी सुन लगाउने रहर मेरी आमालाई पनि नभएको कहाँ होर ? यस्तै कुरा हरु मनमा खेलाउदै तनावमा बसेकी मीनाले विदेशमा बस्ने नन्दलाई फोन गरेर शुभकामना दिन बिर्सिछन्, यहि कुरालाई लगेर फेरि विवाद सुरु भयो, नन्दले आमासँग फोनमै रुदैँ, भाउजुले फोनसम्म गर्नु भएन, मलाई भाउजुले बिर्सनु भयो भनेर ठूलै रडाको मच्चियो ।
मीनाको सासू ससुराहरु सबै मीनामाथि शब्दका वाण छाड्न लागे, तर तिनै विदेशिएकी छोरीलाई भाउजुलाई तिमी आफैले पनि फोन गरेर शुभकामना दिँदा नि हुन्छ छोरी भनेर भन्न सकेन्न् । आजसम्म यस्ता व्यवहारमा नपरेकी बुहारिलाई सासू ससुराले सम्झाई दिए पनि त हुन्थ्यो होला तर विडम्बना सिकाउने र सम्झाउने भन्ने कुरा मीनाको जीवनमा बिहेपछि कहिल्यै कसैले गरेनन् ।
यस्तै हरेक दिनको मानसिक पिडाका घटनाहरु फिल्मको रिल जस्तै दिमागमा घुमाई रहेकी मीना लाई मैले भेटेपछि कलम नचलाई बस्नै सकिन । हाम्रो समाजमा आज पनि नारी–नारीसँगै सुरक्षित छैन, महिलाको शत्रु महिला नै हुन्छ भनेजस्तै हुँदै आएको छ ।
समाज परिवार आफन्त अनि साथीहरुबाट पीडित छन् । जानेर होस या त नजानेरै होस खुट्टा तान्ने, हेप्ने, मनमै चोट लाग्ने गरेर बोल्ने प्रवृतिले मीनाको जस्तै पिडा अधिकांशको घरमा आज पनि हरेक दिन चलिरहन्छ ।
तिज नेपाली महिलाहरुको महान पर्व हो, विश्व कोरोना कहर बाट गुम्सिरहेको छ । एक ले अर्का लाई साथ दिने बेला घर भित्रैकि बुहारीलाई हेप्ने प्रवृति त्यगौ । तिजको दर छोरिको घरबाट मात्रै लग्नु पर्दैन, भाउजुले नै नन्द लाई फोन गर्नुै पर्दैन, नन्दले गरेपनि हुन्छ, सदभाव र शुभकामना जस्ले जस्लाई दिदाँ पनि हुन्छ ।